अन्तर्वार्तामा लालध्वज भन्छन्, ‘गठबन्धन माओवादीका लागि मात्रै चाहिएको होइन’

उज्यालो प्रतिनिधि २ बैशाख २०७९, शुक्रबार अन्तर्वार्ता

सुर्यमान दोङ लालध्वज नेकपा (माओवादी केन्द्र) काभ्रेका इन्चार्ज हुन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका उनी अहिले पार्टीका छलफलमा व्यस्त छन् । प्रस्तुत छ, दोङसँग गरिएको संवाद ।——————————————

– आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
आजभोलि हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)को कार्यक्रमतिर नै व्यस्त छु । आगामी स्थानीय तहको निर्वाचन लक्षित छलफल र बैठकतिर व्यस्त छु ।

– पछिल्लो अवस्था हेर्दा देशभर र काभ्रेमा माओवादीप्रति आम मतदाताको झुकाव कस्तो पाउनुभएको छ ?
एकदमै महत्वपूर्ण प्रश्न गर्नुभयो । मुख्य कुरा चाहिँ माओवादी नै यो देशको परिवर्तनकारी शक्ति हो भन्ने कुरा जनतामो स्थापित हुँदै गएको छ । कुनै–कुनै कालखण्डमा हाम्रो पार्टीप्रति जनतामा भ्रम परेकै थियो ।

खासगरी प्रतिगामी शक्तिहरुले हाम्रो पार्टीको सिद्धान्त, नीति र उद्देश्यविपरीत ढंगबाट जनतामा भ्रम छरेका थिए । तर, पछिल्लो समय राष्ट्रिय राजनीतिमा जे खाले दृश्य नेकपा एमाले र अन्य दलबाट प्रदर्शित भयो, त्यसपछि मुलुकको परिवर्तनकारी शक्ति को हो भन्ने जनताले राम्रोसँग बुझ्न पाएका छन् ।

मुलुकमा समस्या पर्दा त्यसबाट मुलुकलाई दुर्घटना हुन नदिई ठीक तरिकाले त्यसको समाधान गर्ने र देशलाई समृद्धिको दिशामा अगाडि बढाउने पार्टी माओवादी नै हो भन्ने जनतामो राम्रोसँग स्थापित भएको छ । त्यस हिसाबले माओवादीप्रति देशभरका र आम काभ्रेली मतदाताको शुभेच्छा र झुकाव रहेको पाइन्छ ।

– त्यसो भए स्थानीय तह निर्वाचनमा माओवादीको पोजिसन के हुन्छ भन्ने अनुमान गर्न सकिन्छ ?
गणितीय हिसाबले पनि हामी राम्रै पोजिसनमा हुन्छौँ । तर एजेण्डाको हिसाबले त हामी यो मुलुकलाई अगुवाई गरिरहेको दल हो । त्यसकारण एजेण्डाको हिसाबले पनि हामी पहिलो दल नै हौँ । तर पनि तपाईले सोध्न खोज्नुभएको जुन गणितिय हिसाबको कुरा छ, त्यसमा पनि हामी कमजोर छैनौँ । हामी अहिले पहिलो दल हुनेतिर नै अगाडि बढेका छौँ ।

– माओवादीलाई जनताले मत दिने आधार चाहिँ के हो ?
मुख्य कुरा चाहिँ आजको दिनमा जुन धर्तीमा उभिएर हामी बोलिरहेका छौँ यो अवस्था सिर्जना गर्ने नै माओवादी हो । म यो कुरा किन बारम्बार भनिरहेको छु भने स्थानीय तहको जुन अहिलेको संरचना छ, त्यो माओवादीले ल्याएको हो । माओवादीले स्थापित गरेको एजेण्डा हो ।

तपाइ अहिले एउटा कुरा के देख्न सक्नुहुन्छ भने जहाँ–जहाँ माओवादीले नेतृत्व गरेको छ, त्यहाँ विकासको मुल फुटेको छ । जनताको समस्या सबैभन्दा बढी समाधान गर्ने स्थानीय तह भनेकै माओवादीले नेतृत्व गरेको स्थानीय तह हो । यो सबै किन भयो भन्दा यो एजेण्डा, यो नीति माओवादीको हो । माओवादीको नीति र माओवादीकै नेतृत्व भएको ठाउँमा राम्रो विकास भएको छ ।

माओवादीका जनप्रतिनिधिले स्थानीयस्तरमा र छिमेकी स्थानीय तहमा गरेको विकास निर्माण लगायतका सुशासन कायम गर्ने र अन्य काम कारबाहीलाई हेरेरै जनताले मत दिन्छन् । जनताको असली सेवक भनेकै माओवादी हो भन्ने गतिलो छाप अहिले जनतामा परेको पनि छ, यथार्थता पनि यही हो । त्यसकारण माओवादीलाई मत दिन्छ–दिन्छ ।

– तपाईले त माओवादीले जित्ने मात्रै कुरा गर्नुभयो, हार्न पनि सक्छ भन्ने चाहिँ लाग्दैन ?
चुनावमा हारजित स्वभाविक प्रक्रिया हो । तर, माओवादी यो देशको परविर्तनकारी शक्ति भएकाले माओवादीलाई चुनाव हार्ने छुट छैन । हामी कुनै पनि हालतमा चुनाव जित्नेगरी नै अगाडि बढेका छौँ । हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डले पनि यो चुनाव हार्ने छुट छैन भन्नुभएको छ । अधयक्ष कमरेडले यो चुनाव हामीले हार्दा देश हार्छ, गणतन्त्र हार्छ पनि भन्नुभएको छ । त्यसकारण पनि हामीलाई यो चुनाव हार्ने छुट छैन ।

– तर, गठबन्धन नगरी चुनावमा जाने हिम्मत नै गरेको छैन नि माओवादीले ?
यो अत्यन्त गलत कुरा हो । गठबन्धनबिना माओवादीले चुनावमा जाने हिम्मत नगरेको होइन । माओवादी एक्लै निर्वाचनको सामना गर्न तयार छ । यो मुलुकको राज्यवस्था नै परविर्तन गर्न सक्ने तागत बोकेको माओवादी निर्वाचनमा एक्लै चुनावमा लड्न सक्दैन भन्ने होइन ।

हामी एक्लै चुनाव लड्न डराएका छैनौँ । तर, अहिले हामी एउटा परिस्थितिबाट गुज्रिएका छौँ । एमालेले प्रतिगामी कदम उठाएका कारण हामी अहिले कांग्रेस लगायतका दलसँग गठबन्धनमा छौँ । राजनीतिक रुपमा यही गठबन्धन कायम गरेर जाँदा नै अहिलेको लागि उपयुक्त हुन्छ भन्ने हाम्रो निष्कर्ष हो । फेरि एमालेले अर्को प्रतिगामी कदम चाल्न नपाओस् भन्ने कुराको मध्यनजर गरेर पनि हामीले गठबन्धन कायम गर्नुपर्ने छ । तर, गठबन्धन भएन भने निर्वाचनमै जाँदैनौँ भन्ने कुरा चाहिँ होइन ।

– गठबन्धन माओवादीलाई मात्रै चाहिनेजस्तो पनि देखिरहेको छ नि ?
प्रष्ट कुरा के हो भने गठबन्धन माओवादीको लागि मात्रै चाहिएको होइन । गठबन्धनभित्रैका दलहरुलाई गठबन्धन माओवादीका लागि मात्रै चाहिने हो भन्ने लागेको पनि हुन सक्छ, यदि गठबन्धनभित्रका दलहरुलाई त्यस्तो लागेको छ भने त्यसको मूल्य महंगो पर्नेछ ।

कुरा यति हो, माओवादी गठबन्धनको विरुद्धमा छैनौँ÷हुँदैनौँ । हाम्रो बुझाईमा गठबन्धनभित्रका अरु दलका लागि पनि यो गठबन्धन आवश्यक छ । र, अन्य दलले आवश्यक ठान्दा हामी गठबन्धनको विरुद्धमा हुन्नौँ । तर, गठबन्धन केवल माओवादीलाई मात्रै आवश्यक परेको होइन ।

– काभ्रेमा माओवादी एक्लै लड्छ कि गठबन्धन बनाएर लड्छ ?
काभ्रेको हकमा हामी छलफलमा छौँ । हाम्रो मूल स्पिरिट भनेको गठबन्धन माओवादीका लागि मात्रै चाहिएको होइन । अरुले गठबन्धनको आवश्यकता महसुस गरे हामी त्यसको पक्षमा नै हुन्छौँ ।

– मिलेनियम च्यालेन्ज कर्पोरेशनको मामलामा माओवादीले जुन पोजिसन लियो, त्यसलाई समस्या पार्छ कि भन्ने लाग्दैन ?
एमसीसीको जुन प्रशंग उठाउनुभयो, त्यसमा हामीले लिएको पोजिसनले नै हामीलाई जनतामा जान सहज बनाएको छ । कांग्रेस एमालेले त एमसीसी जस्ताको तस्तै पास गर्ने भरिहेको थियो, हाम्रै कारणले त्यसमा संशोधन भएको छ । एमसीसी नेपालको कानुनसँग बाँझिएको खण्डमा तुरुन्त लागू नहुनेगरी मात्रै पास गर्ने अवस्था केवल माओवादी र प्रचण्डको कारणले भएको हो । त्यसकारण पनि माओवादीलाई एमसीसीको विषय लिएर जनतामा जान गाह्रो छैन ।

– अन्तिममा आम मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?
अब २८ दिनमा स्थानीय तहको निर्वाचन हुँदैछ । म आम मतदाताहरुलाई आफ्नो विवेकको भरपुर प्रयोग गर्न म अपिल गर्न चाहन्छु । कसैको लहड र बहकाउमा नलागीकन आफ्नो विवेकको प्रयोग गर्न विशेष अपिल गर्न चाहन्छु ।

त्यसैगरी यो मुलुकको परिवर्तनका लागि लडेको दल, स्थानीय सत्ता र सरकार ल्याउन लडेको दल माओवादी केन्द्रलाई आफ्नो अमूल्य मत दिनुहुनका लागि पनि म अपिल गर्न चाहन्छु ।

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार