गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्णपालना गर्दै कसैको प्रभावमा नपरी स्वतन्त्ररूपमा योग्य उम्मेदवारको छनोटका लागि मतदानमा संलग्न हुन प्रदेशवासीमा अपिल गर्नुभएको छ । स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा आज आह्वान पत्र जारी गर्दै उनले ‘हाम्रो मत नै मुलुक रुपान्तरणको आधार भएकाले मतदानको अधिकार विवेक पूर्णरूपमा प्रयोग गर्नुहुनेछ भन्नेमा विश्वस्त छु’ भन्नुभएको छ ।
स्थानीय तह जनताको नजिक रहेर उनीहरूका हेरक गतिविधिमा साथ दिने सरकार भएको उल्लेख गर्दै आह्वानपत्रमा मुख्यमन्त्री पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने, जनताको अधिकारको रक्षा गर्न सक्षम, विकासप्रेमी, इमान्दार, कर्तव्यनिष्ठ र सेवा भावले ओतप्रोत उम्मेदवारलाई छनोट गर्न सकेमा मात्र आगामी पाँच वर्ष हामीले चाहेबमोजिमको सेवा प्राप्त गर्न सकिने भनिएको छ ।
लोकतन्त्रको महत्वपूर्ण आधार र सुन्दर पक्ष नै आवधिक निर्वाचन हो । संविधान सभामार्फत २०७२ मा जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानमा व्यवस्था भएबमोजिमको तीन तहको सरकारमध्ये जनताको समीपमा रहेको स्थानीय तहको एक कार्यकाल सफलतापूर्वक सम्पन्न भई विशेष अनुभवका साथ मुलुक अहिले स्थानीय तहको दोस्रो कार्यकालका लागि निर्वाचनमा जुटिरहेको आह्वानपत्रमा उल्लेख छ ।
लामो र कठोर बलिदानीपूर्ण सङ्घर्षबाट नेपाली जनताले प्राप्त गरेका उपलब्धि बचाउन आवधिक निर्वाचन अनिवार्य शर्त रहेको उल्लेख गर्दै आह्वानपत्रमा, ‘वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भयरहित, स्वच्छ एवं मर्यादित तवरले सम्पन्न गर्ने, गराउने दायित्व सरकारसँगै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र एवं आमसञ्चार माध्यमसमेतको हो’, भनिएको छ ।
राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षणमा खटिने राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घ संस्था एवं सरोकारवाला सबै निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन अग्रसर हुनका लागि मुख्यमन्त्रीले आह्वान गर्नुभएको छ । अधिकतम प्रदेशवासीको संलग्नतामा स्थानीय तहको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दै उहाँले कोरोनाको त्रास कायमै रहेकाले सामाजिक दूरी र स्वास्थ्य मापदण्ड अनपाउन पनि अनुरोध गर्नुभएको छ ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।