माओवादी पुनर्निर्माणको मापनविन्दु

बुद्ध लोप्चन १ माघ २०७८, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा २४६ सदस्यीय केन्द्रीय समिति छान्दै सकिएको माओवादी केन्द्रको आठौँ महाधिवेशन मुल रुपमा वैचारिक बहस र विमर्शमा केन्द्रित रह्यो ।

११ पुस २०७८ बाट सुरु भएको महाधिवेशनमा माओवादी केन्द्रले बन्दसत्रको पाँच दिनसम्म प्रचण्डले पेश गरेका ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ नामक राजनीतिक दस्तावेजमाथि घनिभूत छलफल चलाए । नेतृत्व निर्माणको दृष्ट्रिमा जे–जस्तो देखिए पनि वैचारिक विमर्श र छलफलका दृष्ट्रिमा माओवादी केन्द्रको महाधिवेशन एउटा उचाईमा पुगेर सम्पन्न भएको छ । यस अर्थमा पनि हामीले यति भन्न सक्छौँ कि यसअघि सम्पन्न नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशनमा अबको वैचारिक कार्यदिशाबारे कुनै छलफल नभएको अवस्थामा माओवादी केन्द्रको महाधिवेशन प्रतिनिधिबीच अबको वैचारिक कार्यदिशाबारे घनिभूत छलफल भयो ।

१० वर्षको सशस्त्र विद्रोह (जनयुद्ध)को जगमा स्थापित माओवादी पछिल्लो डेढ दशकभन्दा लामो समय विचारशुन्य अवस्थामा थियो । ०५७ सालमा भएको तत्कालीन नेकपा (माओवादी) को दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनमा तत्कालीन महासचिव प्रचण्डले ‘एक्काइसौँँ शताब्दीको जनवाद’ नामक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसयता माओवादीले औपचारिक रुपमा त्यस्तो कुनै पनि वैचारिक छलफल गर्न सकेको थिएन । ०५६ मा माओवादीले पार्टीले सुरुदेखि सार्दै आएको जनवादी गणतन्त्रको ठाउँमा लोकतान्त्रिक गणतन्त्रको अवधारणा स्विकारेको थियो ।

त्यसपछिका २१ वर्षको अवधिमा माओवादी विभिन्न टुक्रामा विभाजित भयो । ०५७ सालमा अंगीकार गरेको ‘एक्काइसौँ शताब्दीको जनवाद’को जगमा माओवादी केन्द्र २०६४ सालमा मुलुकको पहिलो दल बन्यो । त्यसयता रक्षात्मक अवस्थामा धकेलिएको माओवादी आजसम्म रक्षात्मक बनिरहेको छ । माओवादी केन्द्र अहिलेको ‘तेस्रो पोजिसन’बाट ‘पहिलो पोजिसन’मा उक्लिनका लागि माओवादीले यो महाधिवेशनमा घनिभूत छलफल चलाएका छन्, तर माओवादीका अहिलेका ‘चित्र’ले माओवादीले आफूलाई ‘तेस्रो पोजिसन’बाट ‘पहिलो पोजिसन’मा ल्याउन सम्भव छ ? आठौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुको अगाडि उभिएको सबैभन्दा महत्वपूर्ण प्रश्न हो, यो ।

विचार शुन्यताकै अवस्थामा माओवादी छिन्नभिन्न बन्यो । एकले अर्काले नेतृत्व अस्वीकार गर्ने तहमा पुगेर माओवादीका शीर्ष नेतृत्वहरु आफ्नो नेतृत्वमा पार्टी खडा गर्ने प्रतिष्पर्धामा पनि देखिए । जे जस्तो भए पनि आजको दिनमा माओवादी बिउ जोगाउनेमा प्रचण्ड नै पर्छन् । सत्ताशीर्षको रुपमा माओवादीको वर्चश्व प्रचण्डले कायमै राखेका छन् । माओवादीको बिउ जोगाइराखेका प्रचण्डकै नेतृत्वमा फेरि माओवादी केन्द्रको नेतृत्व पुगेको छ, अब माओवादी आन्दोलन पुर्ननिर्माण र पुर्नगठन कति सम्भव छ ? प्रश्न मुल नेतृत्वको कारणले प्रचण्डतिरै फर्किएको छ ।

कस्तो माओवादी ? कस्ता बने ?
हिजोका माओवादी कस्ता थिए ? आजको माओवादी कस्ता बने ? माओवादीका मुल नेतृत्व र कार्यकर्ताहरुले महाधिवेशनको हलमा यो प्रश्को जवाफ खोज्ने चेष्टा गरे पनि यसको ठोस जवाफ माओवादीले दिन सकिरहेको छैन । माओवादीको चित्र र चरित्र हिजो र आज किन बदलियो ? त्यही बदिलिएको चित्र र चरित्रका कारण माओवादी कहाँबाट कहाँ आइपुग्यो ? र, भविष्यमा कता जाँदैछ ? माओवादीले महाधिवेशनमा अपुग बहस गरेको विषय हो यो ।

हिजो जता पनि जस्तो पनि ठाउँमा रहन वा बस्न रुचाउने, हिजो जुन पनि र जस्तो पनि काम गर्न अघि सर्ने माओवादी आज किन पद र पैसाको पछाडि दौडिरहेका छन् ? हिजो जनताको झुपडीमा पुगिरहने माओवादी आज जनताको घरदैलो भन्दा पनि काठमाडौंका रेष्टुरेन्टमा मात्रै किन भेटिन थालेका छन् ? माओवादीको आठौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य आफैँले आफैँलाई यी प्रश्न कति पटक सोध्न सक्छन् ? र, आफूले आफैँलाई सोधिएको प्रश्नको जवाफ कसरी दिन्छन् ?

हो, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आत्माआलोचनाको धेरै शब्द बोलेका छन् । ‘आफ्नै टाउकोमा आगो लगाएर हिडन् तयार’ भएकोसम्मका विषय प्रचण्डले महाधिवेशन प्रतिनिधिसमक्ष राखेका छन् । आफ्नै प्रतिवेदनमा आफ्नै बारेमा निर्मम आलोचना पनि गरेका छन् । के अब, प्रचण्डभन्दा तल रहेका हरेक नेता र कार्यकर्ताहरु प्रचण्डले भनेझैँ ‘आफ्नै टाउकोमा आगो लगाएर हिडन् तयार’ छन् ? आफ्नो कमिटिमा प्रचण्डलेझैँ आफ्नैविरुद्ध आलोचनाका शब्दहरु लेख्न र बोल्न सम्भव छ ? माओवादी आन्दोलन पुनर्निर्माणको मापन यहीँ बिन्दुबाट हुनेवाला छ ।

त्यसो त, माओवादीले आत्मसमीक्षा र आत्मआलोचना गर्नुपर्ने विषय धेरै छ । हिजो जनताको घर–घरमा पुगेर उनीहरुको काममा सघाउने माओवादी, आज कहाँ छन् ? हिजो जनताको बीचमा गएर ‘जनसरकार’को भूमिका निभाउने माओवादी कहाँ छन् ? हिजो अन्याय र अत्याचारमा रुमलिरहेकाहरुलाई दण्डित गर्ने माओवादी कहाँ लुकेका छन् ? हिजो जनताको खेतीपातीमा सघाउने माओवादी कहाँ छन् ? यी ब्रेगल्ती प्रश्नको बीचमा माओवादीका नवनिर्वाचित केन्द्रीय समिति घेरिएको छ ।

१० वर्षको जनयुद्धबाट उदाएको माओवादी र तिनका नेतृत्वको चित्र र चरित्र किन बदलियो ? माओवादी आखिर किन माओवादीजस्तो भइरहेको छैन ? माओवादीले निर्मम समीक्षा गर्न जरुरी छ । माओवादी पार्टी र त्यसका नेतृत्वले आफूहरुलाई मुलुकका आदिवासी जनजाति, उत्पीडित वर्ग, महिला, थारु, मधेसी अनि दलितको अग्रदस्ताको रुपमा निरन्तर खडा गरिरहनुपर्नेमा किन त्यसो भइरहेको छैन ? कतै माओवादीलाई मुलुकका पुँजीपति वर्गको पनि नेतृत्व पनि आफैँ हुँ, यहाँका राजा महाराजा भनिनेहरुको नेतृत्व गर्ने पार्टी पनि माओवादी नै हो, विदेशीहरुलाई समेत हामी नभई हुँदैन, त्यसो हुँदा विदेशीहरुको समेत नेतृत्व र र पार्टी हामी नै हो ? भन्ने भ्रम त परेन ? माओवादीले निर्मम समीक्षा गर्न जरुर छ ।

त्यसकारण माओवादीहरु आफैँ रुपान्तरित हुने हो भने पहिला आफ्नो चरित्र बदल्न जरुरी छ । हिजोको चरित्र र चित्रमा माओवादी जान जरुरी छ । माओवादी गाउँ फर्किन जरुरी छ, अनि जनताको झुपडीमा पुग्न आवश्यक छ । सहरका दुइचारजना व्यापारीसँग दिनहुँ छलफल गर्ने, यो काम भयो भने कति कमिशन आउँछ भन्ने ढंगबाट बिताइरहेको दिनचर्यालाई माओवादीले निरन्तरता दिने हो भने माओवादी आन्दोलन पुर्नगठन र पुनर्निर्माण सम्भव छैन/हुँदैन ।

‘म र मेरोे’ घेरामा माओवादी
मुल रुपमा माओवादी अहिले ‘म, मेरो अनि मैले’ घेराभित्र कैद भएको छ । वडादेखि केन्द्रीय महाधिवेशनसम्मको माओवादी महाधिवेशन हेर्दा माओवादीभित्र ‘म र मेरो घेरा’ले जरा गाडेको चित्र प्रष्ट देखिएको छ ।

महाधिवेशनमा आएर प्रचण्डको जोडबलका कारण माओवादीभित्र ‘अबको विचार र नीति’बारे बहस भएको देखिए पनि वडादेखि, पालिका र प्रदेशसम्मको सम्मेलनमा विचारको बहस हुँदै नभएको देखिन्छ । मात्रै मेरो पद के हुने हो ? मेरो योगदानको कदर हुने कि नहुने ? म भएन भने प्रचण्डको स्पिरिट अरुले समाउनै सक्दैनन् भन्नेजस्ता कथन मात्रै सुनिए । अबको पार्टीको नीति र नेतृत्व कस्तो हुनुपर्छ ? समकालीन नेपाली समाजलाई कस्तो र कुन तहको विचारले नेतृत्व गर्न सक्ला ? यसबारे कतै बहस भएको पाइएन/सुनिएन ।

माओवादीलाई साँच्चै पुर्नगठनमा लैजाने हो, माओवादीलाई साँच्चै पुर्ननिर्माण गर्ने हो भने माओवादीले झांगिदै गएको ‘म र मेरो’घेरालाई तोड्नुपर्छ । म र मेरो घेरा त्याग्न र भत्काउन सक्छ कि सक्दैन ? महाधिवेशनभित्र रहेका आम प्रतिनिधिहरुले यो प्रश्न आफैँलाई एकपटक सोध्नुपर्ने अवस्था छ । ‘म कुनै पनि पदबिना नै पार्टीको काममा क्रियाशील रहन्छु, मेरो जोड विचार र नीतिमा हो, पार्टी निर्माणमा हो, पद र प्रतिष्ठामा होइन’ भन्नेबाट माओवादीले रुपान्तरण थाल्नुपर्छ । होइन भने माओवादी आन्दोलन पुर्नर्निर्माण र पुर्नगठन निकै टाढाको विषय रहनेछ ।

निष्कर्ष
निष्कर्षमा माओवादी पुर्नगठन र पुनर्निर्माण सम्भव छैन भन्ने होइन । आजकै चित्र र चरित्रले माओवादी हिजोजस्तो माओवादी बन्न सम्भव छैन । यदि माओवादीलाई साँच्चैको माओवादी बनाउने हो भने माओवादीले आफैँबाट समीक्षा र आलोचनाको सुरुवात गर्न सक्नुपर्छ ।

जसरी प्रचण्डले ‘माओवादी आन्दोलन कमजोर हुनुको प्रमुख दोषी मै हुँ’ भनेर आत्मआलोचना गरेका छन्, यही तहमा सबै नेतृत्वले जनताको बीचमा गएर आलोचित हुन तयार भए माओवादी आन्दोलन पुर्नजागृत हुन सम्भव छ ।

महाधिवेशनबाट पारित विचार लिएर माओवादी नेतृत्व र कार्यकर्ताहरु जनताको झुपडीमा जाने, हिजोजस्तै गरी किसानको खेतीपातीमा सघाउने र जनताको समस्या समाधानका लागि जतिबेला पनि उपलब्ध हुने हो भने माओवादी फेरि जागृत हुन सम्भव छ । र, महत्वपूर्ण पक्ष अहिलेको समाजको आवश्यकता र आजको समाजलाई समाजवादको बाटोमा कसरी लैजाने भन्ने अध्यक्ष प्रचण्डको प्रतिवेदनअनुसार नेतृत्व र कार्यकर्ताले भुई तहबाट त्यसको कार्यान्वयन थाल्ने हो भने माओवादी अवश्य पुर्नगठित र पुर्ननिर्माण हुन सम्भव छ । महाधिवेशनमा माओवादी र नेतृत्वले गरेको आत्मसमीक्षा र आलोचनालाई पनि निर्धक्क जनताको बीचमा लैजानुपर्छ । होइन, भने आजकै चित्र र चरित्रमा बस्ने हो भने माओवादी अहिलेको ‘तेस्रो पोजिसन’बाट ‘पहिलो पोजिसन’मा उक्लिन सजिलो छैन । -यो लेख २०७८ साल पुस ३० गतेको नागरिक दैनिकमा पनि प्रकाशित छ । 

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *