सम्झनामा जेबी टुहुरे : मजदुर, चियापसल, तरकारी ब्यापारदेखि जनगायकसम्म

बुद्ध लोप्चन १० भाद्र २०७८, बिहीबार अन्तर्वार्ता

आमा दिदीबहिनी हो,
कति बस्छौ दासी भई

सुख सधैँ प्यासी बनेर

धेरै नेपालीलाई जेबी टुहुरेको बारेमा थाहा नहोला, तर माथिका गीतका हरफहरु भने कण्ठस्थै छ। जुठबहादुर खड्गी अर्थात जेबी टुहुरे यसै गीतमार्फत नेपाली राजनीति र कलाकारिता क्षेत्रमा स्थापित भए।

पञ्चायत विरुद्धको आन्दोलनका क्रममा पटक–पटक जेल परेका टुहुरेले जीवनको लामो अवधि यस्तै चेतनामूलक गीत गाएर बिताए। साढे तीन दशक कम्युनिस्ट राजनीतिमा रहेका उनी जीवनको उर्जाशील समय नेकपा एमालेमा रहेपनि २०६६ सालमा माओवादीमा प्रवेश गरे।

चारजनाले लेखेको गीत

पञ्चायत शासनको विरोधमा लागेको आरोपमा जेबी टुहुरे र उनका साथीहरु पटक–पटक जेल परेपछि आजित भएर निष्क्रिय बसेका थिए। त्यही समयमा मदन भण्डारी, मोदनाथ प्रश्रित, जीवराज आश्रित लगायतका नेताहरु पुष्पलाल समूहबाट फुटेर मुक्ति मोर्चा नामको नयाँ समूह बनाएर नेपाल आएका थिए।

मुक्ति मोर्चाका केही कार्यकर्ता जेबी टुहुरे लगायतका टिमको सम्पर्कमा आए। ‘म जनताको पक्षमा गीत गाउने कलाकार भएकाले उहाँहरुले विकल ज्ञवालीले लेखेको ‘चरी बरर’ भन्ने कविता संग्रह ल्याइदिनुभयो। त्यसभित्रका मध्ये मलाई ‘आमा दिदीबहिनी हो’ शीर्षकको कविता मनपर्‍यो। त्यसैबाट यो गीतको जन्म भयो’ उनले भने।

विकल ज्ञवालीको त्यस कवितालाई पूर्णता दिन जेबी आफैले मेहनत गरे। पहिलोपटक उनी र रामेशले धरानको खेलकुद भवनमा ‘आमा दिदी बहिनी हो’ लाई गीतको रुपमा प्रस्तुत गर्दा सबैले मन पराए। तर जेबी आफैँलाई गीतमा कतै महिलामाथि अपमान भएजस्तो अनुभव भयो।

धरानमा गीत प्रस्तुतिपछि महिलामाथि अपमान भएजस्तो लागेसँगै उनी र रामेश मिलेर गीतको पहिलो हरफ तयार पारे।

आफ्नै पौरख खान्छन्
आफ्नै सीपमा बाँच्छन्
दुख कष्ट सहेर सृष्टि यिनले धान्छन्
असल महान व्यक्तिहरु यिनैले जन्माउँछ
ज्ञान गुण बुद्धिहरु यिनैले सिकाउँछन्
तर पनि अध्यारोमा जीवन बिताउँछन्

रामेश र उनले तयार पारेको गीतको पहिलो हरफले पनि गीत पूर्ण भएजस्तो जेबी टुहुरेलाई लागेन। एक दिन उनी काठमाडौंमा रामेशको कोठामा आउँदा बम देवान नामका मानिससँग भेट भयो। उनले त्यही गीत सुनाउँदै पूर्णता दिन आग्रह गरेपछि बम देवानले गीतको अन्तिम हरफ थपिदिए।

सामन्तीको कुचाला यो भ्रष्ट रिति पुँजीको
बुझी सब ब्यूँझ अब
ध्वस्त पार्न नारी वन्दन, दुख अनि जीवनको
युगले आज भन्दछ नारी पनि मान्छे हो
जाग उठ नारी हो, सिर्जनाको घाम बनेर

यी हरफ थपिएपछि जेबीलाई गीत पूर्ण भएजस्तो लाग्यो। त्यसपछि उनीहरुले विभिन्न कार्यक्रममा यो गीत प्रस्तुत गरे। ‘यो गीत सुनेर कति महिला रुन्थे, कोही नाच्थे कसैले हाम्रो प्रशंसा गर्थे’ उनले सुनाए।

यसरी रह्यो जेबी टुहुरे नाम

२००१ साल कात्तिक १५ गते धरानमा जन्मिएका जुठबहादुर टुहुरे खड्गीले अन्तत आफ्नो परिचय जेबी टुहुरे नामबाटै बनाए। गाउँघरमा शिशुको मृत्यु भयो भने त्यसपछि जन्मेको अर्को सन्तानलाई जुठोमा फाल्ने वा जुठो लगाइदिने चलन हुन्छ। यस्ता बालबालिकालाई गाउँघरमा जुठे भनेर बोलाइन्छ। जुठबहादुरको नाम यसरी नै रहन गएको थियो।

उनका बुवा कृष्णबहादुर खड्गी पूर्व लेटाङ मोरङमा कपडा व्यापार गर्थे। २००७ सालको क्रान्तिका बेला बुवाले सबै परिवारलाई मोरङकै मधुमल्ल लगे। ‘मैले मधुमल्लकै विद्यालयमा अध्ययन गरेँ। विद्यालयमा प्रत्येक कार्यक्रममा नाच्ने, गाउने मेरो रुची थियो, मेरो कलाकारिताको प्रारम्भ त्यहीँबाट सुरु भयो’ उनले भने।

उनका बुवा कृष्णबहादुरको २०२१ सालमा मृत्यु भयो। त्यसपछि सबै व्यावहारिक बोझ आफूमाथि आएको सुनाउँदै उनले भने, ‘त्यसपछि मैले आफू टुहुरो भएको महसुस गरी ‘टुहुरे’ उपनाम राखेँ।’ आफ्नो नाम जुठबहादुरको छोटकरी जेबी र त्यसमा टुहुरे थपेपछि उनी जेबी टुहुरे बने।

होटलमा मजदुरी र तरकारी ब्यापार

बुवाको निधनपछि जेबीको दिनचर्या बदलियो। बुवाको निधनपूर्व उनी नाच्ने, गाउने गरेर दिन बिताउँथे। बुवाको निधन हुँदा उनी विवाहित थिए तर मजदुरीबाहेक आम्दानीको विकल्प थिएन। बाँच्नका लागि जेबीले चिया पसल थाप्नेदेखि, होटलमा मजदुरी गर्ने, कपडा व्यापार गर्ने, तरकारी बेच्नेसम्मको काम गरे। ‘मैले बाल्यकालमा गरेको दुखलाई कहिल्यै बिर्सन सक्दिन, मधुमल्लमा हुँदा हप्तामा एक दिन हाट बजार लाग्ने गर्थ्यो। हाटबजारमा एक दिन गरेको ब्यापारले एक हप्ता जीविका धान्नुपर्थ्यो’ जेबी भन्छन्।

कम्युनिस्ट राजनीतिमा जेबी

२०२४ सालदेखि कम्युनिस्ट पार्टीमा आबद्ध जेबी टुहुरेले २०२५ सालमा सदस्यता लिए। उनले पार्टीको निर्देशन अनुरुप जनवादी गीतसंगीतमार्फत जनचेतना फैलाउँदै हिँडे। त्यतिबेला उनी र उनका साथी राजकुमार केसीले देशभरी जनवादी गीत घन्काए।

किसानको मुटु छामेर हेर क्रान्तिको ज्वाला दन्केकै छ,
मदजुरको मुटु छामेर हेर तातो रगत उम्लेकै छ,
खेल नसम्झ सामन्ती हो भेल त उर्लिन्छ,
नपत्याउने खोलाले बगाउन यहाँ सक्दछ,
होसियार, होसियार, होसियार

यो उनीहरुले गाएको पहिलो गीत थियो। गीत रचनापछि २०२६ सालमा पहिलोपटक उनीहरुले मधुमल्लमा सांस्कृतिक कार्यक्रमको आयोजना गरे। ‘पहिलोपटक हामीले राखेको कार्यक्रम बिफल पार्न केही मण्डलेहरुले योजना बनाएको रहेछ, त्यहाँ कार्यक्रम आयोजक र जनताले तिनीहरुलाई लखेटे’ उनले त्यतिबेलाको दिन सम्झिए।

‘एमालेले अवमूल्यन गर्दा माओवादीको सम्मान’

जेबी टुहुरेले जीवनको झण्डै साढे तीन दशक नेकपा एमालेमा विताए। दुई कार्यकाल नेकपा एमाले निकट जनसांस्कृतिक मञ्चका अध्यक्ष भएका उनी पछि एमालेले अवमूल्यन गरेको भन्दै बाहिरिए।

‘मलाई पद वा अरु केही कुराको लोभ छैन, कलाकारलाई चाहिने सम्मान नै हो, एमालेभित्र मैले न सम्मान पाएँ न कुनै मूल्य नै, त्यहाँभित्र मेरो अवूमल्यन बाहेक अरु केही भएन’ उनले भने। एमालेभित्र देखिएको गुट उपगुटले पार्टीलाई असफलतातिर लैजाने जेबी बिताउँछन्। ‘पार्टीभित्र योगदानको मूल्यांकन हुन छाडेको छ’ उनले भने।

२०६६ साल जेठ ३१ गते तत्कालीन एमाओवादीमा प्रवेश गरेका जेबी टुहुरे अहिले सांसद छन्। एमालेभित्र गरेको योगदानलाई माओवादीले सम्मान गरेको उनले बताए।

प्रचण्ड ‘राजनेता’

‘कम्युनिस्ट पार्टीमा बसेर मैले धेरै काम गरेँ, मनमोहन अधिकारी, मोदनाथ प्रश्रित, मदन भण्डारी लगायत सबैसँग बसेर मैले काम गरेको छु’ उनले भने, ‘नेपाली कम्युनिस्ट आन्दोलनमा उहाँहरुको योगदान एक ठाउँमा छँदैछ, अहिलेको स्थितिलाई हेरेर भन्ने हो भने प्रचण्ड राजनेता हुन्’ उनले भने। प्रचण्डको प्रशंसक जेबी टुहुरेले उनकै अडान र निर्णयका कारण देशले शिर झुकाउन नपरेको समेत बताए।

‘प्रचण्डले गुनगुनाउने त्यो गीत’

माओवादीमा प्रवेश गर्नुपूर्व प्रचण्ड र जेबीबीच प्रत्यक्ष भेटघाट भएको थिएन। प्रत्यक्ष भेटघाट प्रवेश कार्यक्रममा मात्रै भएको हो। पहिलो भेटमा प्रचण्डले उनलाई माओवादीमा स्थापित मान्छेको खाँचो रहेको भन्दै आफ्नो गीत गुनगुनाउने गरेको बताएपछि उनको खुशीको सीमा रहेन।

जेबी टुहुरे एमाले छाडेर माओवादीमा प्रवेश गर्दै गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनको गीत सँधै गुनगुनाउने गरेको सुनाए। त्यो गीत यस्तो छ

बसाई हिड्नेको ताँतीले बस्नेको मन रुवाउँछ,
लाखौँ लागि उजाड छ यो देश, मुठीभरलाई स्वर्ग छ

सांसद् बनेर संसद भवन छिर्दा

सांसदको रुपमा म संसद भवन छिर्दै गर्दा विद्यार्थीहरुको समूह अवलोकनका लागि आएको थियो। त्यतिबेला संसदमा सत्तापक्ष र प्रतिपक्षबीचको झगडालै बैठक अवरुद्ध भएको थियो। बाहिर निस्कदा विद्यार्तीहरुले भने ‘संसद भनेको त झगडा गर्ने ठाउँ पो रहेछ।’

प्रत्यक्ष घटनालाई उदाहरणको रुपमा प्रस्तुत गर्दै उनले संसद वास्तवमा झगडास्थल भएको बताए। ‘मुलुकलाई कता डोर्‍याउने भन्ने विषयको निष्कर्ष निकाल्ने ठाउँमै झगडा भएको देख्दा अचम्म लाग्छ’ उनी भन्छन्।

कोरियन बुहारीको त्यो माया

जेबीका मिल्ने साथी छन् शेषाङ राई। उनी ‘आमा दिदीबहिनी हो’ का प्रशंसक। जेबीका धेरैजसो गीतमा सारंगी उनैले बजाउँथे। जेबी टुहुरेको गीत भन्ने त उनलाई थाहा थियो नै तर उनीहरुबीच प्रत्यक्ष भेटघाट भएको थिएन।

पहिलोपटक जेबीलाई भेट्दा खुशी भएर राईले कोठामा लिएर गए। राईले कोरियन केटी बिवाह गरेका थिए। कोठामा गर्मी भएपछि जेबीले गन्जी र लुङ्गी मात्रै लगाएर बसे। गन्जीको ठाउँ–ठाउँमा प्वाल देखेपछि शेषाङकी पत्नी (कोरियन बुहारी) ले उनलाई नयाँ गन्जी किनेर ल्याइदिइन्। ‘कोरियन बुहारीले गन्जी किनेर ल्याइदिएपछि मेरो खुशीको सीमा नै रहेन, उनको माया म कहिल्यै भुल्न सक्दिन’ उनले भने।

जेबीको नजरमा वामन्थीभित्रको समस्या

कुर्सी र पदको लागि रडाको मच्चाउने प्रथा नै वामपन्थीभित्रको पहिलो समस्या भएको उनी बताउँछन् । ‘मनमोहन, प्रचण्ड, माधव, झलनाथ, बाबुराम र केपीसहित ६ जना कम्युनिस्ट प्रधानमन्त्री बने । तर कसैले पनि ५ वर्षसम्म सत्ता सञ्चालन गर्न सक्नुभएन । यो वामपन्थीभित्रको प्रमुख कमजोरीकै कारण भएको हो, जसका कारण देशको विकास समेत पछि परेको छ ।’ उनले भने । वामन्थीभित्र एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति मौलाएको भन्दै उनले चिन्ता समेत प्रकट गरे ।

वामपन्थी एकताका ‘मध्यस्थकर्ता’

जेबी टुहुरे नेकपा एमाले छाडेदेखि नै आफु नेपालको वामपन्थीबीच एकता गराउन मध्यस्थता गरिरहेको बताउँछन्। वामपन्थी एक भएमात्रै देश विकास हुने दावी उनको छ। वाम एकताको सन्देश सहित उनले गीत पनि तयार पारेका छन्।

दुखको बोझ, बिसाउन, चौतारी बनाऊँ है,
एकले हैन हजारौँ मिलेर दुखलाई पन्छाउन,
लौन–लौन एक जुट बनौँ न, लौ न लौ न नयाँ नेपाल बनाउन।

प्रस्तुत सामग्री २०७७ असार ११ गते शनिबार थाहा खबरका लागि उज्यालो नेटवर्कका प्रधान सम्पादक बुद्ध लोप्चनले गरेको कुराकानीबाट साभार गरेका हौँ । थाहा खबरको लिङ्क यहाँ प्रस्तुत छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार