विद्यालयलाई नमूना बनाउने योजना छ : केशवराम यादव,प्रधानध्यापक, जनज्योती मा.वि.(अन्तर्वार्ता)

उज्यालो प्रतिनिधि २४ कार्तिक २०७८, बुधबार अन्तर्वार्ता

स्थानीय तह , प्रदेश र संघिय सरकारमा जनप्रतिनिधिहरु निर्वाचित भएर आएको पनि करिब चारवर्ष पुरा भयो । त्यो अवधिमा ती निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदानको लागी कस्तो भुमिका निर्वाह गरे । विद्यालयमा कक्षा कोठा, शौचालय देखि लिएर भौतिक संरचना निर्माणको निम्ती कस्तो सहयोग पुग्यो ? सोही विषयमा जनज्योती मा.वि.का प्रधानध्यापक केशवराम यादवसंग दाङ देउखुरीबाट उज्यालोकर्मी शिवु खनालले गरेको कुराकानीको सम्पादित अंश ।

१. विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न यहाँको विद्यालय र यहाँबाट कस्तो प्रयास भइरहेको छ ?

गुणस्तरीय शिक्षा कुनैपनि विद्यालयको मरुदण्ड हो । हाम्रो विद्यालयमा पहिले कक्षा कोठा, शौचालय जस्ता भौतिक सुविधाको एकदमै अभाव थियो तर, विशेष गरी वडा सरकार, क्रियटिङ् पोसिबिलिटीज नेपाल, राजपुर गाउँपालिका र माननीय संघिय सांसद मेटमणि चौधरी ज्यूको आर्थिक सहयोगका कारण लगभग ती समस्या समाधान उन्मुख भएका छन् । त्यसैगरी अब हाम्रो मुख्य उद्देश्य भनेकै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु रहेको छ । त्यसको लागि हामीले गरेका केही प्रयासहरु यस प्रकार रहेका छन् । जस अन्र्तगत निजी शिक्षकहरुको नियुक्ति गरिएको छ । कक्षाहरुमा सेक्सन विभाजन गरिएको छ । विद्यार्थीहरुको आचार संहिता बनाई पूर्णरुपमा लागू गरिएको छ । शिक्षक आचार संहिता पारित गराई लागू गरिएको छ । सहायक प्र.अ., तहगत र विधागत संयोजक तोकी पठन पाठनलाई थप व्यवस्थित र अनुगमन गर्ने कार्य भएको छ । अतिरिक्त क्रियाकलापका लागि बार्षिक योजना बनाई सञ्चालन गरिएको छ ।

२. विद्यालयको अवस्थाबारे छोटकरीमा बताइदिनुस् न ?

यस विद्यालयको पहिलेको अवस्था भन्दा अहिले आमूल परिवर्तन भएको अभिभावक ज्यूहरुको प्रतिक्रिया सुन्न पाइन्छ तर, अझैपनि धेरै कुरा गर्न बाँकी छन् । पहिले कक्षा ११ र १२ बन्द भएको थियो त्यसलाई सफलतापूर्वक पुनः सञ्चालन गरिएको छ । राजपुर गाउँपालिका र वडाको सहयोगमा प्रत्येक कक्षाकोठामा पङ्खा जडान गरिएको छ । प्रशासन कार्यालयलाई व्यस्थापन गरी लेखाशाखा र परीक्षा शाखालाई थप व्यवस्थित गरिएको छ । दैनिक विद्यार्थीको उपस्थितीलाई कक्षागत र समग्रमा विद्यालयगतरुपमा देखिनेगरी पाटीको व्यवस्था गरिएको छ ।

विद्यालयको छात्राबास निर्माणका लागि माननीय संघिय सांसद मेटमणि चौधरी ज्यूलाई इष्टीमेट र भवनको डिजाइन निर्माण गरी पठाएका छौं । विद्यार्थीहरुलाई कक्षाबाहिर वा विद्यालयबाहिर जानको लागि गेटपासको व्यावस्था गरिएको छ । विद्यालयमा कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला र सानो पुस्तकालयको व्यवस्था गरिएको छ । विद्यालयमा कक्षा शिशु देखि कक्षा ४ सम्म अंग्रेजी माध्यमबाट पठन पाठन गरिएको छ र त्यसमा मन्टेश्वरी विधिबाट शिक्षण गर्ने प्रयास गरिएको छ । विद्यालय परिसर भित्रै खाजाघर सञ्चालन गरिएको छ । विद्यालयले सटर निर्माण गरी भाडामा दिएर विद्यालयको आर्थिक स्रोत बढाउने कार्य गरेको छ । नियमितरुपमा शिक्षक स्टाफ बैठक, वि.व्य.स. र शि.अ.सं.को बैठक गरेर आवश्यक निर्णय गरिने गरिएको छ । यसैबर्ष देखि वडा अध्यक्ष ज्यूको विशेष सहयोगमा विद्यालयमा योग तथा संस्कार शिक्षा प्रदान गर्ने योजना छ । विद्यालयमा एउटा प्राविधिक धार सञ्चालन गर्ने योजना छ ।

३. स्थानीय तहमा जनप्रतिनिधी निर्वाचित भएर आएदेखि अहिले शिक्षा क्षेत्रमा केही परिवर्तन पाउनु भयो कि ?

मेरो अनुभवमा स्थानीय तहमा जनप्रतिनिधीहरु निर्वाचित भएदेखि विद्यालयको भौतिक विकासले त्यसमा पनि गुणात्मक भौतिक विकासले काँचुली फेरेको महशुस गरेको छु । विद्यालयको भौतिक वा संस्थागत विकासमा केही समस्या आएमा हाम्रो वडालाई र गा.पा.लाई अनुरोध गर्दा लगभग ती कुराहरुको सम्बोधन भएको छ । तर अब स्थानीय तहले विद्यालयको शैक्षिक गुणस्तरबृद्धि तिर ध्यान केन्द्रित गर्न आवश्यक रहेको देख्दछु ।

४. चार बर्षको अन्तरालमा स्थानीय तहका जनप्रतिनिधीले शिक्षा क्षेत्रलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभयो ?

म यस विद्यालयमा आएको ठिक तीनबर्ष मात्र भएको छ । तर म आए पछि हाम्रो राजपुर गाउँपालिकाको वडा नं. २ र राजपुर गाउँपालिकाका जनप्रतिनिधीहरुले शिक्षा क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक रहेको पाएको छु ।

५. संघीय , प्रदेश र स्थानीय तहबाट विद्यालयको भौतिक संरचना निर्माणमा गर्ने सम्बन्धमा केही सहयोग पाउनुभयो कि ? परिवर्तन केही भयो कि त्यस्तै छ ?

हाम्रो विद्यालयको आधाभन्दा बढी भौतिक संरचना यही ३÷४ बर्षमा¬¬ बनेको छ । हाम्रो विद्यालयलाई संघिय सांसद मेटमणि चौधरी ज्यूको सहयोगमा ६५ लाखको भौतिक संरचना र ३५ लाखको कम्प्युटर प्रयोगशालाको व्यवस्थापन कार्य सम्पन्न भएको छ । प्रदेश सरकार बाट ३,३०,०००।– को पुस्तकालयको व्यवस्थापन भएको छ । राजपुर गाउँपालिकाबाट दशलाख बजेटबाट भवन निर्माण, ५ लाख पङ्खा जडान र पेन्टिङ साथै ६,५०,०००।– बिज्ञान प्रयोगशाला व्यवस्थापनको व्यवस्था भएको छ । वडाबाट ४४ लाखको भवन निर्माण, ९ लाखको पर्खाल र क्यान्टिन निर्माण, ३,५०,०००।– आफिस व्यवस्थापन, ५ लाख योग शिक्षा, ५० हजार सरस्वति मूर्ति खरिद र मन्दिर व्यवस्थापन, २ लाख छात्रवृत्ति तथा बालविकास कार्यक्रमका लागि सहयोग भएको छ ।

६. गाउँपालिका र विद्यालय विचको सहकार्य कस्तो छ ? कस्तो हुनुपर्ने हो ?

मेरो विद्यालय र राजपुर गाउँपालिकाको बिचमा एकदमै राम्रो सम्बन्ध छ । विद्यालयमा गरिने कुनै पनि कार्यमा राजपुर गाउँपालिका शिक्षा शाखा, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखासंग समन्वय गरी कार्य गरेको छु । त्यसमा उहाँहरुको पालिकाको आर्थिक क्षमताले भ्याए सम्म राम्रो सहयोग र सुझाव पाएको छु ।

७. नमूना विद्यालय निर्माणमा यहाँको भुमिका कस्तो रहने छ ?

नमूना विद्यालय बनाउनका लागि प्रस्तावना पेश गरेको थिएँ तर हाम्रो शिक्षक दरवन्दी कम भएकोले राजपुर गाउँपालिका वडा नम्बर ५ मा रहेको साधारण मा.वि. गंगदी नमूना विद्यालय बनेको छ । तैपनि भौतिक रुपमा मात्र नभएर शैक्षिक रुपमा व्यवस्थापकीय रुपमा विद्यार्थी अनुशासन, विद्यालय परिचालन, लेखा व्यवस्थापन लाई अझ पारदर्शी बनाई र समग्रमा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरी यस विद्यालयलाई यस क्षेत्रकै नमूना विद्यालय बनाउन म पूर्ण रुपमा विद्यालय प्रति समर्पित रहनेछु ।

८. यहाँले यस विद्यालयलाई लुम्बिनी प्रदेशकै नमुना योग्य विद्यालय बनाउने त्यस्तो केही योजना छ, की ?

उद्देश्य त त्यही नै हो तर, त्यसका लागि अझै धेरै समय लाग्ला । मेरो विद्यालयलाई नमूना विद्यालय बनाउनका लागि मेरो योजना यस प्रकार छन् । जस्तै गुणस्तरीय शिक्षा प्रदान गर्ने । प्राबिधिक शिक्षाका कक्षा सञ्चालन गर्ने । उच्च माध्यमिक तहका विज्ञान विषयको कक्षा सञ्चालन गर्ने । सुविधायुक्त छात्रावासको निर्माण गर्ने । १२ कक्षा सम्म नै नेपाली र अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने । निजी शिक्षक र कर्मचारीहरुको कार्यविधी बनाई वहाँहरुको सेवालाई थप व्यवस्थित र कार्य प्रति जवाफदेहि बनाउने । विद्यालय बसको व्यवस्था गर्ने । व्यवस्थित र सिस्टमेटिक तरिकाले स्वःचलित विद्यालय बनाउने ।

९. अन्तमा केही छुट्यो कि भन्नुपर्ने कुराहरु ?

त्यस्तो छुटे जस्तो त केही पनि छैन तर, विद्यालयलाई नमूना बनाउने योजना छ । तर त्यसमा विद्यालय परिवार, वडा, गा.पा., प्रदेश र संघका प्रतिनिधि ज्यूहरुले पूर्णरुपमा आफ्नो तर्फबाट सहयोग गरिदिनुहुन तपाईको माध्यमबाट हार्दिक अनुरोध गर्दछु । साथै हाम्रो विद्यालयका बारेमा यो महत्वपूर्ण समय दिनु भएकोमा यहाँ र यहाँको सम्पूर्ण टिमलाई हृदय देखि धन्यवाद ज्ञापन गर्न चाहान्छु । यहाँहरुको साथ र सहयोग आगामी दिनहरुमा पनि पाइरहुँ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार