काठमाडौँ । श्रीलङ्काको अनुसन्धान एजेन्सी आपराधिक अनुसन्धान विभाग (सीआईडी) ले पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षेसँग तीन घण्टा सोधपुछ गरेको छ । उनलाई मंगलबार साँझ कोलम्बोस्थित उनको निवासमा सोधपुछ गरिएको थियो ।
महिन्दा राजापाक्षेको राजीनामापछि उनका समर्थक र सरकार विरोधी प्रदर्शनकारीबीच हिंसात्मक झडप भयो, जसमा १० जनाको ज्यान गएको थियो भने २०० जना घाइते भएका थिए । यस मामिलामा सीआईडीले महिन्दा राजापाक्षेलाई सोधपुछ गरेको छ । श्रीलङ्कामा बढ्दो मुद्रास्फीति, तेल र खाद्यान्नको अभाव र कमजोर आर्थिक अवस्थाको विरोधमा सरकार विरोधी प्रदर्शन भइरहेका छन् ।प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गर्दै आएका छन् । तर, मे ९ मा महिन्दा राजापाक्षेले शान्तिपूर्ण प्रदर्शनका बीच राजीनामा दिएपछि उनका समर्थकहरू हिंसात्मक बनेका थिए ।
गत मे ९ मा भएको घटनाबारे प्रहरीले महिन्दा राजापाक्षेको बयान लिइसकेको छ । २३ मे मा, श्रीलङ्काको सुरक्षा मन्त्रालयका एक शीर्ष अधिकारीले हिंसात्मक झडपहरू रोक्न असफल भएपछि राजीनामा दिएका थिए ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।