काठमाडौँ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गीत सङ्गीत क्षेत्रको विकासका लागि आफूले पूर्णसहयोग गर्ने बताएका छन । सङ्गीत कर्मी सङ्घले आज शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको आफ्नो पाँचौ महाधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री आलेले कला, संस्कृति तथा सङ्गीत क्षेत्रको विकासका लागि आवश्यक सहयोगका लागि आफू तयार रहेको बताए ।
सो अवसरमा मन्त्री आलेले सङ्गीत क्षेत्रको विकासका लागि आफूले सक्दो बजेटसमेत विनियोजन गराउने आश्वासन समेत दिए । उनले भने, “कला, संस्कृति र गीत–सङ्गीत भनेका हाम्रा गहना हुन, यसको संरक्षण र विकास गर्नु हाम्रो प्रमुख दायित्व हो, कला, संस्कृति र गीतसङ्गीतको विकासका लागि मैले बजेट विनियोजन गराउँछु ।”
मन्त्री आलेले नेपालका सबै क्षेत्र तथा भाषाभाषीका कला, संस्कृति र गीतसङ्गीत देश विदेशसम्म फैलाउन र चिनाउनका लागि सबै कलाकार तथा सङ्गीत कर्मीसँग आग्रहसमेत गरे । सङ्गीत बिना अधिकांश काम तथा कला अधुरा हुने भएकाले सङ्गीत क्षेत्रको विकास नै आजको प्रमुख आवश्यकता भएको समेत मन्त्री आलेले उल्लेख गरे । उनले थपे, “सङ्गीत बिना अधिकांश काम तथा कला अधुरा हुने भएकाले सङ्गीतको विकास गर्नु प्रमुख आवश्यकता भएको छ ।” सोही अवसरमा सङ्गीत कर्मी सङ्घले मन्त्री प्रेमबहादुर आलेलाई सम्मानसमेत गरेको थियो ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।