काठमाडौं, नेपालको तराइ(मधेश डुबानमा पर्नुमा भारतीय संरचना समेत दोषी रहेको सांसद तथा नेकपा नेता योगेश भट्टराईले बताएका छन् ।
भारतले बनाएका कतिपय संरचनाका कारण नेपालको तराइ–मधेश डुबानमा परेको उनको भनाइ छ। संसदमा सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममा सांसद भट्टराईले यस्तो बताएका हुन् ।
‘मित्र राष्ट्र भारतले बनाएका कतिपय संरचनाका कारण तराइ–मधेश डुबेको छ, धनजनको क्षति भएको छ’, सांसद भट्टराईले भने, ‘यसलाई नजरअन्दाज नगर्न मित्र राष्ट्र भारतलाई आग्रह गर्दछु।’
भारतीय संरचनाका कारण नेपाल डुबानमा परिरहेको र यो समस्यालाई कुटनीतिक पहलमार्फत् हल गर्नुपर्ने सांसद भट्टराईले प्रस्ट पारे ।
कांग्रेस नेता मिनेन्द्र रिजालले बाढीपहिरोका विषयमा बुधबार सांसदमा पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावप्रति भट्टराईले समर्थन जनाएका छन्।
त्यस्तै उनले प्रतिनिधी सभा बैठक सुचारु गर्न सहमत भएकोमा प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरुलाई धन्यवाद दिए ।
संसदमा बोल्ने क्रममा नेता भट्टराईले बाढिपहिरो लगत्तै नेपाल सरकारले तदारुकता राहत तथा उद्धार गर्ने, अवरोध हटाउने र क्षतिपूर्ति दिने कार्य गरेको भन्दै सरकारको समेत प्रशंसा गरेका थिए ।