प्रचण्ड व्यक्ति होइन, विचारधारा !

विवेक लोप्चन ३० जेष्ठ २०७९, सोमबार

प्रारम्भ
प्रचण्डको जन्म कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं २ लिवाडेमा वि. सं २०११ साल मंसिर २६ गतेका दिन भएको थियो । २५ वर्ष भूमिगत जीवन बिताएका पुष्पकमल दाहाल प्रचण्ड नेकपा (माओवादी केन्द्र)का अध्यक्ष हुन् । सामान्य परिवारमा जन्मिएका प्रचण्ड मुलुकका दुईपटक प्रधानमन्त्री बनिसकेका छन् ।

प्रचण्डले १७ वर्षको उमेरमै २०२८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । त्यसपछि उनी राजनीतिमा विभिन्न भूमिकामा अघि बढ्दै गए ।

कृषिमा स्नातक गरेका प्रचण्ड भूमिगत हुनुअघि गोरखाको भीमोदय माविमा पढाउँथे । उनका सहकर्मी शिक्षकहरूका अनुसार प्रचण्डले आवश्यकताअनुसार विज्ञान, गणित र अङ्ग्रेजी पनि पढाए ।

३२ वर्षदेखि मुल नेतृत्वमा
कम्युनिस्ट राजनीतिमा संलग्न भएको १८ वर्षपछि ३५ वर्षको उमेरमा प्रचण्ड नेकपा मशालको महामन्त्री बने । नेकपा मशालको प्रमुख पद महामन्त्री नै रहने व्यवस्था थियो । मशालको युवा संगठन योङ कम्युनिस्ट लीगमा राम्रो क्षमता देखाएका कारण उनलाई तात्कालिक मशालको केन्द्रीय सदस्यमा परेका थिए । उनी त्यहाँ पनि लोकप्रिय हुँदै गए । त्यहीँ लोकप्रियताकै बीचमा मशालको आन्तरिक विवादका कारणले उनी महामन्त्री बनेका थिए ।

विसं २०४६ सालमा नेकपा मशालको प्रमुख भए यताका ३२ वर्ष प्रचण्ड निरन्तर पार्टीको नेतृत्वमा छन् ।

जनादेशमा पहिलो तस्बिर
जनयुद्ध सुरु भएपछि प्रचण्ड भन्ने मान्छे नै छन् कि छैनन् भन्ने अलमल थियो । प्रचण्ड भन्ने मान्छे नै छैनन् भन्ने सन्देश पनि फैलिएको थियो । यहीबीचमा तत्कालीन नेकपा माओवादीले २०५५ साल फागुन १ मा जनादेश पत्रिकामार्फत् प्रचण्डको तस्बिर सार्वजनिक गर्यो ।

प्रचण्ड व्यक्ति कि विचारधारा ?
प्रचण्ड व्यक्ति कि विचारधारा ? घण्टौँसम्म बहस गर्न सकिने विषय हो यो । यसको पक्ष या विपक्षमा पनि घण्टौँ तर्क गर्न सम्भव छ । तर, पक्ष या विपक्षमा बहस नहुने एउटा अकाट्य तर्क छ, ‘प्रचण्ड व्यक्ति’ हो ।

तर, एउटा व्यक्ति जो ३२ वर्षदेखि नेतृत्वमा रहन्छन् उनी व्यक्ति मात्र हुन सक्छन् ? या कुनै पनि व्यक्ति ३२ वर्षदेखि नेतृत्वमा रहेकै कारण प्रचण्डलाई विचारधारा भन्न मिल्छ ? यो पनि घण्टौँसम्म बहस गर्न सक्ने अर्को विषय हो ।

तर, माओवादी आन्दोलनको निरन्तरता र मुल प्रवाहको हिसाबले प्रचण्ड केवल व्यक्ति मात्रै होइन । प्रचण्ड व्यक्ति त हो तर, फेरि प्रचण्ड माओवादी आन्दोलनको केन्द्रिकृत अभिव्यक्ति पनि हो । कसैलाई प्रचण्ड मन नपर्न सक्छ, माओवादी मन नपर्न सक्छ तर, आखिर देश त यहाँ (प्रचण्डले उठाएका एजेण्डाहरुमा) आएको हो । त्यो फगत एउटा व्यक्ति भएर होइन, विचारले हो, कार्यदिशाले पनि हो, नेतृत्वले पनि हो ।

एकपटक सम्झौँ, कुनै खास विशेषता वा क्षमताबिना नै कसैको सन्तान राजा हुने चलन पनि थियो, नेपालमा । केही क्षमता वा विशेषता नचाहिने तर कुनै परिवारमा जन्मिए बापत् राजा हुने, उनैको शासन मान्नुपर्ने ।

हो, तिनै व्यवस्था हटाउँदै मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको फुलबारीमा ल्याएका व्यक्ति हुन् प्रचण्ड । १० वर्षे जनयुद्धकालमा त्यही अनुसारको विचारको वरिपरी, संविधानसभाको निर्वाचन र त्यसबाट संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको बेला त्यहीअनुसारको विचार र अहिले संघीयताको कार्यान्वयनको चरणमा त्यहीअनुसारको विचारधारा निर्माण र व्याख्यासहित मुलुकलाई नै डोर्याइरहेको एजेण्डा र विचार निर्माणको श्रेय प्रचण्डलाई नै जान्छ ।

नेपाली समाजलाई अग्रगति दिन, रुपान्तरणको अग्रगामी बाटोतिर लैजान प्रचण्डको नेतृत्वदायी भूमिका छ । किनकी प्रचण्ड व्यक्ति मात्रै होइन । यो सिंगो माओवादी आन्दोलनमा सांगठनिक हिसावले माओवादी पार्टीको नेता पनि हो । अहिले मुलुक माओवादीकै एजेण्डाको वरिपरी केन्द्रित छ ।

तर अर्को ढंगले हेर्ने हो भने प्रचण्डले परिवर्तित परिस्थितिमा पनि आफूलाई अपग्रेट गरेर त्यसलाई सम्बोधन गर्न सक्ने नेतृत्वको क्षमता राखेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *