वासिङ्टन । अमेरिकाको दक्षिणी राज्य लुइजियानामा केही दशक यताकै सबैभन्दा शक्तिशाली आँधी नजिकिँदै जाँदा त्यस राज्यका तटीय क्षेत्रमा बसोबास गर्ने दशौँ हजार मानिस सुरक्षित स्थानतर्फ गएका छन् ।
आइडा नाम दिइएको यस आँधी नजिकिँदै गएपछि लुइजियाना प्रशासनले आँधीको सम्भावित प्रभावबारे चेतावनी दिँदै सम्भावित जोखिमको क्षेत्रमा पर्ने लुइजिआनाका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।
स्थानीय समय अनुसार आइतबार बेलुका ‘आइडा आँधी गल्फ अफ मेक्सिकोमा पुग्ने बताइएको छ । आँधीसँगै २२० किलोमिटर प्रतिघण्टाको दरमा हावा चल्ने तथा जोखिमयुक्त छालहरु आउने सम्भावना रहेको अमेरिकी मौसम पूर्वानुमान केन्द्रहरूले बताएका छन् ।
सन् २००५ न्यू अर्लियन्समा गम्भीर क्षति गरेको क्याट्रिना आँधीभन्दा पनि आइडा भयानक हुने पूर्वानुमानकर्ताहरुले बताएका छन् । लुइजिआनाका गर्भनर जोन बेल एड्वाड्र्सले आइडा आँधी राज्यको इतिहासमा १५० वर्ष यताकै गम्भीर हुन सक्ने चेतावनी दिएका छन्।
छिमेकी राज्य मिसिसिपीका गभर्नरले आपतकालीन अवस्था घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आइडा निकै खतरनाक बन्ने देखिएको र केन्द्र सरकार आवश्यक सहयोगका लागि तयार रहेको बताएका छन् । गल्फ अफ मेक्सिकोको मौसम गर्मी हुँदै जाँदा आँधी गम्भीर बनेको हो ।
आइडालाई क्याटगोरी–२ बाट अति खतरनाक क्याटगोरी–४ घोषित गरिएको हो । लुइजिआनाको दक्षिणी क्षेत्रमा नेपाली समय अनुसार बेलुका पौने सात बजेदेखि तीव्र गतिको हावा चल्ने अनुमान छ ।
सन् २००५ मा न्यू अर्लियन्समा एक हजार जनाभन्दा धेरैको ज्यान लिएको क्याटगोरी–३ वर्गीकरण गरिएको क्याट्रिना आँधी अगस्ट २९ कै दिन आएको थियो ।