निर्णायक खेलमा एमालेvsएमाले

बुद्ध लोप्चन १८ असार २०७८, शुक्रबार मुख्य नेटवर्क

टिप्पणी/
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (एमाले) निर्णायक खेलमा प्रवेश गरेको छ ।

२३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलापछि ‘एमाले’ संरचनामा फर्किएको एमालेलाई नवौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष खड्गप्रसाद ओलीले आफूखुसी नयाँ नियम बनाउँदै खेल सुरु गरेपछि विवाद उत्पन्न भएको थियो ।

जबकी एमाले–माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरविरोध र ओलीले प्रतिनिधिसभाको असंवैधानिक रुपमा ५ पुसमा विघटन गरेपछि नेकपामा दुई कित्ता बनेको थियो । जसमा ओली, रामबहादुर थापा एकातिर थिए भने कार्यकारी अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायत अर्को कित्तामा उभिएका थिए ।

तीमध्ये रामहादुर पूर्व माओवादी नेता थिए । माधव र झलनाथ पूर्व एमाले नेता थिए । नेकपाकै हैसियतमा कित्ताकाट भएकाले यसमा को माओवादी ? अनि को एमाले भन्ने प्रश्नै थिएन । प्रचण्डसँगै रहेका माधव र झलनाथ खनालको समुहले ओलीविरुद्ध आन्दोलन मात्रै तताइरहेका थिएनन्, ओलीलाई सत्ताबाट बहिर्गमन गर्ने गृहकार्यमा थिए ।

अलग–अलग अभ्यासमा जुटिसकेको पार्टी नेतृत्वलाई फेरि पुरानै अवस्थामा फर्किनुपर्ने ‘सर्वोच्च बाध्यता’ आइपर्यो, जसकारण ओली र माधव नेपाल पक्ष फेरि ‘एमाले’ मा रहे ।

तर, एमाले नाममा एउटा रहे पनि व्यवहार र काममा दुईवटा देखापर्यो । ओलीले आफ्नै पार्टीमा विपक्षी टिमको भूमिकाका रहेका नेतृत्वलाई सल्लाह गरेर पार्टीका विधि विधान अर्थात् खेलको नियम बनाउनतिर लागेनन् । बरु, आफूखुसी पार्टी निर्णय अगाडि बढाए र खेलका लागि मैदानमा एक्लै निस्किए ।

२८ फागुनमा महाधिवेशनबाट निर्वाचित पदाधिकारी खारेज गर्नेदेखि दशौँ महाधिवेशन कमिटि गठन गर्नेसम्मका काम ओलीले गरे । त्यसपछि निरन्तर ‘डिफेन्स’ मा रहेका माधव नेपाल पक्ष पनि अब भने निर्णायक खेलतिर अगाडि बढेका छन् ।

सर्वोच्च अदालतले एमालेको दशौँ महाधिवेशन आयोजक कमिटि खारेज गरेपछि ‘सर्वोच्च बाध्यता’ का कारण जेठ २ मा फर्किएका ओली समुह र २३ फागुनको सर्वोच्च अदालतको फैसलाले नेकपा खारेज गर्दै एमाले र माओवादी ब्युँताएपछि ‘सर्वोच्च बाध्यता’ का एमालेमा फर्किएका माधव नेपाल समुहबीच अब निर्णायक खेल हुँदैछ ।

तर, ओलीले फेरि यो बीचमा के चलाखी गरेका छन् भने जेठ २ को साटो जेठ ३ गतेबाट कायम रहेका एमाले केन्द्रीय कमिटि सदस्यहरुको बैठक बोलाएका छन् । ओलीको यो चालबाजी सर्वोच्चको फैसलासँग भने मेल खाएको देखिँदैन ।

२ जेठमा एमालेमा नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिति सदस्य मात्रै थिए भने ३ जेठ २०७५ मा आइपुग्दा एमालेमा नेकपा हुँदा थपिएका र माओवादीबाट नेकपामा केन्द्रीय समिति सदस्य रहेकाहरु पनि समेटिएका छन् । जुन बैठकमा जानका लागि माधव नेपालहरुलाई अप्ठ्यरो परेको छ ।

खेल सुरु भयो, विपक्षी टिम मैदानमा छैनन्
एमालेको केन्द्रीय कमिटि बैठकमा सुरु भएको छ । यसबाट के बुझिन्छ भने एक्लै मैदानम रहेका ओलीले विपक्षीबिना नै खुल सुरु गरेका छन् ।

महाधिवेशन आयोजक कमिटि खारेज गर्दै एमालेले बोलएको यो बैठकमा केही सहमतिसहित माधव नेपाल पक्ष पनि सहभागी हुने आँकलन थियो । तर, अन्तिमसम्म पनि छलफलमा रहेका एमालेका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य लगायतको प्रयास सफल हुन सकेन । फलस्वरुप माधव नेपाल पक्ष बैठकमा अनुपस्थित छन् ।

अब के होला ?
हालै राजनीतिक बिटमा काम गरिरहेका पत्रकारहरुसँग संसद भवन बानेश्वरमा माधव नेपालले भनेका थिए, ‘धेरै नै सोचविचार गरेर यो कदम चालेको हुँ, माधव नेपाल धोका दिने मान्छे होइन, म बाट धोका हुँदैन ।’

उनले विपक्षी गठबन्धनका नेताहरुलाई धोका नदिने भन्दै दिएको यो सन्देशले अब एमाले–एमालेको विवाद समाधान भएर एउटै एमाले बन्ने सम्भावना न्युन देखिएको छ । बरु, नेता नेपाल नयाँ पार्टी निर्माणमा लाग्ने देखिन्छ ।

तर, एमालेका अर्का नेता विष्णु रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा (एमाले) को विवादका केस्रा केलाउँदा र होटल ’समिट’मा भएका निरन्तरका छलफलका अन्तरकुन्तर बुझ्दा ‘इतिहास लामो भएका’ नेता कमरेडहरु बढी कठोर देखिनुहुन्छ भने ‘भविष्य लामो भएका’ नेता कमरेडहरु लचक देखिनुहुन्छ । इतिहासप्रति गर्व गरौँ, भविष्यप्रति विश्वास गरौँ र आशा गरौँ– इतिहासले भन्दा भविष्यले जित्नेछ र एमाले एकतामा फर्किनेछ ।’

रिजालकै तर्कलाई आधार मानेर भविष्य लामो भएकाहरुले इतिहास लामो भएका नेतालाई छाडेमा पनि एउटै एमाले र एउटै मैदान बन्ने बाटो टाढा छैन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार