कुनै समय म्यूजिक अवार्ड भनेपछि एकदम महत्व हुन्थ्यो, अवार्ड फलानोले पायो रे भन्ने सुन्दा पनि अचम्मै लाग्थ्यो, डाहाले छट्पट् हुन्थ्यो, अवार्ड पाउने कलाकारको शीर उचो हुन्थ्यो, त्यही अनुसारको फुर्ति पनि हुन्थ्यो र अवार्ड पाए अनुसारकै सम्मान र मूल्य पनि पाउॅथ्यो, अझ अवार्ड पाउने कलाकारहरुलाई बिदेश भ्रमणमा जाॅदा भिसा प्रकृयाको लागि समेत बलियो आधार हुन्थ्यो । त्यत्तिबेलाका अवार्ड पाउने गीत, संगीत र शब्दहरु उत्तिकै राम्रा र चलेको पनि हुन्थ्यो, त्यसैगरी अवार्डको आयोजना गर्ने संस्था पनि नाम चलेको/सुनेको हुन्थ्यो र अवार्डको आयोजना जो कोहीले गर्न पनि सक्दैनथ्यो ।
त्यो समयमा अवार्डको लागि चर्चित गीतहरु र त्यस सॅग सम्बन्धित कलाकारहरुको छनौट गरिन्थ्यो , गीत सञ्चार माध्यममा धेरै बजेको आधारमा , स्रोताको मन जितेको आधारमा र छनौटकर्ताहरुको नजरमा उत्कृष्ट ठहरेको आधारमा मात्रै छनौट गरि शर्टलिष्टमा नाम निकालेर मात्रै अवार्डको लागि अन्तिम प्रतिष्पर्धामा पठाईन्थ्यो । त्यस पछि प्राप्त अवार्ड र अवार्ड प्राप्त गर्ने कलाकार पो साॅच्चिकै अवार्ड अनि कलाकार हो जस्तो हुन्थ्यो ।
तर समय क्रमले बिस्तारै प्रबिधिको बिकास र परिवर्तनसॅगै त्यो बेलाका ती अवस्थाहरुमा छलाङ मार्दै गयो, धेरै भन्दा धेरै गीतहरु निस्किंदै गए, धेरै सञ्चार माध्यमहरु बढ्न थाले, कस्को गीत निस्क्यो, कसको म्युजिक भिडियो निस्क्यो भन्ने थाहा पाउन र चासो राख्न पनि गारो हुनथाले, त्यसरी नै कलाकारहरु पनि धेरै आउन थाले । हरेक क्षेत्रमै यसरी बढे की लेखाजोखा गर्न समेत मुस्किल हुन थाले । अनि हुंदा हुंदा त अहिले आएर त त्यो बेलाको जस्तो,कलाकारको कला र सृजनाको समेत महत्व र सम्मानमा कमी हुॅदै हुंदै आयो । कलाकारहरुले आफनो सृजनालाई बिक्री बितरण गरी आफनो लगानी उठाउने बाटो त उच्च प्रबिधिको बिकासले बन्द नै गरायो ।
यत्ति हुंदा पनि कलाकारहरु अबिचलित रुपले आफ्नो साॅगितिक क्षेत्रलाई अंगालिरहेकै छन्, सकी नसकी सृजनाहरु पस्कीरहेका छन् , झन लगानी बढेको अवस्था छ, त्यो बेला अडियो गीत मात्रै भए नि पुग्थ्यो त्यसैको राम्रो ब्यापार भयो भने मनग्गे आम्दानी पनि हुन्थ्यो तर अहिले अडियोले मात्रै हुदैंन भिडियो नै चाहिन्छ , भिडियो पनि थोरै लगानीले पुग्दैन । कम्तीमा पनि 60 हजार चाहिन्छ, राम्रो बनाउने हो भने त 1 लाख देखि 3 लाख सम्म लाग्छ । यत्ति गरिसकेपछि पनि मिडियाको लागि खर्च चाहिन्छ, अझ प्रबिधिको बिकासले प्रचार प्रसारमा चाॅहि धेरै सजिलो, छिटो र छरितो बनाएको छ । यो पक्ष चाॅहि कलाकारको लागि राम्रो नै मान्नुपर्छ । यत्ति गरेर गीत राम्रो सॅग चल्यो भने मात्रै कार्यक्रमहरुमा कलाकारलाई बोलाउॅछन् र त्यसबापत पाएको पारिश्रमिकले कलाकारले आफनो गुजरा र पेशा दुबै बचाउॅदै आईरहेको यथार्थ छ ।
राम्रो चलेको कलाकारको राम्रै आम्दानी पनि छ ,देश बिदेशमा पुगिरहेकै छ तर सामान्य कलाकारको अवस्था भने दयनिय नै छ, त्यसैले गर्दा पनि धेरै राम्रा कलाकारहरु पलायन भएको/ हुनुपरेको बाध्यत्मक अवस्था पनि छ । अर्कोतिर हल्का ब्यवसाय र आर्थिक अवस्था ठीकै भएका अनि बिदेशतिर दुखले कमाई रहेका नयाॅ नयाॅ कलाकारहरु यस क्षेत्रमा ओईरो नै लागेजसरी आएकाहरु पनि छन् । थोरै बाहेक धेरै त बिना ज्ञान , क्षमता आउने गरेकोले गर्दा पनि पहिलेको अवस्थामा भन्दा अहिलेको गीत संगीतको गुणस्तरमा कमी आएको भन्ने प्रशङ्ग पनि कता कता सुनिन र उठ्न थालेको छन् ।
यस्तो परिस्थितिमा पनि कलाकारहरु बीचमै अस्वस्थ प्रतिष्पर्धा भैरहेको छ र त्यस्तै अवस्थालाई बुझी कलाकारहरुबाट फाईदा लुट्नकै लागि अहिले आएर बिभिन्न संस्थाहरुको नाममा म्युजिक अवार्ड कार्यक्रमहरु देश तथा बिदेशमा समेत गर्दै आईरहेको छ। कतिपय संस्थाहरुले स्वच्छ प्रतिष्पर्धा र साॅच्चिकै गीत संगीतको बिकास प्रबर्द्धन र कलाकारको हितको लागि गरिरहेको छ भने कतिपय त कमाउ धन्दाकै रुपमा खुलेआम अवार्ड कार्यक्रमहरुको आयोजना गरेको पनि देखिन्छ । अझ भन्नैपर्दा अवार्डमा समेत किनबेचको होड बाजी नै चलेको तितो यथार्थ सुनिन्छ ।
यत्ति हुंदा र अवार्डको महत्वहीन हुंदा समेत एकथरीका कलाकारहरु अवार्ड कार्यक्रमहरुमा गीत दर्ता गर्ने अनि मोलतोल गरी किन्ने र फेसबुक लगायत सामाजिक सञ्जालहरु र केही निकटका अनलाईन मिडियालाई समेत पैसा खर्च गरी समाचार बनाउन लगाई प्रचार प्रसार गरी सस्तो लोकप्रियतामै रमाईरहेको अवस्था छ । न त पाउनेको मूल्य छ , न त दिनेको मूल्य छ , केवल सस्तो लोकप्रियता मात्रै पाईरहेको छ त्यसैको पछि अप्राकृतिक ढंगले लागिरहेको पनि छ ।
अझ बिदेशमा अवार्ड कार्यक्रम आयोजना गरी भिसा लगाईदिने र बिदेश पनि घुम्ने अवार्ड पनि पाउने डबल अवसर भन्दै मुल्यमा करार शर्तनाम गरी कलाकारहरु रमाई रमाई त्यस्ता कार्यक्रमहरुमा गैईरहेका छन् । जसले पाउॅछन् उसले एक,दुई थान अवार्डको फोटो राखी फेसबुकमा पोष्ट्याउॅछन् तर नपाउनेले फेरि कोकोहोलो मच्चाउॅछन् यस्ता भयो ,उस्तो भयो भन्दै ।
एउटा बिधामा फर्म भर्नको लागि 1000 देखि 3000 सम्म शुल्क तोक्छन्, त्यसमा कुनै नियम नै छैन, यसरी एउटै गीत संग , गायन, संगीत, शब्द ,भिडियो, निर्देशक, मोडल (केटा/केटी), क्यामराम्यान, कोरियोग्राफर गरी 9 ओटा बिधामा भर्न बाध्य बनाउॅछन् र लास्टमा एउटा बिधामा एकजनाले पाउछन् बजारमा 5/7 सय होलसेलमा पाउॅने अवार्ड । भनेपछि अवार्ड कार्यक्रम स्रष्टाको सम्मान हो कि ब्यापार हो ? यस्तो ब्यापारमा सहभागी हुने कलाकारहरु के हो ?
यी र यस्ता बिषयहरुमा कसले खबरदारी गर्ने ? कसले नियमन गर्ने ?सबै निकाय मौन छन् । अझै पनि यस्ता अवार्डकै लागि कलाकारहरु उत्साहित हुन्छन् । कम्तीमा त्यसरी पाएका अवार्डको मुल्य र मान्यताको त ख्याल गर्नु नि हजुर कलाकार महोदयहरु । यहाॅ त नियमन गर्ने कुनै निकाय छैन , कार्वाही गर्ने कुनै कानुन छैन , जसले जे गर्दा नि भो , “लुट्न सके लुट कान्छा ” भनेजस्तै ।
प्रस्तुत बिषयमा अहिलेका अवार्ड, आयोजक र सहभागीहरुको तितो यथार्थलाई बिषय उठानका रुपमा मात्रै उजागर गर्ने कोशिस गरेको छु , राम्रो गीत संगीत र स्रष्टाहरु प्रति सम्मान छ , मेहेनती र संघर्षशील कलाकारहरु प्रति पनि सलाम छ , तर जसले माथि भनिएजस्तै कार्यमा अझै सहभागिता जनाईरहेका छन् र अझै सस्तो लोकप्रियताको लागि ब्यापार गरिरहेका छन् उनीहरुप्रति खबरदारी छ ।