म्याग्दी । यहाँका किसानले गरेको व्यावसायिक केरा खेतीमा दुईवर्ष अघिदेखि लागेको गवाँरो रोगको प्रकोप नियन्त्रणमा आउन नसक्दा केरा खेती गरेका किसानले हैरानी व्यहोर्न बाध्य भएका छन् । गतवर्षको चैत साउनमा पनि केरामा गवारो रोग लागेर कोसा लाग्ने बेलाका केराका बोट सुकेका थिए । गत साउनमा पनि खपटे घुन र गवारो रोगले क्षति पु¥याएको केरा खेती तङ्ग्रिन नपाउँदै पुनःरोग फैलिएपछि यहाँ केरा खेती गरेका किसान चिन्तित बनेका बेनी नगरपालिका– २ खबराका किसान शोभित शर्मा सापकोटाले बताए । उनले लगाएका ६०० केराका बिरुवामध्ये ६० भन्दा बढी गवारो रोगका कारण मरेका छन् ।
पश्चिम म्याग्दीको मङ्गला, मालिका, धौलागिरि गाउँपालिका र बेनी नगरपालिका–२ खबरा, बगरफाँट, वडा नं ४ सिङ्गा, थामडाँडालगायत जिल्लाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा कीरा र रोगको प्रकोप देखिएपछि किसान मारमा परेका बेनी नगरपालिका– २ बगरफाँटका किसान बेदप्रसाद उपाध्यायले जानकारी दिए ।
केरा गाउँको रुपमा परिचय बनाएको बेनी नगरपालिका– २ बगरफाँट गाउँमा खपटे घुन र गवारो रोगले सयौं रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका छन् । केरा खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका चन्द्रबहादुर कार्की केराका बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित छन । उनले सात रोपनी क्षेत्रफलको जग्गामा केरा खेती गरेका छन ।
खपटे घुनले केराको बोट सुक्दै जाने र उत्पादन पनि घट्दै गएपछि पेसा सङ्कटमा परेको किसान कार्कीले बताए । यहाँका किसानले धान फल्ने खेतमा केरा खेती सुरु गरेका हुन् । सुरुआती समयमा सामान्य देखिए पनि केही समयपछि भने खपटे घुन र गवारोले व्यावसायिक केरा खेतीमा ठूलो क्षति पु¥याएको उनको भनाइ छ । बगरफाँट र खबरामा मात्रै ४०० रोपनी क्षेत्रफलमा केराखेती गरिएको छ ।केरा बेचेर खबरामा वार्षिक रु ५० लाख भन्दा बढी भित्रिने गरेको छ ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।