काभ्रे । आन्तरिक बेमेलका कारण काभ्रेमा दुई जना मिटरब्याजी प्रहरीको फन्दामा परेका छन् ।
पाँचखाल नगरपालिका वडा नं. १३ घर भइ बनेपा नगरपालिका वडा नं. १० बस्ने शान्ति तामाङ र रोशी गाउँपालिका वडा नं. ९ घर भई बनेपा नगरपालिका वडा नं. ७ बस्ने साइली तामाङ प्रहरीको फन्दामा परेका हुन् । उनीहरु दुवैजना मिटरब्याजी रहेको खुलेको छ ।
प्रारम्भिक अनुसन्धानबाट साइली तामाङले पैसा उठाएर शान्तिलाई बुझाउने र शान्तिले आफूखुसी रकम विभिन्न ठाउँमा मिटरब्याजमा लगाउने गरेको खुलेको छ । पछिल्लो केही समययता उनीहरुबीच आन्तरिक रुपमा विवाद थियो, जुन विवादले उनीहरु दुवैजना प्रहरीको हिरासतमा पुगेका छन् ।
प्राप्त सुचनाअनुसार साइलीले शान्तिलाई केही वर्षका बीचमा करिब ६ करोड भन्दा बढी रकम बुझाएका छन् । जुन फिर्ता हुन बाँकी छ । शान्तिबाट ६ करोड फिर्ता लिने क्रममा साइलीसँग भएको विवादले उग्र रुप लिँदा उनीहरु दुवैजना प्रहरीको फन्दामा परेका हुन् ।
उज्यालो नेटवर्कको सम्पर्कमा आएका साइली तामाङका अनुसार उनले केही महिना अगाडि विभिन्न प्रलोभनमा परेर उनका ५० जना आफान्तहरुसँग करिब ६ करोड रुपैयाँ उठाएर शान्ति तामाङलाई बुझाएकी थिइन् ।
आफुले ठुलो टेन्डर हात पारेको त्यहाँ पैसा हाले दोब्बर तेब्बर फाइदा हुने भन्दै शान्तिले प्रलोभन दिएपछि साइलीले आफ्नो आफन्ताहरुसंग २०७८ चैत्र महिनासम्ममा हारगुहार गरि ६,१९,८५०००/– रुपैया रकम शान्तिलाई बुझाइन् ।
करिब चार वर्षदेखि चिनजान रहेका शान्तिले विगतमा २ लाख ८० हजार, ५ लाख गर्दै २०/२५ लाख सम्म सापटी लिएर समयमै तिर्दै गरेकाले शान्ति प्रति साइलीको विश्वास थियो ।
पछि ठुलो टेन्डरमा ठुलो रकमको आवश्यक परेको छ भनि साइलीसंग ठुलो रकम लिएर १ करोड ५७ लाख ३५ हजार रुपैयाँ फिर्ता गरेको र बाँकी रकम पनि फिर्ता माग्दा उनी सम्पर्क विहिन बन्दै गएको साइलीको आरोप छ ।
तर, यस बीचमा शान्ति र साइली मिलेर मिटरब्याजको धन्दा चलाएको तथ्य खुलेको छ ।
साइलीसँग मिलेर शान्तिले ठगिन्, आफ्नै परिवार
यसैबीच शान्तिले साइलीसँग मिलेर आफ्नै परिवारमा ठगी गरेको पाइएको छ । शान्तिले आफ्नो श्रीमानको सम्पति नै चलाखीपूर्ण ढंगले बिक्री गरेको पाइएको हो ।
सासुआमाको नाममा रहेको पुर्खौली सम्पति शान्तिले ३ महिना धितोमा राख्ने भन्दै साइली तामाङको नाममा पास गरिदिएको पाइएको हो । तर, साइली तामाङले उक्त जग्गा उक्त जग्गा अर्कैलाई पास गरिदिइसकेको पाइएको छ ।
साइली तामाङले त्यो जग्गा बिक्री गरेर पैसा आफैँ प्रयोग गरिन् वा शान्तिलाई बाडिन् त्यो भने खुल्न बाँकी छ । आफू्हरुलाई थाहै नदिई जग्गा बिक्री गरेको भन्दै अहिले शान्तिको पूर्व श्रीमानले अदालतमा मुद्दा समेत हालेका छन् ।


एकाएक डिभोर्सदेखि अपहरणको नाटकसम्म !
रोचक कुरा त के छ भने साइली र शान्तिबीचको विवाद बढ्दै गएपछि शान्तिको एकाएक डिभोर्सदेखि अपहरणको नाटकसम्म भएको पाइएको छ ।
आफ्नो पैसा फिर्तीका लागि साइली तामाङले तारन्तार फोन र दबाब दिएपछि शान्तिको परिवारमा बिग्रह भएको थियो । यही बिग्रहका बीचमा शान्तिको डिभोर्स समेत भएको छ । ‘मलाई मेरो श्रीमती र शान्तिको कारोबारबारे केही पनि थाहा थिएन, जुन दिन थाहा पाए, त्यसपछि मैले सोधीखोजी गरे, मलाई वास्तविकता बताएनन्, अनि मैले १ महिनाभित्र यो केस मिलाउनु भने, १ महिनासम्म पनि नमिलेपछि कि मलाई डिभोर्स देऊ, कि यो केस मिलाउ भने, उनले तुरुन्तै डिभोर्स दिइन्, हाम्रो डिभोर्स भयो’ शान्तिका श्रीमानले उज्यालो नेटवर्कसँग भने ।
साइलीका आफन्तहरुले भने पैसा पचाउनका लागि नक्कली डिभोर्स गरेको आरोप लगाइरहेका छन् । तर, उनका श्रीमानले भने डिभोर्स नक्कली नभएको प्रष्ट पारेका छन् ।
त्यसैगरी शान्तिले आफू अपहरणमा परेको भन्दै नाटक गरेको भिडियो उज्यालो नेटवर्क डटकमलाई प्राप्त भएको छ । जसमा शान्तिले भनिकी छिन्, ‘दिदी मलाई यिनीहरूले अपहरण गरेर राखेको छ, मलाई बचाउनुस्, ६० लाख मात्रै भए पनि चाहिन्छ भनेको छ, प्लिज दिदी मलाई सहयोग गर्नुस् ।’
जवाफमा साइलीले सोधेकी छन्, ‘तिमीलाई कसले अपहरण गर्छ र ? को संग कारोबार थियो र ? तिम्रो कारणले म विष खाएर मर्नु पर्ने स्थितिमा पुगेको छ । मेरो आफन्ताहरुले मलाई मार्न लागिसक्यो, तुरुन्त मेरो पैसा चाहियो ।’
पछि साइली पक्षले शान्ति पक्राउ परेको खबर प्रहरीमा जानकारी गराएपछि खोजतलास गर्ने क्रममा शान्ति अपहरणमा परेको नभइ ठगीबाट बच्न झुक्याउन गरेको प्रोपोगन्डा रहेको खुलासा भएको थियो ।
अनि पक्राउ परिन्, साइली
आन्तरिक बेमेलकै कारण सुरुमा शान्ति तामाङ प्रहरीको नियन्त्रणमा परेकी थिइन् । बयानका क्रममा शान्तिले साइलीसँगको कारोबारबारे बताएपछि साइली तामाङ पनि पक्राउ परेकी छन् ।
साइलीसँगको कारोबार र मिटरब्याजको धन्दाबारे शान्तिले प्रहरीमा दिएको बयानका आधारमा साइलीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
तर, साइलीका आफन्तले भने शान्तिबाट आफूहरु पीडित हुँदाुहँदै थप पीडामा पार्न र घट्ना सामसुम गर्न प्रहरीले गैरकानुनी ढंगले नियन्त्रणमा राखेको आरोप लगाएका छन् ।
गैर कानुनी ढंगले थुनामा राखि प्राकृतिक न्यायको सिद्धान्तको गम्भीर उल्लंघन समेत भएको भन्दै नेपालको संविधान मुलुकी देवानी संहिता २०७४ को दफा २६(४) बमोजिम बन्दप्रत्यक्षीकरणको आदेश जारी गरि पाउ भनि पाटन उच्च अदालमा पीडित साइली तामाङको श्रीमान पंच बहादुर तामाङले निवेदन समेत हालेका छन् ।
काभ्रेका एसपी जाशीको भूमिका शंकास्पद
निरन्तर विवादमा तानिरहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले भने यस विषयमा शंकास्पद भूमिका खेलेको पाइएको छ ।
निर्वाचनका बेला विवादित काम गरेका उनले यो विषयमा पनि शंकास्पद भूमिका निभाएको पाइएको हो ।
जोशीले अहिले नियन्त्रणमा रहँदारहँदै दुवैबीच मिलापत्र गराउन खोजेको समेत बुझिएको छ । शान्तिको अगाडि साइलीलाई आत्मसमर्पण गराउन खोजेको एसपी जोशीमाथि आरोप छ ।
एसपी जोसीले भने साइली तामाङ पनि मिटरव्याजीको शंका लागेकाले उनलाई पक्राउ गरेको बताए । उनले भने ‘शान्ति तामाङले त आफु मिटरव्याजी हुँ भनेर स्वीकार गरेकी छन्, तर साइली तामाङले स्वीकार गरेका छैनन्, साइलीसँग शान्तिले गरेको ६ करोडको कागज र एक करोड बराबरको चेक छ तर हामीले यो प्रमाणको आधारमा पैसा दिनु भन्न सकिन्न किनभने यो मिटरब्याजी कारोबारी हुन् ।’
एसपी जोसीले साइली तामाङले पैसाको स्रोत देखाएन भनेर भन्दै गर्दा चौकीको गेट भन्दा बाहिर करिब ३० जना साइली तामाङका आफन्ताहरु पैसा माग्न धर्ना बसिरहेका थिए ।
प्राप्त सुचनाअनुसार एसपी जोशीले अहिले नियन्त्रणमा रहेको बेला दुवै मिटरब्याजीलाई मिलापत्र गर्ने वातावरण बनाउन लागेका छन् । ‘साइलीको दावी जति हो, त्यति नै शान्तिले दिनुपर्नेजस्तो देखिएको छैन, एसपी साप अहिले शान्तिलाई कमभन्दा कम पैसा साइलीलाई दिन लगाएर यो केस मिलापत्र गराउने पक्षमा हुनुहुन्छ ।’ प्रहरी कार्यालयका एकले भने ।
मिटरब्याजीलाई कानुनी कारबाहीको दायरामा उभ्याउनुको साटो मिलापत्र गराउने र शान्तिको पक्षमा लागेर घट्नालाई सामसुम पार्ने काममा एसपी आफँै लागि परेको उनीमाथि आरोप छ ।






