के मतपेटिका साट्न सम्भव हुन्छ ?

उज्यालो प्रतिनिधि २९ बैशाख २०७९, बिहीबार समाचार

काठमाडौं । केही दिनअघि एक राजनीतिक दलका शीर्ष नेताले आफ्नो कार्यकर्ताहरूलाई मतदानपछि मतपेटिका मतगणनास्थलसम्म पुर्‍याउने बेला विशेष चनाखो हुन आग्रह गरे ।

उनले बिच बाटोमा मतपेटिका साटिनसक्ने भन्दै सतर्क हुन आग्रह गरेका थिए । निर्वाचनको निष्पक्षता र स्वच्छतामाथि नै प्रश्न उठ्ने गरी उनले गरेको टिप्पणी निर्वाचन आयोगप्रति लक्षित थियो ।

कतिपय व्यक्तिहरूले मतदान सकिएर मतपेटिका निर्वाचन अधिकृतलाई बुझाउने बेलासम्म मतपेटिका साटिने र चलखेल हुनसक्ने आशंका गर्छन् । यदि आशंका अनुसार यस्तो हुन्छ भने मतदाताले व्यक्त गरेको मत रातारात साटिनु र अर्को फर्जी मतपेटिका प्रयोग हुनु विडम्बना हो ।

के त्यस्तो सम्भव हुन्छ त ? हामीले यो विषयमा निर्वाचन आयोगका आयुक्तदेखि अधिकृतसम्मलाई यो प्रश्न सोध्यौं । मतदान हुनु अघिदेखि मतगणनासम्म विभिन्न सुरक्षा र विश्वसनियताका उपाय अपनाइने भन्दै उनीहरूले यस्तो कल्पनासम्म पनि गर्न असम्भव हुने बताए ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्याल मतदानपछि मतपेटिका साटिने अनुमान गर्नु पनि हास्यास्पद हुने बताउँछन् । ‘यसवारे जानकारी नभएका सर्वसाधारणलाई शंका हुनु स्वभाविक हो, तर जानेबुझेको मानिसलेसमेत मतपेटिका साटिन्छ भनेर हल्ला गर्नु अति नै कच्चा काम हो’ उनले भने, ‘सबै संयन्त्र आफ्नो पक्षमा पारे पनि मतपेटिका साट्न र मत बदल्न सम्भव हुँदैन । यो अलिकति पनि सम्भावना हुन नसक्ने हल्ला हो ।’

उनले मतपेटिका साटिन्छ कि भनेर शंका गर्नुपूर्व मतपेटिका, त्यसको सुरक्षा र मतदान सुरु गर्नुअघिको कार्यविधि जान्नुपर्ने बताए ।

आयुक्त पौड्यालका अनुसार, मतपेटिकामा दुईथरी बिर्को हुन्छ । एउटा ठूलो बिर्को पूरै खोल्न मिल्छ भने अर्को बिर्कोभित्र सानो प्वाल हुन्छ, त्यहाँबाट मतदाताले आफूले छाप लगाएको मत खसाउन मिल्छ तर निकाल्न नमिल्ने गरी बनाइएको हुन्छ । ठूलो अर्थात मुख्य बिर्कोमा चारवटा सिल लगाउन मिल्छ भने मतपत्र घुसार्ने सानो प्वालको बिर्कोमा पनि अर्को सिल लगाउन मिल्छ ।

‘मतदान गर्नुअघि सम्भव भएसम्म सबै दलका प्रतिनिधिहरुलाई साथमा राखेर मतदान अधिकृतले रित्तो मतपेटिका घोप्टो पार्छन, ताकि मतपेटिकामा पहिले केही राखेको भए खसोस र रित्तो भएको सुनिश्चित होस,’ उनी भन्छन् । त्यसपछि बिर्को लगाइन्छ र बिर्कोमा चारवटा सिल लगाइन्छ ।’

निर्वाचन आयोगले मतपेटिकामा लगाउने सिल प्लाष्टिकको हुन्छ । सिल लगाएर तानेपछि त्यो कसिन्छ, तर फुस्काउन मिल्दैन । सिल तोड्नका लागि कैचीले सिलको बाहिरको भाग काटेर तोड्नुपर्छ । ‘हरेक सिलमा सिरियल नम्बर हुन्छ र कुनै पनि सिलको सिरियल नम्बर दोहोरिदैन’ निर्वाचन आयुक्त पौड्याल भन्छन्, ‘दलका प्रतिनिधिहरूले सिल लगाएपछि मुचुल्कामा हस्ताक्षर गर्नुपर्छ । त्यसक्रममा सिलको सिरियल नम्बर पनि मुचुल्कामा लेखिन्छ । उनीहरूले चाहेमा मुचुल्काको फोटो खिचेर लैजान पाउछन् ।’

बिहान ७ देखि दिनभर मतदान हुँदा मतपेटिकाको मुख्य बिर्को सिलबन्दी गरिएको हुन्छ र माथिबाट पट्याएको मतपत्र खसाल्ने प्वाल मात्रै खुला हुन्छ, त्यहाबाट मतपत्र निकाल्न मिल्दैन । बेलुकी पाँच बजे मतदान सकिएपछि मतदान अधिकृतले सबै दलका प्रतिनिधिहरूलाई बोलाउछन् । उनीहरूको प्रत्यक्ष उपस्थितिमा मतदान अधिकृतले मतपेटिकाको बिर्कोमा रहेको मत खसाल्ने प्यालमा पनि अर्को सानो बिर्को लगाउँछन् र सिलबन्दी गर्छन । मतपेटिका पूरै सिलबन्दी भएपछि त्यो सुरक्षाकर्मी र मतदान अधिकृतको जिम्ममा रहन्छ ।

मतदान केन्द्रदेखि निर्वाचन अधिकृत (पछि उनीहरूलाई प्रमुख मतगणना अधिकृत भनिएको छ)को कार्यालयमा गएर सिलबन्दी भएको मतपेटिका र मुचुल्का बुझाउँछन् । दलका प्रतिनिधिहरूले मतदान हुने ठाँउदेखि निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका लैजादा धाँधली हुने, मतपेटिका साटिने आशंका गर्छन् ।

‘त्यसका लागि हामीले सम्भव भएसम्म दलका प्रतिनिधिहरूलाई पनि मतपेटिकाका साथमा लैजाने व्यवस्था मिलाउन भनेका हुन्छौं’ निर्वाचन आयुक्त पौड्यालले भने, ‘व्यहारिक रुपमा सम्भव नहुने र धेरै उम्मेदवार भएका ठाँउमा दलका प्रतिनिधिहरू मतपेटिका बोलेका सवारीसाधनसँगै अर्को सवारीसाधनमा बसेर आउने व्यवस्था हुन्छ । दुर्गममासमेत हेलिकप्टरबाट मतपेटिका ओसार्दा हामीले दलका प्रतिनिधिहरूलाई सम्भव भएसम्म साथमा ल्याउनु भनेका छौं ।’

मतदान अधिकृतले निर्वाचन अधिकृतलाई मतपेटिका बुझाइसकेपछि तिनलाई एकैठाँउमा संकलन गरिन्छ । मतपेटिका कुनै ठाँउमा भण्डारण गरेर रातभर राख्नुपरेमा कोठाका सबै झ्याल र प्वालहरु बन्द गरिन्छ अनि ढोका लगाएर सिलबन्दी गर्ने चलन हुन्छ ।

आयुक्त पौड्याल भन्छन्, ‘त्यसमा पनि विश्वास नगर्ने पक्षको प्रतिनिधिलाई ढोकाबाहिर सुरक्षाकर्मीको छेवैमा बस्ने वा सुत्ने व्यवस्था गरिदिने चलन छ । शंका उठेमा त्यसको निवारण हुने सबै उपाय अवलम्बन गर्नुपर्छ ।’

सबैतिरबाट मतपेटिका संकलन भएपछिमात्रै मतगणनाको काम सुरु हुन्छ । त्यसक्रममा मतपेटिकाको बिर्कोको सिल तोडनुघि सुरुको मुचुल्कामा लेखेको नम्बर र सिलमा रहेको सिरियल नम्बर रुजु गरिन्छ । त्यसपछि दलका प्रतिनिधिहरूको रोहवरमा मतपेटिकाबाट मतपत्र निकालेर गणनाको काम सुरु हुन्छ । विश्वसनीयता र गोपनियताका लागि प्रायः दुईभन्दा बढी मतदान स्थलका मतपत्र मिसाएर गन्ने चलन हुन्छ ।

मतपत्रमा अन्य सुरक्षा फिचर र मतदान अधिकृतको दस्तखतका कारण पनि मतपेटिका साटिन सम्भव नहुने निर्वाचन आयोगका अधिकारीहरू बताउँछन् । मतपत्रको बिचमा विशेष सुरक्षा संकेत राखिएको हुन्छ, जुन निर्वाचन आयोगका दुई अधिकारीहरू बाहेक तेस्रो व्यक्तिलाई समेत थाह हुँदैन ।

अर्कोतर्फ मतदान अधिकृतले मतदानस्थलमा बाहेक अन्यत्र मतपत्रमा हस्ताक्षर गर्न नपाउने भएकाले पनि उसैको हस्ताक्षरयुक्त फर्जी मत खसालेर अर्को मतपेटिका तम्तयार राख्न सम्भव हुँदैन । ‘एक त कतै साट्ने सम्भावना नै छैन’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार