कृषिमा यान्त्रीकरणले गोरु र राँगा पाल्नुपर्ने बाध्यता हट्दै

उज्यालो प्रतिनिधि ४ भाद्र २०७९, शनिबार समाचार

सुदूरपश्चिम। ट्र्याक्टर, थ्रेसर मेसिनसहितका कृषियन्त्रको प्रयोगले किसान गुलाब रानालाई खेती गर्न पहिलेको भन्दा निकै सहज भएको छ ।

विगतमा हलगोरु पालेर खेतीको काम गर्दै आउनुभएका उनले पछिल्ला वर्षमा ट्र्याक्टर, थ्रेसर, रोटाभेटरजस्ता कृषियन्त्रको प्रयोग गरेर खेती गरिरहनुभएको छ । कृषियन्त्रको प्रयोगपछि खेती गर्न पहिलेभन्दा सहज भएको र आम्दानी पनि भइरहेको अनुभव उनले सुनाए।

“गोरुले खेत खनजोत गर्दा लागत खर्च र परिश्रम बढी लाग्थ्यो”, उनले भने, “कृषियन्त्रले खेती गर्न निकै सहज भएको मात्र नभई छरछिमेकमा बेला बखत काम पाउँदा आम्दानी पनि भइरहेको छ ।” धनगढी उपमहानगरपालिका–१३ निवासी कृषक राना गाउँका अन्य किसानसँग खेती गर्दा प्रयोगमा आएका आधुनिक कृषियन्त्रको फाइदाका बारेमा छलफल गर्दै हुनुहुन्थ्यो ।

ललितसिंह राना गोरु जोतेर खेती गर्दा आफूले बाल्यकालमा गर्नुपरेको कठिन परिश्रमका दिन स्मरण गराउँदै हुनुहुन्थ्यो । उनले भने, “उतिबेला राँगा वा गोरु जोतेर कडा मेहनत गरेर खेती गर्नुपर्दा दुःख झेलेका थियौँ, अहिले सबै चिजको सुविधा पुग्दा किसान भाग्यमानी छन् ।” समय परिवर्तनसँगै पहिलेको भन्दा कृषिकर्म गर्न सहज भइरहे पनि मौसममा देखिने परिवर्तनले निम्त्याउने समस्याबाट भने विभिन्न बाली प्रभावित हुने गरेको उनीहरूको भनाइ छ । लालितसिंहले भने, “हालको जस्तो मौसमी समस्या भने उहिले थिएन, उतिबेलाको समयमा हिउँदे याममा अहिलेको जस्तो शीतलहर र गर्मीयाममा डुबान र खडेरी देखिने समस्या थिएन ।” उनले घरमा रहेको राँगा र गोरु बेचेर खेत खनजोतमा प्रयोग हुने पावर टिलरसहितको कृषियन्त्र जोड्नुभएको छ ।

कृषिमा यान्त्रीकरणको बढ्दो प्रयोगसँगै तराई क्षेत्रका किसानले खेती गर्दा गोरु र राँगा पाल्नुपर्ने बाध्यता बिस्तारै हट्न थालेको छ । पहिले कृषियन्त्रको सहज उपलब्धता नहुँदा किसानले खेतीको काम गर्न घरमा गोरु र राँगा पाल्नुपर्ने बाध्यता थियो । आर्थिक अवस्था कमजोर भएका कतिपय साना किसानले भने अहिले पनि गोरु र राँगा पाल्ने गरेका छन् ।

कृषियन्त्रको प्रयोगले खेती गर्दा लाग्ने लागत खर्च घटेको, समयको बचत हुने गरेको र कृषितर्फ युवाको आकर्षण पनि बढाउन मद्दत पु¥याएको कृषि प्राविधिकले बताएका छन् । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रपसाद शर्मा कृषिमा यान्त्रीकरण दर बर्सेनि बढ्दै गएको बताए । पहाडका जिल्लाको तुलनामा तराईका जिल्लामा कृषियन्त्रको प्रयोग दर बढेको जनाइएको छ ।

उनले भने, “जिल्लामा वर्षभरिमा विभिन्न कृषिसम्बन्धी कार्यक्रमका नामबाट वार्षिक झण्डै एक हजार थान सानाठूला कृषियन्त्र अनुदानमा कृषक र कृषक समूहलाई उपलब्ध भइरहेको अनुमान छ ।” कृषि कार्यक्रमअन्तर्गत सञ्चालित ‘कष्टम हाइरिङ सेन्टर’ मार्फत कृषकलाई सहुलियत भाडादरमा कृषियन्त्र उपलब्ध गराएर कृषिसम्बन्धी काम हुने गरेको पनि छ । सरकारका विभिन्न कृषि कार्यक्रमअन्तर्गत कृषकलाई सामान्यतया ५० प्रतिशत अनुदानमा कृषियन्त्र उपकरण उपलब्ध गराउने गरिएको छ ।

कृषियन्त्रको प्रयोग बढ्दा काम गर्न सहज भए पनि चाहिएको बेला रासायनिक मल नपाउने समस्याले भने हैरानी खेप्नुपरेको किसानको भनाइ छ । खेत खनजोत गर्नेदेखि लिएर बाली काट्ने भित्र्याउने काममा प्रयोग हुने ट्र्याक्टर, रोटाभेटर, मिनी टिलर, पावर टिलर, धान काट्ने रिपर, गहुँ दाउने थ्रेसर, काटेको बाली सुकाउने ड्रायरलगायतका कृषियन्त्रको प्रयोग पछिल्ला वर्षमा बढेको छ ।

‘हलो जोत्ने हली, ट्र्याक्टर चलाउने ड्राइभर’ भन्ने भनाइ समाजमा छ । समाजमा हलो जोत्ने भन्दा चालकको बढी मानसम्मान गरिने हुँदा कृषियन्त्र चालाउनमा युवाको आकर्षण पनि बढेको जनाइएको छ । नेपालमा अधिकांश नागरिकले अपनाएको कृषि पेसाअन्तर्गत कृषिउपजको उत्पादन गरेर हुने आम्दानीबाट जीविका चलाउने गरेका छन् । कृषकले आफूलाई वर्षभरि आवश्यक पर्ने कृषिउपज घरमै भण्डारण गरी बढी भएको कृषिउपज व्यापारीलाई बिक्री गरेर घर खर्चको आवश्यकता पूरा गर्दै आएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले कृषि र पशुपन्छी क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण र बजारीकरणलाई मुख्य प्राथमिकता दिँदै आएको छ ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार