काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम असुलेको पाइएको छ । उज्यालो नेटवर्क डटकममार्फत यस विषयमा समाचार प्रकाशित भएपछि समाचार हटाउनका लागि दबाब दिँदै टेलिफोनमार्फत श्रेष्ठ आफैँले आफूले रकम लिएको स्वीकार गर्दै बन्दाबन्दीका कारण उनीहरुलाई अष्ट्रेलिया पठाउन नसकेको बताएका छन् ।
श्रेष्ठ अध्यक्ष रहेको जिसिडि एचआर एण्ड म्यानेजमेन्ट कन्सल्टेन्सीले सन २०२० जुन २१ तारिखको दिन अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूको नक्कली अफर लेटर र भिसा बनाएर प्रति व्यक्ति ६ लाख देखि ८ लाख नेपाली रुपैयाँसम्म असुलेको पुष्टि भएको छ ।
प्राप्त सुचनाअनुसार श्रेष्ठले म्याग्दी घर भएका काजीमान बुढाथोकीलगायतका दर्जनौं युवाहरूमार्फत रकम असुलेका छन् । उनीहरुलाई करिब दुई वर्षदेखि अष्ट्रेलिया पठाउने सपना देखाएर श्रेष्ठले अलपत्र पारेका छन् ।
रोचक कुरा त के छ भने श्रेष्ठले ती युवाहरुको नाममा नक्कली भिसा बनाएर आँखामा छारो हालेको पाइएको छ । श्रेष्ठको जिसिडी एचआर एण्ड म्यानेजमेन्ट कन्सलटेन्सीले कोभिड महामारीको कारण अष्ट्रेलियाको सबै इमेग्रेसन बन्द भएको समय अष्ट्रेलियाको लागि ट्रली व्वाई र ल्यान्ड पोटरको लागि मान्छे चाहिएको भनेर विज्ञापन गरेको देखिएको छ । जुन आफैँमा शंकास्पद विषय हो ।
कोभिड १९ को कारण मार्च २०२० देखि जुलाई २०२१ सम्म अष्ट्रेलियाको सबै भिसा बन्द रहेको थियो । जुलाई २०२१ देखि डाक्टर नर्स जस्ता उच्च जनशक्तीको लागि अांशिक भिसा खुलाईएको थियो भने नोभेम्बर २०२१ बाट सर्बसाधारणको लागि खुल्ला गरिएको हो । तर, प्राप्त जानकारी अनुासर अस्ट्रेलियाको भिसा मार्च २०२० देखि नै बन्द रहेको र नोभेम्बर २०२१ बाट खुलेको पाइएको छ । अष्ट्रेलियाको भिसा चेक गर्ने वेबसाइटमा पनि श्रेष्ठले रकम लिएका युवाहरुको नामको भिसा जारी भएको छैन ।
यसरी हेर्दा दुबईमा बसेर श्रेष्ठले गैरकानुनी धन्दा चलाएको देखिन्छ । एक त विदेशमा बसेर विदेशमा रहेका नेपालीमाथि अन्यायपूर्वक पैसा असुल्ने र उनीहरुलाई २ वर्षसम्म अष्ट्रेलिया पठाउने सपना देखाएर उनीहरुको इमानदारितामाथि खेलेर श्रेष्ठले अमानवीय हर्कत गरेका छन् । संसार कोरोना महामारीको चपेटामा परेको बेला अष्ट्रेलियाको सपना देखाउने र त्यहीबीचमा पैसा असुल्ने श्रेष्ठको कदम अमानवीय र अव्यावहारिक दुवै छ ।
त्यसो त, ती युवाहरुले बारम्बार दबाब दिएपछि उनीहरुको नाममा नक्कली भिसा जारी गर्नेसम्मको गैरकानुनी काममा श्रेष्ठको संलग्नता देखिएको छ । भिसाजस्तो संवेदनशील कुरालाई नक्कली बनाउने र त्यसको दुरुपयोग गर्ने श्रेष्ठलाई अविलम्ब कारबाहीको दायरामा ल्याउनुपर्छ ।
समाचार प्रकाशित भएपछि पीडितलाई श्रेष्ठले आफूले असुलेको रकम फिर्ता गरेका छन् । त्यति मात्रै होइन, आफ्नो गैरकानुनी धन्दा छोप्नका लागि पीडितको तर्फबाट आफ्नो बचाउ गर्नेगरी श्रेष्ठले विज्ञप्ति जारी गर्न लगाएका छन् ।
सकेसम्म कानुन हातमा लिएर अपराधिक गतिविधि गर्ने र त्यसमा असफल भएपछि पीडितलाई हातमा लिएर आफूअनुकुल विज्ञप्ति जारी गर्न लगाउनेसम्मको काम गरेर श्रेष्ठले फेरि अर्को चतुर्याई देखाएका छन् ।
त्यसो त, बाध्य परेर आज कसैमार्फत गैरकानुनी ढंगले असुल गरेको रकम फिर्ता गरेका श्रेष्ठले भोलिका दिनमा फेरि अर्को गैरकानुनी धन्दा चलाउँदैनन् भन्ने अवस्था छैन । त्यसैले रमेश श्रेष्ठका सम्पूर्ण गतिविधिमाथि विद्यमान कानुनअनुसार आवश्यक छानबिन अपरिहार्य छ । सरकारले उनको सबै गतिविधिको छानबिनपछि उनको गैरकानुनी धन्दामाथि रोक लगाउनुपर्छ । अन्यथा, विदेशमा फेरि अन्य नेपाली ठगिने क्रम रोकिने छैन ।
-अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।
१.श्रेष्ठको डरलाग्दो ठगी धन्दा ! अष्ट्रेलिया पठाउछु भन्दै दर्जनौं युवाहरू दुबईमा अलपत्र
२. नेपाल एसोसिएसन युएईका अध्यक्ष श्रेष्ठलाई कारबाहीको माग गर्दै दूतावासमा निवेदन