प्रतिगमनको अगाडि दोश्रो पुस्ताको आत्मसमर्पण

बुद्ध लोप्चन १० भाद्र २०७८, बिहीबार

काठमाडौं । ‘कमरेड ओली तपाईसँग दुईटा मात्रै शक्ति छ । एउटा तपाईले बनाएको साइबर सेना भनिने साइबर स्यालहरु बाँकी छन् तपाईसँग । तपाईले त्यसको नेतृत्व गरिरहनुभएको छ र दुनियाँका अगाडि जुन ताण्डव नाच्दै हुनुहुन्छ, जुन गालीगलौजको, जुन जोकरीको जुन भूमिका खेल्दै हुनुहुन्छ, त्यो साइबर स्यालहरुको नेताका रुपमा तपाईले आफूलाई अगाडि बढाउनुभएको छ ।’ २७ माघ २०७७ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोधसभामा उभिएर घनश्याम भुसालले बोल्दै गरेका यी शब्दहरुमार्फत मेरो दृष्ट्रिको प्रारम्भ गर्न चाहन्छु ।

जतिबेला घनश्याम भुसालले माथि उल्लिखित शब्दसहित हजारौँको उपस्थितिमा आयोजित प्रतिनिधिसभाको असंवैधानिक विघटनविरुद्धको विरोधसभामा बोल्दै थिए, त्यतिबेला खड्गप्रसाद ओली एकपछि अर्को गर्दै प्रतिगमनकारी निर्णय गर्दै थिए । त्यसताका खड्गप्रसादलाई ‘प्रतिगमनका नाइके’ रुपमा चित्रित गरिएको मात्रै थिएन, घनश्याम भुसालकै भाषामा भन्ने हो भने ओली साइबल स्यालहरुको नेतृत्व गर्दै थिए ।

हो, ५ पुस २०७७ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवादलाई देखाउँदै खड्गप्रसाद ओलीले प्रतिनिधिसभाको विघटन गरेपछि ओली पक्ष एकातिर र अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल अर्कातिर उभिए । यही दौरानमा सयौँ विरोधसभा भयो । हरेकसभामा ओली प्रतिगमनको विरोधबाहेकको भाषण सुन्न मुस्किल पथ्र्यो ।

आन्दोलनकै बीचमा ११ फागुनमा सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्युँताइदियो । सर्वोच्च अदालत त्यतिमात्रै रोकिएन, नेकपा नामसम्बन्धी विवादमा मागदावीभन्दा बढी फैसला सुनाउँदै सर्वोच्चले २३ फागुनमा एमाले–माओवादी ब्युँताइदियो ।

मुल रुपमा सर्वोच्चले एमाले र माओवादी ब्युँताएपछि सुरु भएको एमालेका दोश्रो पुस्ताका नेताहरुको प्रतिगमनविरुद्धको आन्दोलन ‘आत्मसमर्पण’ मा पुगेर टुंगिएको छ ।

एमालेमै बसेर संघर्ष गर्ने बताउँदै ओलीको प्रतिगमनकारी कदमका विरुद्ध माधव नेपालको नेतृत्वमा रहेर भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई लगायतले विद्रोहको झण्डा उठाइरहेका थिए ।

तर, माधव नेपालको समुहले ओलीलाई जेठ २ कै संरचनामा पार्टी संगठन अगाडि बढाउन दबाब दिँदै गर्दै ८ जेठ २०७८ को मध्यराति फेरि ओलीले दोश्रोपटक प्रतिनिधिसभा विघटन गरे ।

ओलीले दोश्रोपटक गरेको संसद विघटनलाई पनि अदालतले बदर गर्दै प्रतिनिधिसभा ब्युँताइदियो । तर, बिडम्बना योबीचमा खड्गप्रसादले एकपछि अर्को गर्दै नियुक्तिहरु गर्दै अगाडि बढे । पार्टीभित्र, बाहिर र सर्वत्र विरोध हुँदासम्म ओलीले सत्ता छाड्ने संकेत दिएनन् । बरु उल्टै संविधानको धारा ७६ को ५ अन्तर्गत सरकार गठनका लागि राष्ट्रपतिबाट आव्हान भयो । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि १४९ जना सांसदहरुले हस्ताक्षरसहित गरिएको दावीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरिन् । देउवा १४६ सांसदहरुको हस्ताक्षर लिएर सर्वोच्च पुगे । जसमा भीम रावलसहित घनश्याम भुसालहरुको पनि हस्ताक्षर थियो ।

फेरि प्रतिनिधिसभा ब्युँतियो, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी भयो, ओलीले जबर्जस्ती बालुवाटारबाट बालकोट पुगे । बालकोटको बार्दलीबाट ओलीले माधव नेपालको नाममा तथानाम गाली गरे ।

यही बीचमा कहिले सहमति त कहिले बिमत्तिको नाममा एमालेका दोश्रो पुस्ता भनिएका नेताहरुले ओलीको नाममा अनुनय विनय गरिरहे । कहिले दशबुँदे सहमतिको नाममा त, कहिले केको नाममा एमालेको दोश्रो पुस्ता एमालेमै रहने बाटो खोजिरहे । खड्गप्रसादले माधव नेपालको नाममा गाली बर्साउन छाडेनन् ।

हो, देशले भनेको छ, सारा जनताले भनेका छन्, दुईदुईपटक संसद विघटन गर्ने ओलीको कदम १, २, ३ जतिपटक भने पनि प्रतिगमन नै थियो । अध्यादेशमार्फत शासन गर्न खोज्ने ओलीको कदम पनि प्रतिगमनकारी नै थियो । ती सबै प्रतिगमनको नेतृत्वमा ओली नै थिए । ओली प्रतिगमनकारी भएकै कारण नेकपाबाट प्रचण्डहरु विद्रोहमा उत्रिए, एमालेबाट माधव र झलनाथहरु ।

तर, दुखको कुरा एमालेका दोश्रो पुस्ताले आजसम्म आइपुग्दा प्रतिगमनको अगाडि आत्मसमर्पण गरेका छन् । माधव नेपालको पक्षमा उभिएका तेश्रो पुस्ताका मेटमणी चौधरी, रामकुमारी झाक्रीहरु ओलीको प्रतिगमनकारी कदमकाविरुद्ध कठोर रुपमा उभिँदै नेकपा (एकीकृत समाजवादी) को पक्षमा लाग्दा घनश्याम भुसालहरुले प्रतिगमनको अगाडि आत्मसमर्पण गरेका छन् ।

रोचक कुरा त यो छ कि ती दोश्रो पुस्ताका नेताहरुले घनश्याम भुसालकै भाषामा भन्ने हो भने साइबल स्यालका नेतृत्वबाट बुधबार उही प्रतिगमन सही थियो भन्ने भाषण सुनेर दीक्षित बनेका छन् । अनि एमालेका दोश्रो पुस्ताका नेताहरु साइबर स्यालमा परिणत भएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *