रुपा, तिमी जति राम्री छौं त्योभन्दा नराम्रो तिम्रो जात छ !

मिन बहादुर सुनुवार ‘सुमन’ ११ असार २०७८, शुक्रबार

केही महिना अगाडि महानायक राजेश हमालले  टेलिभिजनमा एउटा  चर्चित कार्यक्रम ‘जातको प्रश्न’ संचालन गर्नुभएको थियो । र, त्यो कार्यक्रम निकै प्रख्यात अनि विवादास्पद पनि भयो । उक्त कार्यक्रमलाई अनेकन आक्षेपहरु पनि नलागेको होइन । कसैले हिन्दु धर्म र संस्कृतिमाथिको प्रहार भन्थे भने कसैले कृश्चिय धर्मले पैसाको खोलो बगाएर जातको प्रश्न कार्यक्रम गर्दैछन्सम्म भने । हिन्दु धर्म र संस्कृतिसँग जातको प्रश्न जोडिएको हुँदा यसले फेरि समाजमा कलह र अशान्ती ल्याउँन सक्छ भन्ने आरोपसमेत खेप्नपर्यो राजेश हमालले । एकातिर हाम्रो समाजमा अझैसम्म जातीय विभेद कायमै छ । छुवाछूत हटेको छैन । अनि ती विभेदहरुलाई हटाउन एउटा सामाजिक जागारण र चेतनाको निर्माण गर्ने उद्देश्यले यो कार्यक्रम संचालन गरिएको थियो भने अर्को तर्फ उक्त कार्यक्रमलाई मन नपराउने तप्का पनि धेरै थिए र छन् । किनभने उनीहरुको दृष्टिकोणमा छुवाछूत प्रथा भनौं वा विभेद अब समाजमा छैन ।

उनीहरुको भाष्यमा छुवाछूत नयाँ संविधानको निर्माण र कार्यन्वनसँगै हटेको छ । र, दलितलाई दिएको आरक्षणसँगसँगै त्यो हटिसकेको छ । केही दलित मन्त्री भैसके । दुई चार जना दलित कर्मचारीतन्त्रको माथिल्लो निकायमा पनि पहुँच बनाइसके । त्यसकारण, छुवाछूत छैन । यसको अन्त्य भैसक्यो । एक्छिनको लागि उनीहरुको कथनलाई मानौं । तर, नयाँ संविधानको कार्यन्वयनपछि अनि दलितले आरक्षण पाएपछि पनि जातीय विभेद अनि छुवाछूत संम्बन्धि दर्जनौं घटनाहरु घटिरहेका छन् र घट्दैछन । तीमध्ये रुपा सुनारको पछिल्लो घटना सामाजिक संजालमा निकै छाएको छ । हेर्दा उनी राम्री छिन । बोलिबचन पनि मीठो छ । सफासुघ्घर छिन । पढेलेखेकि छिन । जागीर पनि राम्रो नै छ । हरेक घरबेटीले भाडामा बस्ने मान्छे सायद यस्तै नै खोज्छन् । अनि कोठा दिन समेत मन्जुर हुन्छन् । तर जातबारे प्रश्न गर्दा रुपाले निर्धक्क आफू कामीको छोरी भएको बताउँछिन् ।

उनी यो समाजले स्थापित गरिदिएको कथित तल्लो जातकी प्रतिनिधि हुन् । अब मिलिसकेको कोठा पनि कुनै कारण देखाउँदै घर सल्लाह गर्नुपर्नेमा पुग्छन् । र, पछि कस्तो (कमिनी) मान्छे ल्याएको भन्दै रुपाकै साथीलाई फोन गर्छन् । यसले के प्रष्ट पार्छ भने रुपाले अछुत जात भएकै कारणले कोठा पाउँदिनन। अनेकन तर्क र कुतर्कले यसलाई जतिसुकै र जता बटारे पनि यसको गाँठो भनेको छुवाछूत र जातीय विभेद नै हो । आखिर मान्छेले मान्छेलाई नै किन विभेद गर्छ । हिजोआज गाउँ र शहरमा एउटा सौखिन संस्कृतिको विकास हुँदै छ – कुकुरलाई अनेकन सुविधा दिदै पाल्ने (यहाँ पशुको अधिकारलाई होच्याउने मनसाय होइन ) । मान्छेले उसलाई भान्सादेखि बेडरूमसम्म बिना संकोच लैजान्छ । आफुसँगै राख्छ । त्यसको दिशा पिसाब समेत सफा गर्छ । तर त्यहीँ मान्छेले अर्को मान्छेलाई जातकै कारण एउटा पाल्तु जनावरलाई भन्दा पनि  तुच्छ व्यवहार र घृणा गर्दछ । यसतो व्यवहारले पीडितको भावना कस्तो होला ? यहाँ पाल्तु जनावरलाई माया र सम्मान गर्नेले जातको नाममा मान्छेलाई किन घृणा गरेको होला?

यसको सजिलो जवाफ भनेको हाम्रो समाज जातीय व्यवस्थाले निर्माण भएको समाज हो जुन समाज भित्र सामाजिक, आर्थिक, शैक्षिक जस्ता अनेकन इकाईहरु छन् । अनि उक्त व्यवस्था रातारात निर्माण भएको पक्कै होइन । यसको उत्पत्ति दास युग हुँदै पूँजीवादी व्यवस्थासम्म आइपुग्दा झन मौलाएर आएको छ । तीन हजार वर्ष भन्दा अगाडि नै जातीय व्यवस्था श्रुति लेखन हुँदै एउटा प्रथाको रुपमा समाजमा लागु गरियो । नेपालमा पनि गौतम बुद्धको समयभन्दा अगाडि नै यो व्यवस्था प्रवेश गरिसकेको थियो । किनभने एउटा चण्डाल जातकी महिलाको हातबाट पानी खाएको भन्दै गौतम बुद्धको समेत आलोचना भएको इतिहास छ । यसैगरी इतिहास पल्टाएर हेरौं जंगबहादुरले १९१० मा लागु गरेको मुलुकी ऐनमा पानी चल्ने र नचल्ने, मासिने र नमासिने, सानो कसुरमा काट्दा र मार्दा पनि हुने व्यवस्था मान्छेको जात अनुसार गरिएको थियो । यो व्यवस्थाले कुन जातलाई बढी फाइदा गर्यो ? अनि कुन जातका मान्छे सबैभन्दा भुइँमा रहन गयो ?

दण्ड, सजाय र पुरस्कार पनि जात अनुसार नै थियो । अनि त्यो कानून नमान्नेलाई कठोर दण्ड सजायको व्यवस्था गरिएको हुनाले डर त्रासमा सबै समुदायले यो व्यवस्था समाजमा अभ्यास गर्दै गए । त्यसकारण, हिन्दु वर्णाश्रम भन्दा बाहिरका राष्ट्र-जनजातिलाई ( जुन समुदायमा जातीय उचनिच र छुवाछूतको व्यवस्था थिएन ) पनि जबर्जस्ती जातीय व्यवस्था मान्नुपर्ने बाध्यतामा पारियो । तसर्थ, जातीय व्यवस्था सबैतिर जबर्जस्ती रुपले लागु गरियो । यसरी हजारौं वर्ष देखिको प्रथा, अभ्यास  र सयौं वर्षको कानूनी मान्यताले हरेक मान्छेको जिनमा समेत यो व्यवस्था सरेर जादै छ र  जाने क्रममा छ । त्यसैले, आज झन जातीय उचनिच र छुवाछूत हरेकको घरबाट भित्र छिरेर उक्त विभेद कोठा कोठासम्म पुगिसकेको महसुस हुँदै छ । के यो यथार्थ होइन र ?

गैर दलितका नयाँ पिढीहरु छन् । जसले जातीय व्यवस्थाको कुनै रुपहरु अहिलेसम्म समाजमा छन् भन्ने स्वीकार गरेका छन् । पूर्खाले गरेका जातीय विभेद नयाँ पुस्ताले हटाउनुपर्छ भन्ने प्रगतिशील विचार र अभ्यास नगरेको पनि होइन । तर त्यो संख्या धेरै कम छ । यसैगरी केही जान्ने बुझ्नेहरुको पनि अर्को एउटा तर्क छ । उनीहरुका अनुसार समाजमा आर्थिक प्रगतिले शिखर चुमेमा र सबै मानिस शिक्षित भएमा यो जातीय विभेद हटेर जान्छ । मानौं एकछिनको लागि उनीहरुको तर्क ठिकै छ । त्यसो भए काठमाडौंलाई हेरौं, नेपालकै सबैभन्दा ठूलो शहर । सबैभन्दा आधुनिक शहर । शान, मान र प्रसिद्धिले ओजस्वी शहर । जहाँ नेपालकै सबैभन्दा धनाढ्य मानिसहरू बसोबास गर्छन् । जसले देशको आर्थिक ढिकुटी जिडिपीमा सबभन्दा बढी  योगदान गर्दछ  । के यो शहर आर्थिक रुपमा सम्पन्न छैन ? शैक्षिक क्षेत्रमा पनि काठमाडौं देश कै विशाल धरोहर । किनभने यहाँ नै ख्याति प्राप्त विश्वविद्यालय र विधालयहरु छन् । प्रत्येक चोक र गल्लीमा विधालय सायदै नहोला भन्न सकिन्न । त्यसकारण, काठमाडौं आर्थिक रुपले देश कै समृद्धि शहर होइन? अनि देश कै सबैभन्दा बढी अनि देश कै सबैभन्दा बढी शिक्षित भुगोल हैन र ? यदि हो भने यहाँ त जातीय विभेद हट्नु पर्ने होइन र? यहाँ नै किन जातीय विभेदका घटनहरु किन देखिन्छ ?

अर्को एउटा प्रसङ्ग पनि म यहाँ जोड्न  चाहन्छु । भारतीय संविधान निर्माता बाबासहेब भिमराव अम्बेड्कर, जो अमेरिका, बेलायत र जर्मनीबाट पढेर आए, एउटा कार्यलयमादेश र जनताको सेवा गर्न सुरुवात गरे तर उनलाई भिन्नै पकाएर खाने भाडाकुडा दिइयो । उनले छोएको कार्यालयका अन्य व्यक्तिहरुले खान नहुने किनभने अम्बेड्कर अछुत जातका थिए । जातीय विभेदबाट उनी पनि शिकार नभएको होइन । त्यो बेला विदेशबाट  पढेर आएका शिक्षित र दिक्षित व्यक्ति स्वयंले जातीय विभेद सहनु परेको र पछि गएर हिन्दु धर्म त्याग गर्दै लाखौं मानिसहरूको साथमा बौद्ध धर्ममा प्रवेश गरेको घटना भारतीय इतिहासमा जिवित नै छ । शैक्षिक प्रगतिले मात्र यो जातीय विभेद हट्छ भन्ने तर्कमा खासै बल पुग्दैन ।

किनभने अझै पनि गाउँघरमा जातीय विभेदका घटना प्रशस्त मात्रामा छन् । गाउँका शिक्षित व्यक्तिहरु नै दलितले पकाएको भान्सामा निर्धक्कको साथ बसेर खान संकोच मान्छन । दलितको भान्सामा जे पाकेको छ त्यो खानु नहुने बरु फलफूल खाने संस्कृति छ । तसर्थ, गाउँ घरको यो चलन जातीय विभेदको एउटा रुप हो भन्दा फरक पर्दैन । त्यस्तै, जानेर वा नजानेर । बुझेर वा नबुझेर भलाकुसरीको क्रममा धेरै पटक धेरै ठाउँमा एउटा वाक्य फुत्त बाहिर आउँछ ।  ‘बाहुनको छोरो बाठो छ । चलाख छ ।’ यो वाक्य सामन्य छ र लाग्छ पनि । तर सारमा यसले बनिबनाउ उच्च जातीको अहंकारको भावनालाई अभिव्यक्त गर्दछ । किनभने केटो बाहुन भएर मात्र बाठो भएको भन्ने अर्थ यसले दिन्छ । जुन वाक्यको अन्तर्निहित सारले अन्य जातीलाई होच्याउने र निम्छरोको रुपमा प्रस्तुत गर्ने ल्याकत राख्दछ ।

तर, ती शिक्षित व्यक्तिले यसो भन्दै गर्दा हरेक समाजमा मान्छे स्वतन्त्र रुपले र समान रुपले जन्मिन्छ्न । यो प्रकृतिको नियम हो । खास कुरा मानव निर्मित परिस्थितिले गर्दा सबै जात अनि समुदायको सभ्यता समान रुपले विकास हुन पाएनन् र समृद्धि हुन् सकेन भन्ने तर्कलाई मान्दैनन् अथवा भुल्दछ्न । त्यो परिस्थिति भनेको अप्राकृतिक र बनिबनाउ जातीय व्यवस्था हो, जसलाई सामन्ती राज्य सत्ताले हरेक पक्षबाट पृष्ठपोषण गर्दै आयो । अनि त्यसपछि शास्त्रास्त्र र अस्त्रास्त्र लगायत हरेक पक्षमा दलितलाई बहिष्करण र निषेधकोको जातोमा यसरी पिँध्याे कि समाजमा एउटाले म बाहुनको छोरो भनेर गर्वको साथ भन्ने र अर्कोले आफ्नो जात समेत ढाट्नु र लुकाउनु पर्ने परिस्थितिको निर्माण भयो । यसैगरी आज रुपा सुनारको घटना पनि जातीय विभेद र उचनिचको सार हो । रुपाको घटनालाई देख्ने तर जातीय व्यवस्था र विभेदलाई नदेख्ने भनेको जङ्गलमा गएर रुखलाई देख्नु तर जङ्गल नदेख्नु जस्तै हो । तर्सथ, यसले के पुष्टि गर्छ भने आर्थिक र शैक्षिक प्रगतिलाई देखाएर मात्र जातीय विभेदहरु समाजबाट कदापि हट्न र हटाउन सकिन्न । किनभने नेपाली समाजको बनोट नै जातीय व्यवस्थामा आधारित छ, जुन आर्थिक र शैक्षिक पाटोमा मात्र होइन ।  किनभने उद्दाहरणको लागि तामाङ जात र बिश्वकर्मा जात बीच तुलना गर्दा समग्रमा बिश्वकर्माको आर्थिक हैसियत तामाङको भन्दा राम्रो छ । तर जातीय वयवस्था भित्र बिश्वकर्मा अथवा कामीले तामाङले भन्दा बढी जातीय विभेद भोग्नु परेको छ । के यो यथार्थ हैन र? यहि कारणले गर्दा यसको समाधान अंसमा होइन, सम्पूर्णतामा खोज्नुपर्छ । किनभने यो राज्यद्वारा सिर्जित विभेद भएकोले बनिबनाउ राज्य व्यवस्थाबाट दलितको समस्याहरु हल हुन् धेरै कठिन छ ।

तर राज्यद्वारा सिर्जित जातीय विभेद राज्य नै अगाडि बढेर  उन्मुलन गर्नुपर्ने अवस्थामा, उल्टै मन्त्रीबाट नै शक्तिको दुरुपयोग गर्दै जातीय विभेदलाई ढाकछोप गर्न खोजिरहेको देखिन्छ । मन्त्री भनौंदा नै दोषीलाई खुलेआम रुपमा सरकारी गाडी लिएर छुटाउन पुग्छन् । जो दलितको पक्षमा हिजो पनि थिएनन् र, यो व्यवहारले आज पनि मन्त्री श्रेष्ठजस्ता व्यक्तिहरु जात्तीय व्यवस्था तथा विभेद अन्त्यको पक्षमा छैनन् भन्ने देखाएको छ । त्यसैले, यो व्यवस्था नै अपूर्ण छ । जहाँ दलितलाई मान्छे हुन् भन्ने ठानिन्दैन । त्यसकारण, दलितहरु राज्य भित्र नै जातीय उपनिवेशको चाङले झन थिचिएको छ । र, यही बनिबनाउ जातीय व्यवस्थाले भन्छ ‘रुपा, तिमी जति राम्री छौं, त्यति नै नराम्रो तिम्रो जात छ ।  तिमी राम्री भएर के गर्नु तिम्रो जातलाई यहा कैयौ गुणा नराम्रो मान्छन्, ।तिमी पूर्ण रुपमा सामाजिक मानव हुन सकेको छैनौं हिजोका दासहरु जस्तै ।’

त्यसो भए रुपा र रुपा जस्तैहरुले अब के गर्ने त ? अब उनीहरुसँग केवल दुईवटा विकल्पहरु मात्र छन् । कि त यस्ता विभेदहरु चुपचाप सहेर बस्नु अथवा पहिचानको राजनीति र आन्दोलनको राँकाेले कथित जातको अहंकारलाई डढाएर खाग बनाउन बिद्रोह गर्नु । र, आफ्नै देश भित्र र आफैले ल्याएको लोकतन्त्रभित्र आजादीको खातिर संघर्षको उद्घोष गर्नु ।  अवश्य पनि हरेक बस्तुको उत्पत्ति र विकास हुन्छ भने त्यसको अन्त्य पनि हुन्छ । यो विज्ञानको नियम हो । आँट गर । तिमी नै एउटा आन्दोलनको ज्वाला हौं । केही समय भित्र नै पहिचानको रुपहरु विशाल आन्दोलन र संघर्षको ज्वाराभाटा बन्ने दिन धेरै पर छैन।

तसर्थ, यो बनिबनाउ राज्य व्यवस्थालाई भत्काउँदै, नेल्शन मण्डेलाको एकताको शुत्र ‘फोर्गेट र फर्गिभको’ भावनामा टीका लगाउने र टोपी लगाउने  शंख फुक्ने र सनै फुक्ने संगठित हुन सक्छौं त? किनकि जातीय व्यवस्था अनि छुवाछूत र उचनिचको संस्कार समाजको अंस होईन ।  यो एउटा व्यवस्था हो, जुन विभेद जन्य व्यवस्था  फेर्नका लागि शासकीय स्वरुप र निर्वाचन प्रणाली नै बदल्नुपर्छ । जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्र प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्य भित्र राष्ट्रिय आत्मानिर्णयको अधिकार सहितको दलित स्वायत्तता निर्माण र कठोर दण्ड सजायको व्यवस्था भएमा मात्र जातीय व्यवस्था भित्रको विभेदलाई अन्त्य गर्न सकिन्छ । यो एउटा बृहत आन्दोलनको जगमा मात्र संभव छ । जुन आन्दोलनको नेतृत्व त्यो समुदायबाट गर्नुपर्छ, जो हिजो दास युगदेखि नै आजसम्म जातीय व्यवस्थाबाट सबैभन्दा बढी पिड्क र पीडित छन् । त्यसपछि एउटा समतामूलक समाजको निर्माण गरौं, जहाँ जातले होइन मान्छेको श्रमले मानिस महान हुन्छ । अनि कसैको घरको कोठा देखि राज्यसत्तासम्म जातको नाममा हुने विभेद र अपमान समाप्त होसतबमात्र सबैले सेन्स अफ एसोसिएसनको अनुभव गर्नेछन् । नत्रभने रोगिको उपचार पटकपटक गर्ने तर रोगको उपचार गर्न नै नचाहने हो भने समाजमा रोगीहरुको संख्या झन् बढेर जान्छ ।

त्यसैले, जातीय व्यवस्था यो समाजको रोग हो । यस रोगबाट ग्रसित रुपा सुनार न्यायको ढोका ढकढक्याउदै छिन् । के उनीलाई न्याय तपाइँ हामीले दिन सक्छौं ? के यसको लागि पहल गर्न सक्नुहुन्छ ? कि समाजबाट जातीय विभेद हट्यो नहटे बिस्तारै हट्छ भन्नुहुन्छ ? कि मबाट जातीय उचनिचको भेदभाव हुन्न अरुले जे गरोस् भन्नुहुन्छ ? एकपटक तपाइँ हामी आफै रुपा भएर सोचौं त । सक्छौं ? जात भन्दा ठूलो मान्छे भएर मनन गरौं त अथवा आफ्नो जातलाई एक्छिन बिर्सिएर रुपाको जात भएर सोचौं त । यहाँ रुपा जस्तै अन्य रुपाहरु कति छन् कति जसको लागि कुनै गाउँ अनि कुनै शहरको निर्जीव कोठा पाउँनका लागि उनको जात तगारो बन्छ र अझै बनिरहने छैन र?

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *