संघीयता विरोधी केपी ओलीको प्रतिगामी यात्रा !

उज्यालो प्रतिनिधि ३० चैत्र २०७८, बुधबार समाचार

अन्ततः एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता विरोधी गठबन्धनको नेतृत्व गर्दै स्थानीय चुनावी मोर्चा बनाएका छन्। नेपाली जनता ऐतिहासिक जनआन्दोलनमा होमिएर सडकमा रगत बगाइरहँदा ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भन्दै टिप्पणी गर्ने ओलीले अहिले गणतन्त्रकै स्वाद चाख्दै परिवर्तनकारी शक्तिका विरुद्ध चुनावी मोर्चा तयार गरेका छन्।

एकातिर गणतन्त्रको स्वादचाख्ने र अर्कोतिर गणतन्त्रविरोधी शक्तिसँग चुनावी गठबन्धन गर्दै जनयुद्ध, जनआन्दोलन र विभिन्न आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरुमाथि धावा बोल्ने ओली प्रवृत्ति हिजोका राजावादी, घोर दक्षिणपन्थी, प्रतिगामी र हिन्दू अतिवादी शक्तिहरुसँग प्रष्ट रुपमा विलय हुन पुगेको छ।
बुधबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘ऐतिहासिक उपलब्धि उल्ट्याउने षडयन्त्रविरुद्ध अग्रगामी शक्तिहरुको एकता’ जरुरी भन्दै देशैभरि वाम–लोकतान्त्रिक गठबन्धनका पक्षमा वकालत गरिरहँदा राजधानीको एउटा कोठामा भने अर्कै सहमति भइरहेको थियो।यो सहमति थियो नेपालको संविधानको प्रस्तावनामै असहमति राख्ने राप्रपा नेपाल र नेकपा एमालेबीच स्थानीय तहको निर्वाचन गठबन्धन बनाएर लड्ने।
एकातिर वाम लोकतान्त्रिक गठबन्धनले धर्मनिरपेक्षता, संघीयता, समावेशी÷समानुपातिक प्रतिनिधित्व, गणतन्त्रलाई संस्थागत र सुदृढ गर्न गठबन्धन गरेको भन्दै सहमति ग¥यो भने अर्कोतिर आफूलाई वामपन्थी भनेर उफ्रिने एमाले र घोर दक्षिणपन्थी, धार्मिक अतिवादी कमल थापा नेतृत्वको राप्रपा नेपालबीच सहमति भयो।

बुधबार भएको दुई पार्टीबीचको सहमति अनुसार पहिलो बुँदामा देशभरिका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने र आफ्ना उम्मेदवार नभएका ठाउँमा राप्रपा नेपालले एमाले उम्मेदवारलाई सघाउने, राप्रपा नेपालका उम्मेदवारलाई पनि एमालेले सघाउने विषय दोस्रो बुँदामा समावेश गरिएको छ।

सहमतिको तेस्रो बुँदामा एमाले र राप्रपा नेपालका जिल्ला कमिटीहरूले आपसमा छलफल गर्ने र सहकार्यका लागि प्रस्ताव तयार गर्ने र आ–आफ्नो पार्टी केन्द्रमा पठाउने, केन्द्रीय तहको अनुमतिपश्चात् सहमति कार्यान्वयन गर्ने उल्लेख छ।
राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने र निर्वाचित भएपश्चात् पनि राप्रपा नेपालमा आवद्ध हुने चौथों बुँदामा समावेश छ। दुवै दलले सहमति कार्यान्वयनका लागि आ–आफ्नो पार्टीको तर्फबाट समन्वय र सहजीकरण गर्ने पनि सहमतिमा उल्लेख छ।
राजनीतिकरुपमा राप्रपा नेपालले अझै पनि गणतन्त्र नेपाललाई स्वीकार गरेको छैन। उसले जननिर्वाचित संविधान सभाबाट घोषणा गरिएको संविधानलाई नस्वीकार्ने र २०४७ सालको संविधान ब्यूँताउन खोज्ने शक्ति हो। अहिले पनि राप्रपा नेपालको मुख्य एजेण्डा भनेकै गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको खारेजी हो। त्यसको ठाउँमा राजतन्त्र, हिन्दू राज्य र एकल शासन व्यवस्थाको वकालत गरिरहेको शक्तिसँग एमालेले गठबन्धन गर्नु उसको एजेण्डालाई पनि स्वीकार गरेको प्रष्टै देखिएको छ।

आफ्नो पार्टीको विधान र दस्तावेजमा गणतन्त्र, समाजवाद अझ साम्यवादका कुराको रटान लगाउने एमाले राजतन्त्र, हिन्दू राज्य र केन्द्र शासित राज्यको एजेण्डा बोकेको प्रतिगामी शक्तिकहाँ जानु आफैमा प्रतिगामी कदम नै हो। यसले ओली र नेकपा एमालेको प्रतिगामी यात्रालाई झन मुखरित गरेको छ। दुईपटक संसद विघटन गरेर प्रतिगमन निम्त्याउन खोजेको आरोप लागेको एमाले साँच्चिकै प्रतिगमनकै सहयात्री रहेछ भन्ने राप्रपा नेपालसँगएकता गर्न पुगेपछि झन आलोचित बन्दै गएको छ। उसो त एमालेले जनयुद्ध र जनआन्दोलनको बलमा आएको परिवर्तन र परिवर्तनको यात्राका अगाडि टिक्न नसकेर बाध्यताले संघीयता स्वीकारेका थिए। उसो त ओलीले संघीयता आफ्नो चाहना नभएको उहिल्यै नै भन्दै आएका थिए। त्यसको व्यवहारिक पुष्टि अब निर्वाचनसँगै गरिएको प्रतिगामी गठबन्धनले प्रष्ट पारेको छ।
ओलीले विगतमा संसद विघटन गरेको घटना, संघीयताको विरोधमा दिएका कतिपय अभिव्यक्ति र अहिले राप्रपा नेपालसँगको चुनावी तालमेलले सत्तारुढ गठबन्धनले लगाउँदै गएको आरोपको पुष्टि गरेको अर्थमा समेत कतिपयले टिप्पणी गरिरहेका छन्।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार