गएको केन्द्रीय समितिको बैठकले हामीले अब पार्टी बनाइ छाड्ने, पुरानै ठाउँमा पुर्याउने संकल्प गरेका थियौँ । वैचारिक राजनीतिक रुपले पनि हामी एउटा नयाँ संश्लेषण २१ औँ शताब्दीमा समाजवादको हाम्रो कार्यदिशा, कार्यनीति, रणनीति, अर्थतन्त्र, संस्कृति, राजनीतिका बारेमा पनि हामी एउटा निष्कर्षमा पुग्ने संकल्प गरेका छौँ । संगठनमा यस बीचमा देखा परेको निष्क्रियता, असन्तुष्टि, एकखालका अराजकता या गुटबन्दीको जुन अवस्था देखिएको छ, यसलाई अन्त्य गर्ने संकल्प पनि हामीले केन्द्रीय समितिबाट गरेका थियौँ ।
देशभरीका हालसम्मको प्राप्त रिपोर्टअनुसार हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) पुनर्गठन र पुर्ननिर्माणको महाअिभयानमा एउटा महत्वपूर्ण पाइला सुरु भएको छ । अब पार्टी निर्माण हामीले जुन स्पिरिटमा गर्न खोजेको हो, त्यही अनुसार अगाडि बढेको छ । हाम्रो पार्टी केही निष्क्रिय हुँदा, संगठनात्मक रुपले केही अस्तव्यस्त हुँदा, हाम्रा केही कमरेडहरुमा कन्फिडेन्सको लेबलमा कमी आउँदा प्रतिक्रियावादीहरुले कसरी टाउका उठाउँदा रहेछन्, प्रतिक्रान्तिकारीहरु र अवसरवादीहरुले कसरी आफूलाई प्रस्तुत गर्दा रहेछन् भन्ने कुरा तपाई हामी सबैले भोग्यौँ ।
गतसालदेखि प्रतिगमनको जुन प्रहार नेपाली जनताले भोग्नपर्यो र त्यसको जसरी प्रतिवाद गर्यौ, यो अनुभवले के देखाउँछ भने माओवादी पार्टी कमजोर हुँदा हामीले प्राप्त गरेको उपलब्धि कुनै पनि बेला उल्टिन सक्ने रहेछ । प्रतिनिधिसभाको पटकपटकको विघटन, पहिलोचोटी नेपाली जनतालाई सार्वभौम अधिकार सम्पन्न जनता मानेको संविधान (परिमार्जन गर्नुपर्ने, संशोधन गर्नुपर्ने कुरा छँदैछ), गणतन्त्र, संघीयता, समावेशिता, समानुपातिकता, धर्मनिरपेक्षतालाई सगौरव आत्मबोध गरेको संविधानलाई रक्षा गर्नु र यो संविधानलाई सुदृढ गर्दै परिमार्जन गर्दै समाजवादतिर जाने परिकल्पना पनि संविधानको छ । त्यो संविधानअनुसार हामी समाजवादतिर अगाडि बढ्नु हाम्रो ऐतिहासिक दायित्व हो ।
तर यो बीचमा हामी निष्क्रियजस्तो, आफ्ना मुद्दाहरुको जति गम्भीरतासाथ हामीले स्वामित्व लिनुपर्ने हो, जुन गर्वका साथ जनताको बीचमा लानुपर्ने, र संगठनलाई बलियो बनाउँदै लैजानुपर्ने हो, यसमा हामीमा केही कमजोरी भयो । हामीले माथिबाट त ठूलाठूला सपना देख्यौँ । देशमा बृहत कम्युनिष्ट एकता गर्ने, बृहतर रुपमा राजनीतिक स्थिरता कायम गर्ने, सामाजिक न्याय र समाजवादको आधार निर्माण गर्न समृद्धिको महान यात्रा अगाडि बढाउने सपना त राम्रै देख्यौँ । तर हामीले एकतामा जति जोड दियौँ, हामीले आफ्नो विचार र संगठनलाई सुदृढ गर्ने कुरामा जोड दिन सकेनौँ । यसमा जिम्मेवारी लिनुपर्ने केन्द्रीय नेतृत्वले हो, केन्द्रीय कमिटिले हो, पार्टी हेडक्वार्टरले हो, मैले नै यसको नैतिक जिम्मा लिनुपर्ने हुन्छ ।
हामीले ठूलाठूला कुरा गरिरह्यौ तर आफ्नो संगठन, आफ्नो जनआधार, हाम्रा सहिद, वेपत्ता योद्धा, घाइते अपांग लगायतका परिवारलाई हिजोका जनयुद्धमा साथ दिएका मजदुर किसानलाई जति ध्यान दिनुपर्ने थियो, हाम्रो मुद्दालाई जनताको बीचमा गम्भीरताका साथ लैजानुपर्ने कुरामा हाम्रो कमी भयो । त्यो कारणले गर्दा प्रतिक्रियावादी र अवसरवादीहरु, जो हिजो जनयुद्ध र जनआन्दोलनका बेलामा परास्त भएका थिए उनीहरु हामी कमजोर हुँदा आफ्नो सक्कली रुपमा देखा पर्न खोजे, जुन स्वभाविकै हो ।
माओवादी विभाजित भयो, टुटफुटमा गयो, माओवादीले आफ्नो एजेण्डाप्रति गर्व गर्न छोड्यो, आफ्ना एजेण्डाहरुलाई दरोसँग समात्न छोड्यो, माओवादीले जनसम्बन्धलाई सुदृढ पार्नुको साटो आफ्नै व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठाको पछि नेता कार्यकर्ता दौडिन थाले भन्ने देखिसकेपछि प्रतिक्रियावादीहरुले टाउको उठाउन खोजे । गतसालको सेटिङ, प्रतिनिधिसभाको विघटन, संविधानलाई खारेज गर्ने कोसिस, संविधानका प्रगतीशील कानुनहरुलाई कुल्चिने र च्यात्ने जमर्को जे गरियो, त्यो संविधानकाविरुद्ध गरिएको मात्रै होइन, माओवादी आन्दोलनलाई विध्वंस गर्ने कदम थियो । कमरेडहरु हामीले त्यसलाई अलि ढिलोगरी त्यसलाई आत्मसात गर्यौ । गलत विचार, गलत प्रवृत्ति र गलत तत्वकाविरुद्ध लडाइ लड्नुपर्छ भनेर हिजोदेखि नै हामीले विद्रो सुरु गरेको पनि हो । हामीले ठूलाठूला सफलता प्राप्त गरेको पनि हो ।
त्याग र बलिदानका इतिहासमा अभूतपुर्व कीर्तिमान पनि हामीले कायम गरेको पनि हो । तर, हामी विभाजित हुँदा अलिकति कमजोर हुँदा प्रतिक्रियावादीहरुले कसरी टाउको उठाउँदा रहेछन् भन्ने देख्यौँ हामीले एकदमै नजिकबाट । त्यो देखेपछि हामीले सहेर बसेनौँ । त्यसकाविरुद्ध क्रान्तिको झण्डा उठाउनुपर्छ, जनताको बीचमा जानुपर्छ भन्ने संकल्प गर्यौ । यो प्रक्रियाको नेतृत्वको हैसियतले युद्धको पनि, शान्तिको पनि, संविधानको पनि निर्वाचनको पनि नेतृत्वको हैसियतले सबभन्दा पहिला हामीले नै केन्द्रीय समितिको तर्फबाट सडकमा जाने र गलत प्रवृत्तिका विरुद्ध विद्रोहको झण्डा उठाउने पहल गर्यौ ।
जब हामी फेरि एकपटक सडकमा गयौ र सडकबाट हामीलाई जनतालाई अपिल गर्दै भन्यौँ, ‘हामी तपाइहरुकै छोरोछारी हौँ, हामीमा अलिअलि धुलो मैलो होला, हामी त्यसलाई पखाल्छौँ तर प्रतिक्रियवादी र प्रतिक्रान्तिकारीहरुको षड्यन्त्र कुनै पनि हालतमा सफल हुन दिन्नाँै भन्ने प्रतिबद्धता र संकल्प गर्छौ ।’ यति गरेपछि एक डेढ महिनाभित्र देशैभरी जनतामा फेरि विश्वास, समर्पण र लहर देखा पर्यो । काठमाडौंका तीनवटा जनप्रदर्शन र विरोधसभामा लाखौँ जनता उर्लिए ।
प्रतिक्रियावादीहरुले अझै ढिला गरेको भए वा त्यो प्रतिनिधिसभा विघटनलाई खारेज नगरेको भए त्योभन्दा डबल, टेबल हुँदै जनता उत्रिने मनस्थिति बनेको हामीले देख्यौँ । माओवादी जनयुद्ध र ऐतिहासिक जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउन खोज्ने निरंकुशतावादी षड्यन्त्रविरुद्ध हामीले सफलता प्राप्त गर्यौ । त्यसपछिको विघटनमा हामीले गठबन्धन बनाएर अहंकार र दम्भले पूरै ग्रस्त भएका तत्वहरुलाई बालुवाटारबाट गलहत्याएर बालकोटमा र देशैभरीका ७ वटै प्रदेशबाट गलहत्याएर उनीहरुलाई घरघरमा पु¥याउने काम नेपाली जनताले गरेकै हो । र, त्यसको नेतृत्व हाम्रो पार्टी र त्यसको नेतृत्वले फेरि एकपटक जनतामा, फेरि एकपटक क्रान्तिकारीहरुमा एउटा नयाँ आशा, भरोसा र विश्वास पैदा हुँदैछ ।
अन्य विपक्षी पार्टी, आम बुद्धिजीवी नागरिक, देशभित्र मात्रै होइन बाहिर पनि, कम्युनिष्ट आन्दोलनभित्र मात्रै होइन बाहिर पनि माओवादी केन्द्रले मात्रै राष्ट्रलाई एकताबद्ध राख्न सक्छ, माओवादी केन्द्रले मात्रै परिवर्तनका एजेण्डाहरुलाई, उपलब्धिहरुलाई जोगाउन सक्छ भन्ने विश्वास पैदा भएको छ । यो सामान्य कुरा होइन, यो ठूलो मूल्य चुकाएर हामीले प्राप्त गरेका छौँ ।
मैले केन्द्रीय समितिमा प्रस्ताव पेश गरेर पार्टी पुनर्निर्माणको महाअभियानमा हामी लाग्नैपर्छ, हामीमा केही न केही धुलोमैलोमा लाग्यौ, केही न कमीकमजोरी हामीबाट भयो, हामीले अरुलाई देखाएर वा भनेर होइन, पार्टीभित्र पहिला आफ्नै आत्मसमीक्षाबाट सुरु गरौँ, मैले के कति राम्रो गरे, मैले के कति नराम्रो गरे भनेर समीक्षासुरु गरौँ भनेर भनेको छु । त्यसो गर्न सकेको खण्डमा हामीेले हाम्रो पार्टीलाई फेरि हाम्रै विचार विशेषको पार्टी बनाउन सकिन्छ । हामी अरुजस्तो पार्टी होइन ।
हामी कताकता अरु जातिसँग हिड्दा हामीले आफ्नो जात बिर्सियौँ । हामीले हाम्रो क्रान्तिकारी विचार र विरासतलाई बिर्सियौँ । माओवादी क्रान्तिकारी जातका हौँ भन्ने बिर्सेर हामी अरुजस्तो जो हुन खोजेका थियौँ, त्यसमा गम्भीर गल्ती भएकै हो । त्यसकारण हामीले पार्टी पुनर्निर्माण आफ्नो आत्मसमीक्षाबाट सुरु गर्नुपर्ने भन्ने मेरो निष्कर्ष हो । गल्ती करेक्सन पनि आफैँबाट सुरु गर्नुपर्छ भनेर केन्द्रीय समिति बैठकमा पनि मैले कमरेडहरु समाजवादी क्रान्तिका लागि म चाहिँ हाम फाल्छु तपाइहरु कसले साथ दिने हो, कसले नदिने हो, तपाइहरुले नै फैसला गर्नुस् भनेको थिए ।
आज मलाई गर्व छ, किनकी देशैभरी एकपटक फेरि माओवादीको पक्षमा लहर आउँदैछ । अहिले मधेसमा पनि माओवादीप्रति आकर्षण बढिरहेको देखेको छु । मैले मधेसका विभिन्न कार्यक्रममा पुग्ने क्रममा पनि हाम्रो पार्टीप्रति त्यहाँका जनताहरुको आकर्षणलाई नजिकबाट देखेको छु । वडा सम्मेलनसम्म आउँदा देशैभरी माओवादीप्रति लहर बढेको छ । हामीले कम्युनिष्ट आन्दोलनको एकताको झण्डा उठाएका छौँ । माओवादीको झण्डा भनेको राष्ट्रिय एकता, उत्पीडित जातिहरुको एकताको झण्डा हो, कम्युनिष्ट एकताको झण्डा हो । हाम्रो झण्डा विभाजनको झण्डा होइन ।
यो परिवर्तन हामीले ल्याएको हो । कुनै निरंकुशताको पछि लाग्ने दलालहरुको कारणले यो परिवर्तन ल्याएको होइन । यो परिवर्तन हामीले ल्याएको हो भनेर गाउँ–गाउँमा, टोल–टोलमा जनताको घर–घरमा गएर भन्नुपर्यो । हामी सुस्ताउँदा प्रतिक्रियावादीले हेप्न थाल्यो, अब हामी सुस्ताउँदैनौँ हामी जाग्यौँ भनेर जनताको घरघरमा गएर भन्न अब माओवादीका कार्यकर्ताहरुले आँट गर्नुपर्छ ।
हामीले तपाइहरुसँगको सम्बन्ध कमजोर बनाएको थियौँ, अब हामी तपाइहरुको घरघरमा आउँछौँ, सम्बन्ध बलियो बनाउँछौँ भन्नुपर्यो । कमरेडहरु, यो माओवादी पार्टी बनाउने कुरा मात्रै होइन । पार्टी त कांग्रेसले पनि बनाउन खोज्छन्, एमाले पूरै प्रतिक्रान्तिकारी नै भए पनि उसले पनि पार्टी बनाउन खोज्छन्, अरुले पनि पार्टी बनाउन खोज्छन् । पार्टी बनाउने कुरा मात्रै ठूलो कुरा होइन ।
तर, हाम्रो स्थिति अरुकोभन्दा गुणात्मक रुपले भिन्न छ, फरक छ । किनभने यो परिवर्तनको बाहक हामी हो, अरु होइन । अरुले रोक्न खोज्दाखोज्दै माओवादीको आन्दोलन र आधीहुरीले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनेको हो, अरु कसैले दावी गर्ने कही कतै ठाउँ नै छैन । इतिहासको कुनै पनि तथ्यले पनि पुष्टि गर्दैन । अहिले पनि उनीहरुले प्रतिक्रान्तिको सपना तिनीहरुले देख्छन् भने हामी फेरि पनि विद्रोहको झण्डा उठाउन तयार छौँ । अहिले पनि नेपाल माओवादी केन्द्रकै राजनीतिमा छ, माओवादी केन्द्रकै नेतृत्वमा छ । प्रधानमन्त्री जोसुकै भए पनि, राष्ट्रपति जोसुकै भए पनि देश माओवादीकै वरिपरी छ ।
विरासतका हिसाबले हामी अर्कै धातुले बनेका मान्छे हौँ । हामी कम्युनिष्ट क्रान्तिकारी हौँ । हामी माओवादी क्रान्तिकारी हौँ । र, हामी क्रान्तिकारी उद्देश्यका साथ अगाडि बढ्ने, समाजलाई क्रान्तिकारी रुपान्तरण गर्दै अगाडि बढ्ने विचारका वाहक हौँ । हामीले पार्टी निर्माणमा ढिलासुस्ती गर्यौ, हामी त्याग र समर्पणमा ढिला गर्न थाल्यौँ भने अरु पार्टी नभएर त केही फरक पर्दैन, यो नभए अर्को बन्छ त्यो नभए पनि अर्को बन्छ, तर गहिरोगरी के महसुस गरेको छु भने माओवादी पार्टी कमजोर भयो भने देश दुर्घट्नामा पर्छ । त्यसकारण हामी पार्टी बनाउने, पालिका जित्ने, प्रदेश जित्ने संघ जित्ने मात्रै सवाल होइन, यो राष्ट्र बच्ने कि नबच्ने ? यो परिवर्तनका एजेण्डा बच्ने कि नबच्ने भन्ने सवाल पनि छ ।
र, माओवादी पार्टी बलियो बन्दै गयो भने यो एजेण्डाहरु बच्ने मात्रै होइन, थप परिवर्तनका एजेण्डाहरु प्राप्त हुँदै जान्छ र हामी यो देशलाई समाजवादको नयाँ बाटोमा पु¥याइ छाड्छौँ । माओवादी पार्टी फेल, कमजोर या असफल भयो भने राष्ट्र असफल हुने ठाउँमा यो देश पुगेको छ । यो गम्भीर कुरा छ ।
कमरेडहरु, कि हामीले परिवर्तनको लडाई लड्नै हुँदैनथ्यो । हामीले हजारौँको बलिदान गरेर देशलाई यति ठूलो परिवर्तनमा ल्याउने अनि त्यसलाई सुदृढ गर्ने बेलामा हामी आफैँ निरास भएर, निष्क्रिय भएर, टुटफुट र विभाजनमा गएर त्यसलाई कमजोर पार्ने छुट हामीलाई छैन । त्यसो गर्नु हाम्रो लागि अपराध हो । ]
क्रान्तिको रक्षा र सफलताको लागि अन्तिमसम्म लड्ने आँट क्रान्तिकारीहरुमा हुनुपर्छ । अहिले हामीेले माओवादी पार्टीको पुनर्निर्माणको महाअभियान छेडेका छौँ । यो अभियान रोकिने छैन । यो अभियान धेरै अगाडि जानेछ । यो अभियान उस्तै परे निर्वाचन प्रणाली हेरफेर गरेर खर्चिलो निर्वाचन प्रणालीलाई बिनाखर्चको निर्वाचन प्रणाली र जनताको निर्वाचन प्रणाली बनाउन सकिन्छ । यो दायित्व हामीसँग छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पूर्वी चितवनमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा २०७८ मंसिर ६ गते राखेको मन्तव्यको सम्पादित अंश । -उज्यालो नेटवर्कको होम पेजमा जानुहोस् ।