बालकोटे बार्दली र बहिर्गमनको वियोग !

मिन बहादुर सुनुवार ‘सुमन’ ५ श्रावण २०७८, मंगलवार

द्वन्द्ववादको नियम अनुसार हरेक वस्तुको विकास र विनाश हुनुमा आन्तरिक पक्ष प्रधान हुन्छन् । बाहिरी पक्ष गौण हुन्छ । हेगेलले धेरै पहिले द्वन्द्ववादी सिद्धान्त प्रतिपादन गरेका भए पनि आजसम्म यसको महत्व घटेको छैन । पछिल्लो समयमा केपी शर्मा ओलीको प्रवृत्ति र व्यवहारले यसलाई झन थप पुष्टि गरिदिएको छ । र, द्वन्द्ववादको यो अकाट्य नियम अझ धेरै वैज्ञानिक हुँदै गएको छ । किनभने कहिल्यै भुल्नु नहुने विषय भनेको ओलीको सत्ता आरोहण कम्युनिष्ट पार्टीको एकताबाट मात्र संभव भएको थियो । बृहत कम्युनिष्ट अथवा बाम घटकहरु बीचमा भएको चुनावी गठबन्धन र पार्टी एकीकरणसम्म आइपुग्दा देशमा कम्युनिष्टहरु शक्तिशाली भए ।

र, नेपाली जनता पार्टी एकताको पक्षमा थिए । सकेसम्म नेपालमा राजनीतिक दलका अनगिन्ती पसलहरु बन्द होस् र केवल दुई तीन वटा दलहरु बीचमा समृद्धि र स्थायित्वको सवालमा लोकतान्त्रिक प्रतिस्पर्धा होस् भन्ने जनभावना थियो । वास्तवमा सिद्धान्त मिल्नेहरुसँगको एकता अप्राकृतिक थिएन पनि । त्यसकारण, विचारधारात्मक कार्यदिशाको समान्ताको जगमा दुई ठुलो कम्युनिष्ट दहको बीचमा एकीकरण हुनु स्वभाविकै थियो ।

कम्युनिष्ट एकताको शक्तिबाट नै ओलीले आफुलाई दुई पटकसम्म देशको नेतृत्व गर्ने स्वर्णिम अवसर पाए । यसैको आढमा राष्ट्रवादी र विकासवादीको छवि बनाउँन केही हदसम्म सफल नभएको पनो होइन । तुइन विस्थापन, पानी जहाज, रेल, पेट्रोल खानी लगायतका विकासको नारा जनजिब्रोको मीठो स्वाद नै भैसकेको अवस्था थियो । देशमा राजनीतिक खुरापाती गफलाई विकास र समृद्धिको बहसले उछिन्दै थियो । माहौल विकासको थियो । विकासको पछौटेपनबाट वाक्क दिक्क भएको जनताहरुमा समृद्धिको भाषण र कथाहरूबाट सर्वसाधारण जनता मख्ख हुँदै थिए । अनि विकासे आशाको किरण भत्किएको झ्याल र चुहुने छानोबाट छिरेर गरिबका खाली भाडा र निभेको चुलोसम्म पुग्थ्यो ।

समय यस्तो सम्म भयो कि ओलीको समृद्धिको भाषण दिनमा एकपटक नसुने टन्न खाए पनि केही नखाएको जस्तो र मस्त सुते पनि निन्द्रा नलागेको जस्तो भान हुन्थ्यो । त्यो समृद्धि अथक मिहिनेतबाट प्राप्त गर्न वर्षौं लाग्ने भए पनि सायद भोलि विहान नै टुप्लुक्क अगाडि आउँछ जस्तो लाग्थ्यो । पररर तालीको गडगडाहट र हाँसोको फोहोराले मान्छेहरू निन्द्रामा समेत खित्का छोड्दै हास्ने बानी परेका थिए । अवश्य पनि त्यो बेला ओली बाको क्रेज फुटबलको पेले भन्दा कम थिएन । उहाँ विकासे गफमा फुटबलको पेले जस्तै प्रतिभाशाली थिए भन्दा किमार्थ फरक पर्दैन । दुःखको कुरा ती विकासे गफहरु उडन्ते र आधारहीन काल्पनिक हुँदै गयो, जुनमा समाजवादको जग हाल्ने ससाना कामहरू समेत ल्याकत राख्न सकेन ।

ओली बाको गुट र पुच्छरहरु उहाँको गुणगान, भजन कृतन र आरतीमा तल्लीन हुँदै गए, जुन भजन कृतन कम्युनिष्ट सिद्धान्त र आचरण भन्दा निकै टाढा पुगिसकेको थियो, र त्यसले पुजीवादी क्रान्ति पछिको संक्रमणकालिन समाजवादलाई जोड्ने साँघुको भूमिका खेल्न सकेन । किनभने उहाँको देवत्वकरण नभएको होइन, । र आम जनता किं कर्तव्य विमुख भए । तर आम जनताले ओली बाको रुप र सार प्रवृत्तिलाई बुझ्न सकेनन् । किनभने ओली बाको बाहिर आबरण झट्ट हेर्दा आहा थियो । हो क्यारे नै थियो । अति सुन्दर थियो । तर ओली भित्रको सार भने लामो, तिखो र धारिलो दार्हा जस्तै थियो, जसले जनताको सार्वभौम संसदलाई खसी छिनाए झैं चर्लक्क छिनायो । पार्टीका अनेकन गुटहरु एकपछि अर्को भ्रष्टाचारको काण्डैकाण्ड मुछियो । बाको असंवैधानिक प्रतिगामी हर्कतले यसलाई थप पुष्टि गर्यो ।

समय बित्दै गयो र ओली बाको वचन र व्यवहारमा सामिप्यता देखिन छाड्यो । निश्चित गुटको मात्र नेता हुँदै सिङ्गो पार्टीको विचार र आवाजलाई नजरअन्दाज गर्दै गए । स्वच्छेचारी र मनोमानी आचाणलाई दिनप्रतिदिन अङ्गाल्दै गएपछि पार्टी एकताको स्प्रीटलाई कम्जोर बनायो । आसेपासे र चाकडीवाजको जराहरुले बा ठक्क बलियो गरि अडिरहेको भान हुन्थ्यो । तर पनि पार्टीभित्र तीव्र अन्तर्विरोध हुर्किँदै थियो । त्यो अन्तर्विधले पार्टीलाई झन गतिशील र संगठित बनाउनु पर्ने तर त्यस्तो भएन । बरु क्रान्तिकारी पार्टीको मूलोच्छेदन गरिदियो । ओली बाले आन्तरिक द्वन्द्वलाई गतिको नियममा बुझेनन् । एकता, संघर्ष र रुपान्तरणको नियमलाई व्यक्तिवादी भिमकाय सोचले सर्लक्कै निल्यो, जुनबेला पार्टीका मूर्धन्य नेताहरूको सुझाव सल्लाह ओली बाको ठूलाठूला प्रतिमाको छायाँमा ओझेल परिसकेको थियो । समाजवादको संकल्प त्यहाँ दुर्घटना हुँदै थियो, जुन बेला भारतीय खुफियाका एजेन्टलाई सुटुक्क बालुवाटारमा निम्तो गरियो ।

ओली बाले इतिहासले दिएको चुनौती र सुबर्ण अवसरलाई केटाकेटीले खेल्ने भाडाकुटी खेल जस्तै ठाने । उहाँको पाँच वर्षे कार्यकालमा विकास यसरी गर्न सकिन्छ भन्ने नमुना दिन सकिन्थ्यो । गफै गफमा ओली बा देशको प्रधानमन्त्री हुँ भन्ने कुरा बिर्सदै गए । बरु उखान र टुक्काको एल्बम नै बन्यो । ठुलाठुला कन्सर्ट नै भयो भन्दा फरक नपर्ला । जनताको लागि गुणस्तरीय र निशुल्क शिक्षा र स्वास्थ्यको चाजोपाजो मिलाउने काम भएनन् । रोजगारीको सङ्ख्यामा वृद्धि गर्न सकिएन । अभाव र गरीबीमा बाचेका लाखौं लाख जनतालाई वास्तविक लोकतन्त्र र संघीयताको अनुभुती दिन सकिन्थ्यो । पहिलो पाँच वर्षमा समृद्धिको आधार निर्माण गर्न सम्भव थियो ।

किनभने क्रान्ति र समृद्धिले छलाङ मार्नका लागि बस्तुगत र आत्मागत परिस्थितिहरु परिपक्व हुनुपर्छ । बस्तुगत परिस्थिति जनताको पक्षमा थियो । र, जनताले सुविधाजनक बहुमत दिएकै थिए । तर आत्मागत परिस्थिति रुढीबादमा अल्झिएको थियो । नेतृत्व व्यक्तिवादी सोच र स्वार्थमा लिप्त हुँदै गए । पार्टीको समाजवादमा पुग्ने त्यो सिद्धान्त नेतागणको व्यवहार र आचरणले ध्वस्त हुँदै गयो । कम्युनिष्टहरुको सिद्धान्त र व्यवहारलाई आम जनताले कुरि कुरि भन्दै जिस्काउन थाली सकेको थियो । अभावको चाङ नै चाङ भएको देशमा धेरै अपेक्षा गर्न नसके पनि केही निश्चित आधारको निर्माण गर्ने ठुलो चुनौती र अवसर थियो, त्यहाँ सफल हुँदै गएको भए ओली बा एउटा झुंडको मात्र बा होइन करोडौं नेपालीले उहाँलाई हृदयदेखि नै बा भनेर सम्बोधन पक्कै गर्ने थिए । बा, जसले समृद्धिको जग निर्माण गरे भन्नेथे ।

दुःखको कुरा उहाँको भनाइ र गराइमा पट्क्कै मेल खाएन । ठुलो त्याग र बलिदानबाट निर्माण भएको कम्युनिष्ट एकतालाई कुशलतापुर्वक नेतृत्व गर्न सक्नु भएन । नेपालको राजनीतिमा आवश्यकताले जन्मिएको बृहत कम्युनिष्ट पार्टीको सिद्धान्त र विचार अनुसार समाजवादको पथमा नेतृत्व गर्न नसकेकै हो । आखिर ओली बाले झण्डै दुई तिहाई मत प्राप्तसँगै स्थायीत्व र समृद्धिको अपेक्षा गरेकै थियौं । आज के हासिल भयो ? बृहत नेपाल कम्युनिष्ट पार्टीको ध्वस्त, एमाले पार्टी विघटनको संघार र माओवादीका केही नेताहरुलाई पार्टी निस्कासन घटनाको शृङ्खलाहरु घट्दै गए । ओली बाको आवेग र क्रोधको प्रहारले सार्वभौम प्रतिनिधि सभाको पटकपटक हत्या भयो ।

सामाजिक र आर्थिक क्रान्ति गर्छु भन्नेले नै प्रतिक्रान्ती गरे । नेपालको राजनीति फेरि ओली बाको नोकरशाही प्रवृत्ति र प्रतिगमनको हम्मरले मराणसन्न भयो । राज्यव्यवस्था अस्तव्यस्त भयो । यहाँ प्रष्ट हुनुपर्ने के छ भने ओली बाले धेरै उखान टुक्काहरु भन्नुहुन्छ तर ‘बादरको हातमा नरिवल’ भन्ने उक्ति चाहिँ कहिल्यै भन्नुभएन । बालकोटको बार्दलीबाट धारे हातले त्यो व्यक्तिलाई तथानाम गाली गर्दै हुनुहुन्थ्यो, जसले उहाँलाई शक्तिशाली कम्युनिष्ट पार्टीको अध्यक्ष मात्र बनाएनन, देशको प्रधानमन्त्री समेत बनाए । देश हाक्ने जिम्मेवारी दिएकै थिए । उहाँले पार्टी ध्वस्त पार्नु भयो अनि संसदको विनाश गर्नुभयो । सबै लथालिङ्ग भताभुङ्ग ।

तर सबैभन्दा नरमाइलो चाहिँ जनताको मन भाच्नु भयो । जनताको आशा र अपेक्षालाई खुलेआम रुपले कहिल्यै नजोडिने गरि तोड्नु भयो । अचम्म लाग्छ बाको बिदाइ धुमधामसँग करोडौं जनताले फुलमाला र अबिरबाट गर्न चाहन्थे त्यो चाहना अब अर्को युग बनेर नआउँने नै भयो । केपि बा आइ लभ यु भन्नेको केही लर्कोको साथ आफ्नो ठुलो पोस्टर बोकेर बालकोट प्रस्थान भयो । यसतो घटना बिरलै देख्न पाइन्छ । बालकोटे बार्दलीबाट वहिर्गमनको आलप विलापमा नेपाली जनता दुःखी पटक्कै थिएनन् । बरु बाको वहिर्गमनमा खुशी थिए । तर ओली बा सत्ता र शक्तिबाट अकल्पनीय रुपले गर्लामगुर्लुम्म ढल्दा अत्याधिक बिछिप्त हुनुभयो । उहाँ झरी जस्तै क्वाक्वा गर्दै आफ्नो विलौना केही भिडको अगाडि पोख्दै हुनुहुन्थ्यो । तर आम जनताले बुझिसकेको थियो कि यी सबै ओली बाको नौटन्की नै हो ।

अब ओली बा कथित फुटबलको पेले जस्तै हो भन्नेको खुट्टाबाट बल जनताको तागतबाट खोसेर मानौं मेरोडोनाको खुट्टामा बल पुगेको छ । उहाँले समृद्धिको जग कसरी निर्माण गर्नुहुन्छ जनताले हेर्नेछन । उहाँलाई पनि ठुलो आरोप छ । परिवारवादले समृद्धि पटक्कै ल्याउदैन । उहाँको सिद्धान्त लोकतान्त्रिक समाजवाद हो । तर त्यो समाजवाद भनेको हुनेखानेको लागि मात्र हो त? कि आम जनताको हो? समाजवादमा त जनताको लागि निशुल्क अनि गुणस्तरीय शिक्षा र स्वास्थ्यको व्यवस्था हुनुपर्छ । भए भरका नेताहरूले निजि विद्यालय र अस्पताल खोल्दा समाजवाद आउँछ ? पैसा कमाउने अनि नाफाको व्यवसाय गर्ने हो भने उधोगपती र व्यवसायी हुँदा उत्तम होला । राजनीति भनेको पैसा कमाउनु हैन । यो गलत संस्कारलाई लोकतान्त्रिक समाजवादी सिद्धान्त आत्मा साथ गरेकाहरुले बुझ्नुपर्छ कि पर्दैन? उहाँ प्रधानमन्त्री भएको कति पटक भयोसँग सरोकार छैन । सरोकार जनताले निशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ्य पाएका छन् कि छैनन् । सबै जनताको पहुँचमा सामाजिक सुरक्षा छ त? अनि कति सङ्ख्यामा रोजगार सिर्जन हुँदै छ ।

आज न्यु दिल्लीका मुख् मन्त्री केजरिवालले लाखौं करोडौं सम्मको स्वास्थ्य जनताको लागि निशुल्क छ । शिक्षा निशुल्क । २ सय ५० युनिट विद्युत निशुल्क । महिलालाई सार्वजनिक सवारी निशुल्क । अनगिन्ती रोजगारी । तर उहाँ मुख्य मन्त्री पाँच पटकसम्म भएका छैनन् । लोकतान्त्रिक समाजवादको मन्त्र जप्नेहरुले यो यथार्थलाई बुझौं । नत्रभने बालकोटको बार्दलीलाई जनताले जसरी चिनेको छ बुढानिलकण्ठको बार्दली पनि त्यसरी नै जानेको छ । आशा गरौं बालकोटे बार्दलीबाट झैं बुढानिलकण्ठको बार्दलीबाट वहिर्गमनको वियोग जनताले देख्न र सुन्न कदापि नपरोस् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *