घनश्याम भुसाललाई डिजिटल पत्र

रामदीप आचार्य ९ भाद्र २०७८, बुधबार

कमरेड घनश्याम भुषाल
क्रान्तिकारी अभिवादन
माओवादी केन्द्र र एमालेको एकता भएर बनेको नेकपापछि एमाले पंक्तिको नेताहरुमध्ये सायद तपाईँसँगै धेरै छलफल भयो होलाजस्तो लाग्दछ । विषयको गहिराइमा बुझ्ने, तर्कपुर्ण विषय र मिठासपूर्वक कुरा राख्ने, रणनीतिक सोच राख्ने शैलीका कारण तपाईँ मन पर्नेमध्ये एक नेता हुनु भयो । सम्भवतः नेकपाभित्रको वैकल्पिक सम्भावना बोकेको नेता । गएको चार वर्षको तपाईँको असंगतिपुर्ण जीवनकाबारे (व्यक्तिगत होइन राजनीतिक र सार्वजनिक) छलफल गर्नु आवश्यक ठानेर यो पत्र लेख्दैछु । सकारात्मक रुपमा लिनु हुनेछ र गंभिर आत्मा समिक्षा गर्नु हुनेछ, आशा गर्दछु ।

१.कमेरड जबजको च्याप्टर क्लोज भयो कि खुल्लैछ ? विगत चार वर्षका सार्वजनिक भाषणको यूट्युव भिडियो, लेख, अन्तर्वार्ता र समाचारहरु पक्कै पनि हेर्ने गर्नुहुन्छ होला । यति ठूलो वैचारिक प्रश्नमा तपाईँको मौनताको अर्थ के हो ? नेपाली मौलिकताको जनवादी क्रान्ति पुरा भयो र अबको यात्रा समाजवादी क्रान्तिको हो । त्यो समुन्नत समाजवाद निर्माण गर्ने अबको कार्यभार र त्यसको अगुुवाई गर्ने नेतृत्वका बिचको अन्तरविरोधका कारण आजको समस्या आएको हो भन्ने तपाईँको संश्लेषण फेरियो कि यथावत छ ? प्रष्ट भाषामा एमालेको गएको महाधिवेशनमा विचार एउटाको र मूल नेतृत्वअर्काको टीमबाट आएको र नेतृत्वले इमान्दारीपूर्वक त्यो विचारको कार्यन्वयन नगरेको कारण समस्या आएको संष्लेषणको समाधान आजको सन्दर्भमा कसरी गर्दै हुनुहुन्छ ?

तपाईँले भनेको जबजको च्याप्टर क्लोज भएर समाजवादको यात्रा खुलेको हो वा पुरानै जबजको धुन बजिरहन्छ ? विचार र नेतृत्वका विचको अन्तरविरोधको समाधान कसरी गर्नुहुन्छ ? अनुनय विनय गरेर, विन्तिपत्र हालेर, जीहजुरी गरेर वा दृढतापूर्वक संघर्ष गरेर । प्रवृतिगत हिसाबले केपी ओली खराब छन् कम्युनिष्ट आन्दोलनको मूल जड हुन् तर संघर्ष गर्न सकिदैन उनकै काखमा, छत्रछायामा रहनु पर्दछ । सकारात्मक विष्लेषण र नकारात्मक संष्लेषण तपाईँ बाँचिरहेको जीवनको सबैभन्दा ठूलो विरोधाभाष हो । यस्तो अवस्था असाध्यै पिडादायी हुन्छ । हामीले चिनेको घनाश्याम र हामीले भोगेको घनाश्याम एउटै हो कि फरक हो ?

२. नेकापाबारे ।

माओवादी केन्द्र र एमालेका विचमा एकता हुनु नै गल्ति थियो वा एकता टिकाउन नसक्नु गल्ति हो ? एक्काइसौँ शताब्दीको समाजवादी क्रान्तिको कार्यभार पुरा गर्ने संकल्प बोकेको पार्टी प्राविधिक वा कानुनी कारण मात्रै विभाजन हुनु दूर्भाग्यपूर्ण हो । एकता हुनु सही थियो तर एकतालाई दीर्घजीवि बनाउन नसक्नु गल्ति हो । नेकपाभित्रको अन्तरसंघर्षलाई चर्काउन, सार्वजनिक गर्न र नेतृत्वलाई दबाब सृजना गर्नमा तपाईँको पनि उल्लेख्य हात छ भन्नेमा त सहमत नै हुनुहुन्छ होला । कार्लमाक्र्स द्धिशतवार्षिकि वरिपरिका गतिविधि हेर्ने जो कोहीले पनि सहजै त्यो निष्कर्षमा पुगिहाल्छ । एकातिर, जुन नेतृत्वका विरुद्ध जेहाद छेड्नु भयो उसकै नेतृत्वमा सुटुक्क मन्त्री खाना जानुभयो । विचारको जामा पहिरिएर पदको सिढि चढ्नु अवसरवाद हो भन्ने कुरा मलाई भन्दा बढी कमरेडलाई नै थाहा छ । अर्कोतिर, कमरेड प्रचण्ड र कमरेड माधवलगायतलाई रुख चढ्न उक्साएर फेद काटेको अनुभूति हुँदैन र कमरेड ?

पार्टीभित्र अन्तरसंघर्षको खास उद्देश्य के थियो ? एकता संघर्ष रुपान्तरण । एकता संघर्ष फूट । एकता संघर्ष संझौता । एकता संघर्ष आत्मासमर्पण । राजनीतिक जीवनको यति लामो अवधिमा केपी ओली प्रवृत्ति पक्कै चिन्नु भएको थियो होला । संघर्षको अधिकतम र न्यूनतम लक्ष्य थियो होला । अहिले त दशबुँदेको लंगौटीले नछोपेको लाजले आत्मासमर्पण तिर पो पुर्यायो । के पार्टीभित्र अन्तरसंघर्ष गर्नु गल्ति थियो भन्ने निष्कर्षमा पुग्नु भएको हो ? तपाईँले गर्नु भएको दशबुँदेले दुुई दुई पटक संसद विघटनलाई प्रतिगमन भन्छ वा इतिहासको आवश्यकता ? दशबुँदेको वैचारिक धरातल के हो ? यो त इतिहासप्रतिको भद्दा मजाक भएन र ?

३. कमरेड, तपाईले नयाँ पार्टी बन्न नसक्ने दलिलमध्ये भूराजनीति र देशको आन्तरिक अबस्थालाई उल्लेख गर्नु भएको छ । पार्टी भित्र अन्तरसंघर्ष चले यता देश बाहिर न त देशभित्र उल्लेख्य फेरबदल भएको छ । बरु अफगानिस्तानबाट नाटो सहीत अमेरिकी सेनाको लज्जाजनक फिर्ती र तालिवानको पुनरागमनले सकारात्मक नै सन्देश प्रवाहित गरेको छ । भलै हामी तालिवानको राजनीतिसँग सहमत नहौँला । सवालनयाँ पार्टी बनाउने कि नबनाउने भन्ने होइन बरु नयाँ संष्लेषणलाई लागु गर्न कम्युनिष्ट शक्तिको केन्द्रीकरणको हो । नयाँविचार, संकल्प र संगठनको आधारमा । विज्ञानको विकासलाई चुनाव चिन्हजस्तो प्राविधिक कारणले असम्भव देख्नु झनै नमिल्दो कुरा हो । गोयलको मन्त्रणा र संसद विघठन विच सम्बन्ध देख्ने विष्लेषण त यहाँहरुकै हो क्यारे । चौथाइवालेको आगमन र हतार हतारको सहमतिविच साइनो छ होला भन्ने त म कल्पना गर्दिन । तपाईँको क्रान्तिकारी विचारको गर्जनलाई दुनियाँको कुन चाहिँ भूराजनीतिले रोक्ला र ? के तपाईँ एक्काइसाँै शताब्दीको स्पार्टाकश बन्न तयार हुनु हुन्छ ? वा यसको विपरित ।

४. रामराज्य, नयाँ अयोध्याको खोजी, सुनका गजुर, हिन्दु राज्य , एकछत्र एकल नेतृत्व,विचारको विकास र कम्युनिष्ट आन्दोलनको तथाकथित लोकतान्त्रीकरणका विचमा कतै पनि संगति देखिदैन । माक्र्सवादको त छेउटुप्पो पनि भेटिदैन । दशबुँदे सहीतको एमालेमा कमरेडको भूमिका के होला ? आधुनिक विज्ञानको विकास र मध्ययुगिन धर्मान्धताको विचमा कुनै मेल हुँदैन । यो गम्भिर विश्व दृष्टिकोणको सवाल हो । के कमरेड पनि बालेकोटबाट ‘बा’सँगै रथयात्रा गरेर ठोरी तिर लाग्ने हो र ? म कमरेडलाई कम्तिमा बेलायती विकासवादी जीव वैज्ञानिक रिचर्ड डकिन्सको द गड डिलुजन पढ्न विनम्रतापूर्वक सुझाव दिन्छु र दशबुँदेमा समावेश गरेर बालाई पनि पढाउन अनुरोध गर्दछु ।

५. कतिपयले भन्ने गर्दछन् एमालेको आन्तरिक मामिलामा माओवादीलाई के चासो । सामान्य आँखाबाट हेर्दा यो ठिकै जस्तो लागे पनि गहिरो गरी हेर्दा उत्तिनै खतरनाक । पार्टीहरु भनेका सार्वजनिक सरोकारका सवाल हुन् । हामीजस्ता बिसौँ वर्ष कम्युनिष्ट आन्दोलनमा खर्चेका नेता कार्यकर्ता मात्रै होइन आम जनताको पनि उत्तिकै सरोकारको विषय हो । न त एमाले, न त माओवादी वा न त काँग्रेस वा अन्य दलहरु सबैका सवालमा सार्वजनिक बहश हुनु स्वभाविक मात्रै होइन अत्यावश्यक पनि छ । एमाले विभाजनमा चिन्ता र चासो राख्ने हामीहरुले नेकपा विभाजनमा पनि उत्तिकै चिन्ता र चासो राख्नु पर्दछ । तसर्थ यो हाम्रै सवाल हो भन्ने म ठान्दछु । हाम्रो सवालमा हामी किनन बोल्ने ?

६. आज हामी शिकार तथा भोजन संग्रह, कृषि युग, औद्योगिक युगपछि डिजिटल युगमा प्रवेश गरेका छौँ । होमो सेपियन्सले विगत दुई लाख वर्षमा नगरेको, नभएको विकास विगत दुई दशकमा भएको छ । भविष्य हामीले सोचेभन्दा तिव्र रुपमा बदलिइरहेको छ । हाम्रो सोच्ने तरिकामा, हाम्रो काम गर्ने तरिका र हाम्रो बाँच्ने तरिकामा व्यापक फेरबदल आएको छ र यो क्रम जारी छ । हामीले दर्शनमा, सिद्धान्तमा, विचारमा, संगठनात्मक सिद्धान्तमा र कार्यशैलीमा व्यापक विकास गर्नुपर्ने भएको छ । हामी सुल्टो बाटो हिँड्नु पर्ने कतै उल्टो भयो कि ? विज्ञानको विकास भिडले निर्धारण गर्दैन । संख्याले निर्धारण गर्दैन । कतै कमरेडमा आफैप्रतिको विश्वासमा लघुताभास पो देखा पर्यो कि ?

७. अन्तमा, म कमरेडलाई सत्यानास हुने वा विजय हुने बाटो रोज्न अनुरोध गर्दछु । पटक पटक अपमानको विष पिउनभन्दा विद्रोहको बाटो रोज्नु सर्वोत्तम हुुन्छ होला । तपाईँले भनेको सर्वोत्तम बाटो भनेको त मुसीको बिहे जस्तो भयो । एमालेका मान्छे एमालेमै रहन पनि के त्यत्रो माथा पच्चि गर्नु र सफलता हात पारेकोमा गर्व गर्नुपर्दछ र ? एमालेका मान्छे एमालेमै रहन निवेदन, अनुनय र सहमति अनि गौरव बोध ? अचम्म । कमेरड एक शुभचिन्तकको हैसियतले भन्छु देशकै आशालाग्दो नेता विचारकबाट विचौलियामा रुपान्तरण नभइदिनुहोस् । विचारक भनेको घनाश्याम जस्तो होओस् भन्ने ठाँउ राखिदिनुहोस् । बाटो हिँड्न त तपाईँ स्वतन्त्र हुनुहुन्छ । कथंकदाचित तपाईँ हिड्न सक्नुहुन्न भने तपाईँले प्रशिक्षित गरेका निश्कलंक र क्रान्तिकारी युवा, विद्यार्थी र तमाम कमरेडहरुको उत्साहमा चिसो पानी नखन्याइदिनुहोस् ।
तपाईँको हितैसी
रामदिप आचार्य

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *