भक्ततपुर–धुलिखेल सडक विस्तारको प्रक्रिया थालियो

उज्यालो प्रतिनिधि १८ श्रावण २०७९, बुधबार समाचार

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार गर्न प्रक्रिया थालिएको छ । यसका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर)थालेको छ ।

आयोजनाले डिपीआरसँगै सडकको डिजाइनसमेत गरिरहेको जनाएको छ । उसले डिपीआर र सडकको डिजाइनको काम सम्पन्न भएलगत्तै बोलपत्रको तयारी गर्ने भएको हो । आयोजनाले सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि यही साउन पहिलो साता राजमार्ग छेउछाउमा सडक मापदण्डभित्रका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरिसकेको छ ।

सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि ‘कन्सल्ट्यान्ट हायर’ गरी डिपिआर थालिएको आयोजनाका डिभिजन इञ्जिनियर शम्भुप्रसाद आचार्यले जानकारी दिए । “सडकको डिजाइनको काम भइरहेको छ, डिपिआर र डिजाइनको काम सकेलगत्तै बोलपत्रको प्रक्रियामा जानेछौँ”, उनले भने । उनका अनुसार सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि चालु आर्थिक वर्षमा रु ७० करोड बजेट विनियोजन भएको छ । सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना बहुवर्षीय हो ।

छ लेनको डिजाइन हुने उक्त सडक निर्माणको काम सरकारले गर्ने भएको हो । सडक विभागले केही वर्षदेखि धुलिखेलदेखि बनेपाहुँदै भक्तपुरसम्म सडकको चाप बढिरहहेकाले उक्त सडकखण्ड विस्तारका लागि यसअघि नै प्रक्रिया थालेको थियो । उक्त सडक विस्तारका लागि सकेसम्म लगानीकर्ता खोजिने, नभए सरकार आफैंले निर्माण गर्ने जनाउँदै आइएको थियो । उक्त सडकखण्ड विस्तारमा केही वर्षदेखि चासो देखाउँदै आएको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले नगर्ने बताइसकेको छ ।

“बोलपत्र आह्वानपछि जाइकाले चासो दिए मात्रै हो, उसले सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम नगर्ने बताइसकेको छ” उनले भने । उक्त सडक करिब १६ किलोमिटर दूरीको छ । यसमध्ये काभ्रेमा १० र भक्तपुरमा छ किलोमिटर लम्बाइको पर्दछ । विस्तारका क्रममा निर्माण हुने छ लेनमध्ये सवारी साधनका लागि चार र दुई लेन सर्भिस् लेन हुने छ भने छ स्थानमा आकाशे पुल, चार स्थानमा पुल र एउटा कल्भर्ट निर्माण हुने जनाइएको छ । भक्तपुर र काभ्रेको सीमाक्षेत्र साँगामा प्रस्तावित एक दशमलब २९ किलोमिटर सुरुङमार्ग निर्माण गर्ने–नगर्नेबारेसमेत छलफल भइरहेकोसमेत जनाइएको छ ।

सुरुङमार्ग निर्माण गर्दा निकै खर्चिलो हुने भएकाले लगभग नबन्ने देखिएको डिभिजन इञ्जिनीयर आचार्यले बताए । उनका अनुसार दुई लेनको सुरुङमार्गमा सडकको चौडाइ साढे तीन मिटरको हुनुपर्ने छ । आयोजनाका लागि प्रारम्भिक अध्ययनबाट करिब रु सात अर्बको बोलपत्र लाग्नसक्ने सांसद गोकुलप्रसाद बाँस्कोटाले बताए ।

उनका अनुसार १२ वर्ष पहिले तीनकुने–सूर्यबिनायक सडक विस्तार गरेको जाइकाले सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि आयोजनाको ‘डिजाइन’ गर्दा सुरुङमार्गबाहेक उक्त परिमाणको रकम लाग्नसक्ने अनुमान गरेको थियो । “आयोजना सम्पन्न भएपछि धुलिखेल–भक्तपुरको सवारीचाप निकै कम भई सडक विस्तारमा अर्को फड्को मार्नेछ” उनले भने।

जाइकाले नै सूर्यविनायक–धुलिखेल सडक विस्तारबारे सन् २०१८ मा अध्ययन सकेर प्रारम्भिक डिजाइन पेस गर्दै सरकारको बजेटमा डिजाइन अनुसारको कामगर्न नसक्ने जनाएको थियो । त्यसबेला सरकारसँग आयोजनाको बजेटमा सुरुङमार्गको योजना हटाएर पनि लागत कम गर्न अनुरोध गर्दै जाइकाले तारतम्य नमिलेको आरोप लगाउँदै हात झिकेको बताइन्छ । त्यसयता सरकारले आफैं निर्माण गर्ने जनाउँदै आएको हो ।

सरकारले आर्थिक वर्ष २०७७÷७८ मा कान्ति राजपथसँगै धुलिखेल–सूर्यविनायक सडक विस्तार सुरु गर्न रु एक अर्ब २० करोड विनियोजन गरेको थियो भने अघिल्लो आवको बजेटमासमेत उपत्यकाको विद्यमान सवारीचापलाई व्यवस्थापन गर्न स्तरोन्नति विस्तृत अध्ययन गरिने उल्लेख गरेको थियो ।

डिभिजन सडक कार्यालय भक्तपुरले विसं २०७६मा सडक निर्माणस्थल खाली गराउन रुख कटानलगायतको काम गर्दै आए पनि केही समयमै सोकार्य रोकिएको थियो । सङ्घीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल रार्जमार्गहुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ । यी सडकबाट अरनिको राजमार्गहुँदै प्रदेश १ र २ का नागरिक काठमाडाँै आउजाउ गर्दछन् । सडक विस्तार सम्पन्न भएपछि पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भए यो सडकखण्डमा सवारी चाप बढ्ने अनुमान गरिएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार