किमाथाङ्का । सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा पहिराले लघु जलविद्युत् आयोजनाको कुलो बगाउँदा गाउँ नै अन्धकार भएको छ । सिलिचोङ–१ को सिसुवाखोला, वडा नं २ को बाला र ३ को ताम्कुका आठ सय ६८ घरधुरीमा विद्युत् आपूर्ति ठप्प भएको छ ।
निरन्तर परेको अविरल वर्षाका कारण सिसुवाखोलामा आएको बाढीले विद्युत् गृहसम्म लैजाने कुलोको मुहानमा करिब ३० मिटर बगाएको विद्युत् उपभोक्ता समितिका अध्यक्ष खेमराज मेवाहाङले जानकारी दिए। पहिराले ६० किलोवाट क्षमताको सिसुवाखोला लघु जलविद्युत्को प्रसारण ठप्प भएको उनले बताए । विद्युत् अपूर्ति ठप्प भएपछि त्यस क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको छ । विद्युत् ठप्प भएपछि राइस मिल बन्द भएका छन् ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।