देउखुरी । दाङको लमही नगरपालिकाले खरले छाएका घरको छानो हटाएर जस्तापाताले छाएको छ । नगरपालिकाले सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत खरले छाएको घरलाई जस्तापाताको छानाले छाएको हो । लमही नगरपालिका वडा नम्बर ९ अमिलिया निवासी राजकुमारी विश्वकर्माको आधा उमेर खरको छानाकै घरमा बित्यो ।
कमजोर आर्थिक अवस्थाका कारण जस्ताको छानो हाल्न नसकेको उनको सपना अहिले पूरा भएको छ । खरको छानो हटाएर जस्तापाताले घर छाउने सपना पूरा भयो, उनले भने,–। ‘खरको छानामुनि बस्दै आएको थिएँ, जस्तापाताले छाउने घरको आर्थिक स्थिती निकै कमजोर र क्षमता पनि थिएन, नगर सरकारले जस्तापाताले घर छाइदियो । दुई वर्षमा घरको छानो फेर्दै आउँदा निकै सकस थियो, गाउँमा खरसमेत पाइन छाडेको थियो, वर्षौँलाई ढुक्क भइयो ।’
लमही नगरपालिकाले नगर क्षेत्रमा विपन्न तथा खरका छाना भएका घरमा जस्तापाता लगाउने अभियान चलाएसंगै उनले पनि जस्तापाताले घर छाउनु भएको हो । उनलाई नौ फुटको १६ थान तथा छ फुटको १८ थान जस्ता र किलाकाटी प्रदान गरिएको लमही नगरपालिकाका इञ्जिनीयर सौगात वलीले जानकारी दिए। उनले मात्रै नभएर लमही नगरपालिका वडा नम्बर ८ बाघखोली निवासी रघुपती चौधरीले पनि सात फुटको १२ थान र ६ फुटको १० थान गरी २२ थान जस्तापाताले छाएको घरमा बस्नु भएको छ । सबै लमही नगरपालिकाले उपलब्ध गराएको हो ।
आर्थिक अवस्था कमजोर भएकै कारण लमही नगरपालिका वडा नम्बर ४ निवासी दलबहादुर कुमालले घरको छानोमा जस्तापाताले छाउन सक्नु भएको थिएन । ‘जस्तापाताले छाएर बस्ने धोको पहिल्यै देखि थियो तर, कसरी छाउने । पैसा थिएन । अहिले लमही नगरपालिकाबाट पैसा पनि पाइयो । जस्तापाता पनि पाइयो । घर पनि छाएँ । स्थानीय सरकार आएपछि मेरो बर्षौंदेखिको सपना पुरा भयो । धेरै खुसी छु, उनले भने । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत लमही नगरपालिकाले नगरभित्रका खरले छाएका घरको छाना हटाई जस्तापाताले छाउने अभियान अन्तरगत घरको तथ्याङ् संकलन गरि नगरपालिका भित्रका एकसय ४७ घर जस्तापाताले छाइएको लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले बताए ।
लमही नगरपालिकाभित्र रहेका खरका छाना मध्ये एकसय ४७ घरधुरी संख्यामा रहेका घरमा जस्ताको छाना लगाइयो, उहाँले भन्नुभयो,–। ‘नगरभित्रका गरीब, विपन्न एवम् असाहायलाई माथि उठाउने स्थानीय सरकारको कर्तब्य हो । हामीले आफ्नो कार्यकालभित्रै खरका छाना विस्थापित गरि नगरका सबै वडामा रहेका विपन्नको घरमा जस्तापाता छाउछौँ।’ ‘त्यस्ता गरीब, असाहाय र एकल महिलालाई नगरपालिकाले बस्ने बासको राम्रो व्यवस्था समेत मिलाउने योजनामा छाँै । यसको लागी सबैको सहयोग पनि उतिकै आवश्यक चाहिन्छ ।’ यता लमही नगरपालिका नगर उप–उप्रमुख लक्ष्मी योगीले सबै खरका छाना हटाएर जस्तापाता लगाउने अभियानमा लमही नगरपालिका अगाडि बढेको बताए ।
सबै खरले छाएका घर अब जस्तापाले छाएको देख्नेछौं, उनले भने,–। ‘आर्थिक अवस्था नाजुक भएका कारण घर जस्तापाताले छाउन नसकेका नागरिकका निम्ति घर छाइदिएको हो ।’ यता लमही नगरपालिका इञ्जिनीयर सौगात वलीका अनुसार सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत विपन्न नागरिकको घर जस्तापाताले छाउनका लागि आर्थिक बर्ष ०७७÷०७८ मा ७३ लाख ५० हजार बजेट प्रदेश सरकारबाट विनियोज गरिएको थियो । सोही बजेट अनुसार लमही नगरपालिकाले नगरभित्र तथ्याङ्क संकलन गरि खरका छाना हटाएर जस्तापाताले छाउने कामलाई अगाडि बढाएको हो ।
आइतवार सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत खरका छाना मुक्त गराउने अभियानमा छाइएका जस्तापाताहरुको अनुगमन गरिएको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारबाट प्राप्त ७३ लाख ५० हजार लमही नगरपालिका अन्र्तगत एकसय ४७ घरधुरी संख्यामा खरका छाना हटाइ जस्तापाता लगाउन बजेट विनियोजन भएको थियो । उक्त बजेट अनुसार खरका छाना हटाइ जस्तापाता छाइएको छ, की छैन भनेर स्थलगत अनुगमन गरिएको अनुगमन समितिका सदस्य सचिव सौगात वलीले बताए ।
लमही नगरपालिका उप–प्रमुख लक्ष्मी योगीको संयोगमा अनुगमन समिति बनेको छ । जस्तापाता छाउने काम अव अन्तिम चरणमा पुगेको छ । लमही नगरपालिका वडा नम्बर १ मा १९ र २ देखि ९ नम्बर वडासम्म १६ को दरले जस्तापाता छाउन लागेका छन् । जस्तापाता लगाएका घरधनीले जस्तापाता लगाए बाफत पहिलो किस्ताको ३० हजार रकम प्राप्त गरिसकेका छन भने अब बाँकि रकमको लागि आवश्यक कागजपत्र पेश गर्नु पर्ने छ ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।