काठमाडौं । नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माइला लामालाई काठमाडौंमा प्रहरीले पक्राउ गरेपछि अहिले सर्वत्र उनको पक्राउको विरोध भइरहेको छ ।
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा जनवादी कलाकारको रुपमा उदाएका उनी विप्लवका विश्वासपात्र हुन् । जनयुद्धकै क्रममा आन्तरिक दुर्घटनमा परी उनले एउटा कान र आँखा गुमाएका छन् ।
२०७३ साल असार महिनाको कुरा हो, उनै माइला लामाले हामीले समय मागेको एक सातापछि उनलाई भेट्नका लागि कलंकीस्थित एक नीजि घरमा बोलाए । हामी पुग्दा उनी पार्टीका आन्तरिक बैठकमा व्यस्त रहेछन् ।
हामीले प्रतिक्षा गरेको झण्डै डेढ घण्टापछि उनी बैठकबाट निस्किए र सुरुमै भने, ‘अरु बैठकले गर्दा ढिला भयो, सरी है ।’ हामीले पनि केही छैन दाई भन्दै कुराकानी सुरु ग¥र्यौ । कुराकानीको क्रममा बढी सैद्धान्तिक विषयवस्तुमा केन्द्रित हुन खोजेका उनलाई हामीले तपाईहरुले ‘बन्दुक उठाउने हो या होइन ?’ भन्ने प्रश्नकै जवाफ खोज्यौँ । प्रस्तुत छ, उनै लामासँग गरिएको कुराकानीको सम्पादित् अंश उनकै भाषामा ।
– – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – – –
‘काठमाडौं अर्थात तत्कालीन सत्ता कब्जा’ गर्ने तत्कालीन नेकपा माओवादीको मुल रणनीति अनुरुप बन्दुकको सहारा लिएर हामी १० वर्षसम्म निरन्तर युद्धमा होमियौँ । उक्त युद्धमा एक छापामारका साथै गीत तथा संगीतकारको रुपमा मैले आफ्नो भूमिका निभाए ।
जनयुद्धमा मैले जनवादी कलाकारको रुपमा आफ्नो परिचय बनाए । धेरै साथीहरुको माया र स्नेह पाए । युद्धकै क्रममा आन्तरिक प्रशिक्षणका क्रममा प्राविधिक घटबढी हुँदा मृत्युको मुखमा पुगे । २०५४ सालमा घाइते बनेपछि मैले एउटा कान र आँखा गुमाए । त्यो आन्तरिक घटनाबाट बाँचिएपछि मलाई धेरैले जनयुद्धका ‘जिउँदो सहिद’ पनि भन्छन् ।
माओवादीको शान्तिपूर्ण राजनीतिको प्रारम्भसँगै विभिन्न खालका बहसहरु उठ्यो । पार्टी नेतृत्व, पार्टीको कार्यनीति र रणनीतिका विषयमा मतान्तर बढ्दै गएपछि जनयुद्धका एकढिक्का माओवादी विभाजनको श्रृङ्खला प्रारम्भ भयो । ०६९ सालमा तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मोहन वैद्य किरणले सम्बन्ध विच्छेद गर्दै नेकपा–माओवादीको स्थापना गरे । प्रचण्डसँग सम्बन्ध विच्छेद गर्दै गर्दा वैद्यले गरेको प्रतिबद्धता पूरा नगरेपछि फेरि ०७१ मंसिरमा नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी (हाल नेकपा) गठन गरे । त्यसपछि म हाम्रो पार्टी नेकपाका महासचिव विप्लवसँगै छु ।
बजारमा केही वर्षयता हाम्रो पार्टीले युद्धको तयारी गरिरहेको छ भन्ने हल्ला फिजिरहेको छ । म तपाईको सञ्चारमाध्यमबाट सबैभन्दा पहिला के कुरा प्रष्ट पार्न चाहन्छु भने, हामी कसैको विरुद्ध युद्धमा जाँदैनौँ । जनताको जनजीविकाको समस्या समाधान भएको खण्डमा हामी युद्धमा जान आवश्यक छैन । तर, झन्झन् जनतालाई दुख दिने गरी सरकारी तवरबाट काम भयो भने हामी एउटा सशक्त आन्दोलनमा जान्छौँ । त्यो आन्दोलनका निम्ति हामीले बन्दुकको सहारा लिनु अस्वभाविक हुँदैन ।
अहिले किन बन्दुक उठाउने त ? माओवादीले १० वर्ष बन्दुक उठाएर के पायो ? गणतन्त्र आइसक्यो, राजतन्त्र हटिसक्यो, संघीयता स्थापना भइसक्यो, समावेशि समानुपातिकता संविधानमै उल्लेख भइसक्यो, धर्मनिरपेक्षताको व्यवस्था छ, यस्तो अवस्थामा फेरि किन युद्ध ? हाम्रो अगाडि यस्ता धेरै प्रश्न उठाउनेहरु पनि छन् । तर, अहिलेको सरकार कसरी अगाडि बढिरहेको छ भन्ने कुरालाई राम्रोसँग नियाल्यो भने पनि ती सबै प्रश्नको जवाफ मिल्छ ।
म फेरि प्रष्ट पार्न चाहन्छु, हामी बन्दुक उठाउने लक्ष्यमा छैनौँ । तर, हामीले बन्दुक उठाउनैप¥यो भने त्यसका केही मुलभूत कारणहरु छन् । त्यसलाई म यहाँ राख्न चाहन्छु ।
१. जनसत्ता स्थापनाका लागि
पटक–पटक देशमा क्रान्ति र युद्ध भए पनि जनताको सत्ता हालसम्म स्थापना भएको छैन । यो देशमा जनताको सत्ता छ भने जनततालाई दुख दिने नियतले कर बढाउन नहुने हो । बलात्कार, हिंसा लगायतका घटना झन्झन् बढ्दो छ । यसको नियन्त्रणमा सरकार लागेको देखिँदैन । त्यसकारण हामी जनताको समर्थनमा जनताको सत्ता स्थापनाका निम्ति युद्धमा जान्छौँ । किनकी जनसत्ता ‘बन्दुक’ को नालबाट नै जनसत्ता स्थापना हुन सक्छ । यो कदम हाम्रो जनताको सेवा गर्न र खुशी दिलाउन बाहेक अरुमा कदापी केन्द्रित हुने छैन ।
२. नेपालको स्वाधीनतामाथी विदेशी हस्तक्षेप
विगतदेखि नै नेपालको स्वाधीनतामाथी विदेशी हस्तक्षेप कायम रहेको कुरा सर्वविदित्तै छ । अहिलेसम्म त्यसले निरन्तरता पाइरहेको छ । अझ फेरि निरन्तरता पाएको खण्डमा त्यसको प्रतिरोधका निम्ति युद्धको भूमिमा जाने बाहेक हामीसँग विकल्प रहँदैन । विदेशी हस्तक्षेप रोक्न हामी युद्धको मैदानमा उत्रिनेमा कसैले आशंका नगरे हुन्छ ।
३. देशको स्वाभिमान भारतले लिएमा
नेपालको स्वाभिमान भारतले लिने क्रम विगतदेखि नै जारी छ । अब पनि नेपालको स्वाभिमानमाथी भारतले आँखा लगाई स्वाभिमान लिन्छ भने त्यसको प्रतिवादका निम्ति हामी बन्दुकको सहारा लिन बाध्य हुन्छौँ ।
४. श्रमिकको खुशी लुटिएमा
स्वतन्त्रतापूर्वक खुशीको जीवन बिताउन चाहने नेपालका लाखौँ श्रमिकवर्गप्रति सरकारले दुख दिएको यथार्थता हामीसँग छ । अहिले पनि सरकारले श्रमिकवर्गलाई नै दुख दिइरहेको छ । अब यो क्रम कायम रहेमा र श्रमिकको खुशी लुटेमा हामी युद्धमा जान्छौँ । नेपालका किसान, मजदुरहरु, श्रमिक, जो यो देशमा खुशीको जीवन जिउन चाहन्छन् उनीहरुको जीवनको खुशी खोस्छन् भने त्यतिबेला हामी उनीहरुलाई खुशी दिलाउन बन्दुक लिएर सरकारविरुद्ध लड्छौ ।
५. समाजलाई पछाडितिर धकेलेमा
नेपाली युवाहरुलाई देशमै रोजगारी देऊ भन्दा या सामाजिक विकासलाई अग्रगामी दिशामा लैजाऊ भन्दा समाजलाई पछाडि धकेल्न खोज्छ भने त्यसको प्रतिवादका निम्ति हामी बाध्य भएर युद्धमा जान्छौँ । जनसमर्थनमा हुने युद्धको नेतृत्व गर्न हामी पार्टी पछाडि हट्दैन । समाजलाई अग्रगामी दिशामा लैजाने कुराको नेतृत्व गर्न हामी तयार छौँ ।
६. भ्रष्टचार, महंगी र कालोबजारी रोक्न
देशमा दिनानुदिन कालोबजारी, भ्रष्टचार र महंगी हुँदा समेत सरकार मौन छ । पछिल्लो समय हाम्रो पार्टीले भ्रष्टचार, महंगी र कालोबजारी रोक्न भूमिका निभाउँदा सरकारले गिरफ्तारी गर्ने लगायतका काम गरिरहेको छ । सरकारले गर्नुपर्ने हामीले गर्दा हामीलाई उल्टै दुख दिने नियतका साथ सरकार अघि बढिरहेको छ । सरकार कालोबजारी, भ्रष्टचारीको संरक्षक बनेको खण्डमा हामी बन्दुकको सहारा लिएर सरकारको विरुद्ध लड्छौँ ।
७. प्राकृतिक स्रोतसाधनमाथी विदेशी हस्तक्षेप रोक्न
नेपालको प्राकृतिक स्रोतसाधनमाथी विदेशीले आँखा लगाएको र त्यसमा नेपालको राजनैतिक दलको सहभागिता रहेको कुरा हामीलाई थाहै छ । प्राकृतिक स्रोत साधनमाथी विदेशी हस्तक्षेप जारी रहे लडाई लड्ने उद्घोष गर्न चाहन्छु ।
२०७३ साल असारमा नेता लामासँग उज्यालो नेटवर्कका प्रधान सम्पादक बुद्ध लोप्चनले गरेको कुराकानीमा आधारित ।