काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक एवम् सांसद विशाल भट्टराईले खोटाङ केन्द्रविन्दु भएर गएको भूकम्पको क्षतिको अविलम्ब विवरण सङ्कलन गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसमक्ष माग गर्नुभएको छ ।
बैठकको विशेष समयमा बोल्दै उनले भूकम्पबाट भएको क्षतिको तत्काल विवरण सङ्कलन गरेर विस्थापितहरुलाई स्थापित गर्न माग आग्रह गरे ।
विपद् व्यवस्थापन प्राधिकरण सक्रिय नभएको र सरकारी तवरबाट पनि क्षति सङ्कलन सुस्त भएको भन्दै सांसद भट्टराईले क्षतिको विवरण लिएर पीडितलाई राहत दिन आग्रह गरे। उनले भूकम्पले खोटाङ जिल्ला र आसपासका क्षेत्रका जनतालाई त्रसित तुल्याएको बताए । घटनामा प्रहरी चौकी, विद्यालय, सहकारी भवन आदिमा आंशिक क्षति पुगेको तथा जिल्लाका ४७५ वटा घर चर्किएको र केही घर पूर्ण रुपमा क्षति भएको विवरण रहेको भन्दै पुनःस्थापनाको कामलाई अविलम्ब अघि बढाउन आग्रह गरे।
यही साउन १५ गते खोटाङको साकेला गाउँपालिका–५ स्थित मार्तिमबिर्ता केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम गएको थिए ।
सांसद भट्टराईले हालै सरकारले नेकपाको विप्लव समूहलाई कारबाहीको पत्राचार गरेको समाचार आएको भन्दै उक्त पत्र फिर्ता लिएर त्यस्ता समूहको शान्तिपूर्ण बाटो रोज्ने प्रस्तावलाई प्रोत्साहन गर्न अनुरोध गरे । तत्कालीन सरकारसँग तीनबुँदे सहमति गरेर शान्ति प्रक्रियामा ल्याइएको विप्लव र सिके राउत समूहलाई शान्तिपूर्ण बाटोमा प्रोत्साहन गरिनुपर्नेमा जोड दिए ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।