संविधानको छ वर्षः कार्यान्वयनमा सचेत हुन आवश्यक

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार समाचार

भक्तपुर ।  वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गरिने कुरा संविधानको प्रस्तावनामै उल्लेख छ । तर, त्यसको कार्यान्वयनमा भने अझै चुनौती देखिएको छ ।

संविधानद्वारा प्राप्त अधिकारको कार्यान्वयनका लागि जनताले संविधान पढ्नु पर्ने विभिन्न व्यक्तिले औँल्याएका छन् । सातौँ संविधान दिवसको अवसरमा विभिन्न व्यक्तिले संविधान जारी भएसँगै जनताको घरदैलोमा सिंहदरबार पुगेको भनिए पनि जनताले अझै संविधानले के के अधिकार दिएको छ भन्ने थाहा नपाएकाले स्थानीय तहले आफ्नो टोलटोलमा जनतालाई संविधानले दिएको अधिकारका बारेमा जानकारी गराउँदै सबै ठाउँमा पूर्णरुपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताएका हुन् ।

भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले संविधान माथि विभिन्न तत्वले आक्रमण गरिरहेको भन्दै संविधानको मर्मलाई गलत व्याख्या गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । उनले भने, “संविधानलाई आन्तरिक र बाह्य शक्तिले पटक पटक चुनौती दिइरहेका छन्, संविधानको गलत व्याख्या गर्ने र निर्णय गर्ने प्रचलन पछिल्लो समयमा भएको छ, संविधानको सही व्याख्या गर्दै कार्यान्वयनमा कडाइ गर्नु आवश्यक छ ।”

संविधान सबैको साझा दस्तावेज भएको भन्दै कहीँकतै विभेद भएको पाइए सच्याएर जान सकिने बताउँदै उनले संविधान माथिको प्रहारलाई रोक्नुपर्ने बताए । बागमती प्रदेशसभा सदस्य शशीजङ्ग थापाले संविधानको मर्मलाई बुझाउन अझै आवश्यक रहेको भन्दै संविधान कार्यान्वयनमा आएका चुनौतीलाई हटाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका भक्तपुर जिल्ला सचिव किरण न्यौपानेले संविधान कार्यान्वयन पूर्णरुपमा हुन नसकेको औल्याए । उनले संविधान दिवस मनाइरहँदा देशको तल्लो निकायदेखि माथिल्लो निकायसम्म संविधान पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । नेपाल मजदुर किसान पार्टीका नेत्री कमला गिरीले संविधानले विदेशी हस्तक्षेपलाई रोक्न नसकेको बताउँदै सत्ताधारी दलले संविधानलाई पूर्णरुपमा कार्यान्वयनमा चासो नदिँदा दिवसले मात्रै अर्थ नराख्ने टिप्पणी गरे । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले स्थानीय तहमा संविधान कार्यान्वयन र संविधानले दिएको अधिकारलाई अपव्याख्या गर्दा समस्या आउने गरेको बताए । उनले संविधानले प्रदत्त गरेको अधिकारलाई अर्को तहले नस्वीकार्ने प्रवृत्तिलाई हटाउनुपर्ने उनको भनाइ छ ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नेपालकै पालिकामध्ये संविधान पूर्णरुपमा कार्यान्वयनमा ल्याउने पहिलो नगरपालिका मध्यपुरथिमि नगरपालिका मात्रै रहेको दाबी गरे । उनले संविधानको नाममा स्थानीय तहको अधिकारमाथि प्रदेश र सङ्घले हस्तक्षेप गर्ने गरेको टिप्पणी गर्दै संविधानको पूर्ण कार्यान्वयनमा कर्मचारीतन्त्र बाधक भएको आरोप लगाए । उनले कर्मचारीतन्त्रमा अहिले पनि पुरानै धङ्धङी बाँकी रहेको भन्दै घुमाइफिराइ कर्मचारीले संविधानअनुसार नगई पुरानै ढर्रामा काम लाद्ने गरेको बताए । स्थानीय तहलाई संविधानले दिएको अधिकार खोस्ने प्रयास अझै भएको भन्दै स्थानीय तहलाई पूर्णरुपमा स्वायत्त बनाए मात्रै जनताले नयाँ संविधानको मर्मलाई आत्मासात् गर्न पाउने बताए ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले संविधानको कार्यान्वयनसँगै गाउँगाउँमा सिंहदरबार पुगेको बताए । उनले जनताले संविधान कार्यान्वयनमा आएसँगै आफ्नो अधिकार पाएको महसुस स्थानीय तहबाटै गर्न पाएको बताए । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले संविधानले दिएको अधिकारलाई जनताले प्रयोग गर्न थालेको भन्दै स्थानीय तहमै धेरै काम गर्न सकिने भएकाले जनताले संविधानको मर्मलाई स्वीकारेको बताए ।

शिक्षाप्रेमी एवं प्याब्सन भक्तपुरका सल्लाहकार श्रीकृष्ण केसीले संविधानले दिएको अधिकारका बारेमा कतिपय जनता अझै अनभिज्ञ रहेको र जनताले अधिकार थाहा नपाउँदा उपयोगमा कठिनाइ आएको औँल्याए । जनतालाई अब संविधान पढाउनुपर्नेमा उनले जोड दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार