धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट बन्न दुई महिना लाग्ने

 

धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट थप गर्न कम्तीमा दुई महिना समय लाग्ने भएको छ । द्रुत गतिमा काम थालिएको भए पनि प्लान्ट निर्माणका लागि निर्माण कम्पनीले दुई महिनाको समय मागेको हो ।

अर्थको स्वीकृतिमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले बजेटको सुनिश्चितता गरेपछि प्रक्रिया अघि बढेको थियो । झण्डै रु तीन करोडको लागतमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया शुरु भएको एक महिनामा नै निर्माण सम्पन्न गर्ने अस्पतालको लक्ष्य थियो । बजेट प्राप्त भइनसकेको र आर्थिक वर्षको अन्तमा योजना सम्झौता गर्नु परेका कारण निर्माण व्यवसायीले लामो समय माग गरेको अस्पताल प्रशासनले जनाएको छ ।

“असार ६ गते सम्झौता भएको छ, कम्तीमा ४० र बढीमा ६० दिन समय लाग्ने निर्माण कम्पनीले जानकारी गराएको छ”, अस्पतालका लेखा अधिकृत झलक आचार्यले भन्नुभयो, “विनियोजन समयमा आए यो वर्ष प्रारम्भिक कामको भुक्तानी मात्रै दिन सकिन्छ ।” उहाँका अनुसार स्वास्थ्य मन्त्रालयले बजेटको सुनिश्चितता गरेको भए पनि अहिलेसम्म निकासा पठाएको छैन ।

प्लान्ट निर्माणको जिम्मेवारी पाएको आरोग्य मेडिटेक प्रालिलाई पहिलो किस्ताको रकमसमेत दिन नसकिएको अस्पतालले जनाएको छ । रु दुई करोड ३२ लाखमा कम्पनीले प्लान्ट निर्माणको जिम्मेवारी पाएको हो । रु तीन करोड बजेटमध्ये बाँकी रकमले अक्सिजन प्लान्टका लागि आवश्यक पूर्वाधार निर्माणको काम गरिने छ ।

“पहिलो किस्ताको २० प्रतिशत रकम दिनुपर्ने व्यवस्था छ तर निकासा आएको छैन”, व्यवस्थापन समितिका सदस्य शालिग्राम शर्माले भन्नुभयो, “अर्को आर्थिक वर्षमा जाँदा बजेटको झमेला हुनसक्छ ।”

चालु आवमा नै प्लान्ट निर्माणको काम सम्पन्न नहुने भएपछि अस्पतालले आगामी आवका लागिसमेत बजेटको व्यवस्थापन गरिदिन मन्त्रालयलाई जानकारी गराएको छ । असार मसान्तभित्र विनियोजित बजेट पठाए पनि निर्माणको काम नसकिँदा अर्को वर्षमा दायित्व सर्ने छ । यस वर्षको बजेट फिर्ता जाने र अर्को वर्ष बजेट नभए प्लान्ट निर्माणमा समस्या हुने व्यवस्थापनको ठहर छ ।

अस्पतालमा यसअघि २० जनासम्मका लागि पुग्ने अक्सिजन प्लान्ट छ । यस पटक १५० जनालाई पुग्ने र १०० थान सिलिण्डर प्रतिदिन भर्न मिल्ने गरी प्लान्ट निर्माणको काम थालिएको हो । मन्त्रालयले भने दायित्व सिर्जना भएपछि भुक्तानी पठाउने भनेको छ । “अनुमति पाएकाले टेण्डर गरेर काम अघि बढेको छ, दायित्व सिर्जना भएको लेखी पठाएका छौँ”, आचार्य भन्नुहुन्छ, “बजेटको समस्या नआए दुई महिनामा प्लान्ट तयार हुन्छ ।”
–––

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार