रुसमा बढ्दो सोभियत ‘नोस्टाल्जिया’

उज्यालो प्रतिनिधि २४ पुष २०७८, शनिबार

रुसी पुरानो पुस्ता सोभियत संघलाई लिएर ‘नोस्टाल्जिक’ भएका छन् भने नयाँ पुस्तामाझ सोभियत संघले एक दन्त्यकथाको तिलस्मी मुलुकको छवि बनाएको छ,जब सोभियत संघको विघटन भयो, तब विघटन एकदमै स्वाभाविक एवं नियमितजस्तो देखिने घटना बन्न पुग्यो । २५ डिसेम्बर १९९१ मा मिखाइल गोर्बाचेभले सोभियत संघका नागरिकलाई सम्बोधन गरेर राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । सोही दिन राष्ट्रपति निवास क्रेमलिनबाहिर साँझ ७ः३० बजेपछि हावामा फरफराइरहेको सोभियत झन्डालाई खम्बाबाट तल झारिएको थियो । करिब पाँच मिनेट क्रेमलिनको आँगन झन्डाविहीन रहेको थियो र झन्डाविहीनताले राजनीतिक संक्रमण संकेत गरिरहेको थियो । बेलुका ७ः४५ रुसी झन्डाको झन्डोत्तोलन गरिएको थियो ।

भोलिपल्ट अर्थात् २६ डिसेम्बर १९९१ मा सोभियत संघ औपचारिक रूपमा विघटन भयो । म जन्मेको साम्राज्यको विघटनसँगै मेरो जीवनको पहिलो २६ वर्ष पनि पूरा भयो । मेरो परिवारले भोगेको दोस्रो विश्वयुद्ध र स्टालिनको दमनकारी तानाशाहीबाट भएको क्षतिको वृत्तान्तले पनि आफूलाई बिर्सायो । सन् १९९१ अगस्टमा भएको ‘कु’को असफल प्रयासपछि मेरा लागि सोभियत संघ इतिहासका पानामा सीमित रहन गयो । गोर्बाचेभले प्रयास नगरेका होइनन्, तर मुलुकको कमान उनका हातमा थिएन । मन्त्री एवं क्षेत्रीय नेताहरू एक–अर्कालाई मुलुकमा खाद्य सामग्री अभाव भइरहेको र भोकमरीको सामना गर्नुपरेको व्यहोरासहितका भयाक्रान्त चिठी लेखिरहेका थिए ।

रुसले सुधारवादी सरकार निर्माण सुरु गरिरहेको थियो । भर्खर–भर्खर पत्रकारितामा पाइला टेकेको म यस परिवर्तनले उत्साहित भइरहेको थिएँ । मैले काम गर्ने दैनिकमा सुधारकहरूले के–के सुधार गरिरहेका छन् भनेर दैनिक रिपोर्टिङ गर्थे । मेरा जेठा दाइ प्रमुख सुधारक येगोर गैदार (जो पछि प्रधानमन्त्री पनि भए) का सल्लाहकार बन्न पुगे । संक्रमण पार गर्न मुलुकले ठूलो अप्ठ्यारो झेलेको थियो, तर जनताका महत्वाकांक्षा बिस्तारै खिइँदै गए र रुसको ठूलो हिस्साले पुँजीवादले तत्काल खुसी ल्याउन नसकेको पाए । यति हुँदाहँुदै पनि सन् १९९३ को वसन्तमा भएको जनमत संग्रहमा मानिसले सुधारवादलाई मत दिए र त्यही वर्षको शरद याममा सुधारवादी पार्टी भ्योबर रोस्सी संसद्मा सबैभन्दा ठूलो स्थान बनाउन सफल भएको थियो । रुसमा उदारवादीहरू सफल भएको यो नै अन्तिम घटना थियो ।

सोभियत विघटनको चार वर्ष नपुग्दै सन् १९९४ मा युरी लेभाडाको नेतृत्वका समाजशास्त्रीहरूको अध्ययन समूहले रुसी नागरिकको मनोवृत्तिमा परिवर्तन भएको पाएका थिए । मानिसले व्यापारसँग जोडिएर आउने जोखिमलाई मध्यनजर गर्दै व्यापारका तुलनामा चुपचाप जागिर गर्न रुचाएका थिए । समय बित्दै जाँदा उल्लेख्य संख्याका रुसीहरू सोभियत अतीत नै राम्रो थियो भनेर सम्झिन थाले अर्थात् नोस्टाल्जिक हुन थाले । नयाँ वर्षमा टिभी कार्यक्रममा सोभियत गीत बज्न थाले, रेस्टुराँहरूमा सोभियत उत्तर–आधुनिकता झल्काउने मेनु लोकप्रिय हुन थाल्यो । अतीतको उत्साहले मूर्तरूप पाउनेमा मानिसहरू खासै गम्भीर थिएनन्, तर सन् २००० मा भ्लादमिर पुटिन नयाँ राष्ट्रपति बन्दा उत्साहले थोरबहुत मूर्तता पाउन थाल्यो । पुटिनले सोभियतकालको राष्ट्रगानको एक संस्करणलाई पुनस्र्थापित नै गरिदिए, जुन अहिलेसम्म गुन्जिरहेको छ ।

सोभियतको प्रेतलाई ब्युँझाउने राष्ट्रपतिका क्रियाकलाप राष्ट्रगानमा मात्रै सीमित छैनन् । पुटिनले सन् २००५ को चर्चित सम्बोधनमा सोभियत विघटन २०औँ शताब्दीको ‘सबैभन्दा ठूलो राजनीतिक क्षति हो’ भन्दै दुःख व्यक्त गरेका थिए । दुई वर्षपछि उनले म्युनिखको एक भाषणमा पश्चिमाहरूबाट रुस तिरष्कृत भएको बताएका थिए । पुटिनको यी अभिव्यक्तिले ‘मेक अमेरिका ग्रेट अगेन’को झल्को दिन्थ्यो, अर्थात् रुसको गौरवलाई फर्काऊ भन्ने अर्थ दिन्थ्यो । घरेलु श्रोताहरूले पुटिनका अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएका थिएनन्, किनभने जनता सन् २००० को दशकको आर्थिक वृद्धि एवं उच्च तेल अर्थतन्त्रको आनन्द लिइरहेका थिए ।

पुटिनको लोकप्रियतामा ह्रास आउँदै गयो र रुसको आधुनिकीकरण अवश्यम्भावी हुन थाल्यो । यद्यपि, सन् २००८ मा जर्जियासँग भएको सानो युद्धले पुटिनलाई थोरै भए पनि फाइदा गरायो । तर, यो फाइदा धेरै टिकेन र सन् २०१२ मा सहरिया वर्गका मानिसबाट पुटिनले अभूतपूर्व विरोध खेप्न पुगे र उनले घोर पुरातनपन्थी नीति झल्काउने गरी प्रोपागान्डा गर्न थाले । सो प्रोपागान्डामा रुसको तथाकथित विजयी सोभियत इतिहासले महत्वपूर्ण हिस्सा ओगटेको थियो/छ ।

सन् २०१४ मा क्रिमियामाथि अतिक्रमण गरेर रुसमा गाभ्नुलाई ‘रुसी साम्राज्यको पुनस्र्थापना’का रूपमा चित्रित गरियो । अधिकांश रुसी नागरिकका मनमा साम्राज्यवादी महत्वाकांक्षा सुषुप्त रहेको थियो र पुटिनले यो महत्वाकांक्षालाई कुशलतापूर्वक जगाउने काम गरे । क्रिमिया युद्धको असर फिका पर्न थालेपछि पुटिनले सोभियत नोस्टाल्जिया ब्युँताउन थाले, जहाँ स्टालिनको शासनकाल विशेषतः महान् देशभक्तिपूर्ण युद्ध (ग्रेट पेट्रियोटिक वार) लाई रुसको विजयी इतिहासका रूपमा देखाउन थाले ।

स्वतन्त्र संस्था लेभाडा सेन्टरको सन् २०२१ सेप्टेम्बरको एक अध्ययनअनुसार सर्वेक्षणका करिब आधा रुसी (४९ %) उत्तरदाताले सोभियतकालीन राजनीतिक व्यवस्था छनोट गरेका थिए । उल्लिखित सर्वेक्षण सोभियत समर्थनमा आएको मत यो शताब्दीकै कीर्तिमानी नतिजा हो । चाखलाग्दो के छ भने कार्नेजी मस्को सेन्टर र लेभाडाको हाम्रो शोधले सबै पुस्ताका मानिसमा सोभियतसम्बन्धी कुनै किसिमले पनि भिन्न धारणा देखिएन ।

पुरानो पुस्ता सोभियत संघलाई लिएर नोस्टाल्जिक भएका छन् भने नयाँ पुस्तामाझ सोभियत संघले एक दन्त्यकथाको तिलस्मी मुलुकको छवि बनाएको छ । अर्थात् नयाँ पुस्ताका नागरिकमा सोभियत संघमा सबै मानिस समान एवं स्वतन्त्र हुन्छन् र सख्त तर पितासमान शासकले शासन गर्छन् भन्ने आदर्श राज्यको छवि गढेको छ । मानिसहरू न्यायपूर्ण समाजको सपना देखिरहेका छन् र रुसी जनताले सोभियत प्रणालीबाहेक अन्य विकल्प नै भेटिरहेका छैनन् । सिएनएनबाट

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *