काभ्रे । नेपालमा कार्यान्वयनको चरणमा रहेकामध्ये बृहत खानेपानी आयोजनाको रुपमा लिएको पाँचखाल शहर खानेपानी तथा सरसफाई आयोजनामा सुनकोशी र ईन्द्रवती नदीमा आएको बाढीले करोडौँको क्षति पु¥याएको छ । अविरल वर्षासँगै आएको बाढीले आयोजनाको मुहान क्षेत्रमा निर्माणधीन संरचनाहरु बगाएसँगै पुरिँदा दुई करोड बढीको क्षति पुगेको हो ।
खानेपानी आयोजनाका सचिव मनिराज गौतमले बाढीको कारण आयोजनाको मुहान क्षेत्र भुम्लु गाउँपालिका वडा नं. १० स्थित् घिमिरे बगरमा निर्माण भइरहेको सम्पुर्ण संरचनामा बगाउँदा र पुरिदा २ करोड बढीको क्षति पुुगेको जानकारी दिए ।
उनका अनुसार निर्माणधीन आयोजनाका कलेक्टर वेल ४ वटा, समवेल २, पानी तान्ने पम्प (ठुलो) १८ वटा, रड ४० हजार टन, ७ मिटरको पाईप ५० थान, गिट्टी बालुवा १ सय ५० टिपर, जमिनमुनि ४० र जमिन माथि २० मिटर गरी ६० मिटर अग्लो तटबन्धन पर्खाला, कम्पेटर, मिल्टर मेटेरियल, जेनेरेटर, ५० बोरा सिमेन्ट, फर्मा, पिस, पानी तान्ने सम्पेल पाईप लगायत भौतिक संरचना बगाएका/पुरीएका छन् ।
‘निर्माणधीन आयोजनाका सम्पुर्ण भौतिक लगायतका संरचना बाढीले बगाउँदा र पुरिदा करोडौँ क्षति भएको छ,’ गौतमले भने, ‘बाढीले संरचना निर्माण क्षेत्र बगरमा परिणत भएको छ । जसले गर्दा कति बगाए र कति पुरिए भन्ने यकिन हुन सकेको छैन ।’
त्यस्तै आयोजनाका सहायक म्यानेजर इन्द्रमान सिं बस्नेतले निर्माणधीन संरचना सुरक्षाको लागि लगाएको तटबन्धनको केही बाहेक अन्य सबै संरचना बाढीले बगाएसँगै पुरिएको बताए ।
‘यदिसम्म कि तटबन्धनको पर्खालका केही भाग बाहेक अरु कहाँनिर बनाएको थियो भन्ने समेत अुनमान लगाउन सक्ने अवस्था छैन,’ उनले संरचना निर्माण भइरहेको क्षेत्र देखाउँदै भने, ‘यही ठाउँबाट एउटैको १८–२० लाख पर्ने पम्पहरुसँगै रड, पाइप लगायत आँखै अगाडी हेर्दाहेर्दै बगाएर लाग्यो ।’
आयोजनाका इन्जिनियर अशोक अधिकारीले चालु आर्थिक वर्षभित्र मुहान क्षेत्रका काम सम्पन्न गर्ने गरी तीव्र रुपमा काम भइरहेकोमा बाढीको कारण अन्योलमा परेको बताए ।
उक्त आयोजना ७० प्रतिशत सरकारको र ३० प्रतिशत स्थानीय उपभोक्ताको गरी कुल १ अर्ब ३४ करोडको लगातमा सुरु भएको थियो । आयोजनाबाट ९ हजार घरधुरीलाई खानेपानी पु¥याउने लक्ष्य राखेको छ ।
१ अर्ब ९७ करोड रुपैँया बजेट रहेकोमा हुआसुई कन्काई जिमि ग्रुपले उक्त अयोजनाको ठेक्का १ अर्ब ३४ करोडमा लिएर काम थालेका थिए । साँढे दुई वर्ष सम्पन्न गर्ने लक्ष्य रहेपनि कोरोनाको कारण निर्माण कार्यमा ढिलाई भएको थियो । पछिल्लो समय सो क्षेत्रमा पानीको बहव बढीरहेको उनीहरुले बताएका छन् ।






