‘स्माइलिङ चिल्ड्रेन’ परियोजना सुरु

काठमाडौँ ।   ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले संयुक्तरुपमा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजनाको सुरुआत गरेका छन् । काठमाडौंको शान्ति निकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थीलाई खाना खुवाएर उनीहरूले आज सो परियोजनाको सुरुआत गरेका हुन् ।

 

त्यसअवसरमा मन्त्री भुसालले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै नेपाल विकास समृद्धिको बाटोमा अगाडि बढेको बताइन् । उनले नेपालको समृद्धि यात्रामा गति प्रदान गर्न छिमेकी चीनको प्राविधिक अनुभव र आर्थिक सहयोग आवश्यक पर्ने उल्लेख गरिन् । मन्त्री भुसालले भनिन्, “संविधानमा उल्लेख भएका मौलिक हक कार्यान्वयनका लागि आर्थिक विकास अपरिहार्य छ । त्यसका लागि हामीलाई चीनको सहयोग आवश्यक छ ।”

सो अवसरमा मन्त्री भुसालले नेपालको औद्योगिकीरण एवं आर्थिक विकासमा चीनको सहयोग रहने विश्वास व्यक्त गरिन् । शताब्दीऔँदेखि नेपाल–चीनबीच जनस्तरको सम्बन्ध प्रगाढ रहँदै आएको उल्लेख गर्दै उनले भनिन्, “दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध शान्ति र सहअस्तित्वका आधारमा अझ प्रगाढ बन्दै गएको छ । यो सम्बन्ध आपसी विश्वास, सहकार्य, सहयोग र सम्मानसहित पञ्चशीलका आधारमा स्थापित छ ।”

चीनको आर्थिक तथा प्राविधिक सहयोगबाट भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, जलस्रोत र खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै मन्त्री भुसालले नेपालको शैक्षिक विकास तथा गरिबी निवारणका क्षेत्रमा पनि चीनको सहयोग रहेको बताइन् । चीनले उच्च शिक्षाका लागि नेपाली विद्यार्थीलाई महत्वपूर्ण अवसर दिँदै आएको उनले स्मरण गरिन् । चीन नेपालको सुखदुःखको साथी रहेको भन्दै मन्त्री भुसालले २०७२ सालमा गएको भूकम्प र कोभिड–१९ महामारीमा चीनले पु¥याएको सहयोगप्रति आभार व्यक्त गरिन् ।

सो अवसरमा विदेश विभाग प्रमुख जियानचाओले नेपाल चीनको असल छिमेकी भएको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध जनस्तरमा थप विस्तार हुँदै जाने विश्वास व्यक्त गरे । उनले भने, “महान् मुलुक नेपाल चीनको असल छिमेकी साझेदार हो, हाम्रो जनस्तरको सम्बन्ध अझ प्रगाढ हुँदै गएको छ ।”

बालबालिकाहरू देशको भविष्य भएको उल्लेख गर्दै लिउले भने, “बालबालिका नेपाल–चीन मितेरीका भविष्य हुन् । बालबालिकाको खुसीले दुई देशको सम्बन्धमा नयाँ आयाम थप्न सहयोग गर्छ, सम्बन्धलाई अझ मजबुत बनाउँछ । उहाँहरू नेपाल–चीन सम्बन्धको नयाँ बीउ हो ।” ग्लोबल डेभलपमेन्ट तथा साउथ–साउथ कोपरेशन फण्डमार्फत नेपालको शैक्षिक विकासमा निरन्तर सहयोग गर्ने उनले विश्वास दिलाए ।

कार्यक्रममा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजना नेपालका ३५ विद्यालयमा लागू भएको र त्यसबाट पाँच लाख बालबालिका लाभान्वित भइरहेको जानकारी दिइयो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार