प्रधानमन्त्री ओलीको शासनशैलीले गुमेको अवसर र नेपालको चुनौती

रामचन्द्र अधिकारी क्षेत्री २६ जेष्ठ २०७८, बुधबार

नेपालको वर्तमान शासन व्यवस्था बहुदलीय पुजीँवादी व्यवस्था हो र यस्तो व्यवस्थामा वामपन्थीहरुको पार्टी सरकारमा पुगेपछि सामुहिकतालार्इ आत्मसाथ गर्दै पार्टी शक्तिलाई घोषणापत्रको आधारमा जनताको आधारभूत आबश्यकतादेखि समग्र देशको विकासमा वडादेखि केन्द्रसम्मको पार्टी पंक्तिलाई समाजवादी राज्यव्यवस्था स्थापना गर्न सामूहिक राष्ट्रिय भावनाका साथ परिचालन गर्नुपर्ने जरुरी थियो ।

कम्युनिष्ट नेतृत्वले देशको अर्थतन्त्र मजबुत नभईन्जेल लवाइखवाइ, रहनसहनमा एकरुपता ल्याएर उच्चस्तरीय आदर्शलाई अबलम्बन गर्नुपर्ने हो । जनताको लागि अतिआवश्यक शिक्षा, स्वास्थ्य, खाद्यान्न, यतायात, उर्जालाई राज्यको संयन्त्रभित्र अत्यन्तै पारदर्शीताका साथ सर्वसुलभ किसिमले उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने थियो । यी क्षेत्रलाई निजीकरण, निजि नाफाखोरहरूको चंगुलवाट मुक्त गर्न पनि सकिन्थ्यो । मजदुरलाई सामूहिक आवासका साथै उनका छोराछोरीलाई गुणस्तरीय शिक्षा स्वास्थ्यको व्यवस्था मिलाउने भनी त्यसले उत्पादन क्षेत्रमा गुणस्तरीय प्रभाव पार्ने थियो । औधिगिक क्षेत्र राष्ट्रियता, जनतन्त्र, जनजीविकाको सवलमा कसरी जनमूखी हुन सकिन्छ भनेर छिमेकी देश लगायतको उदाहरण हेरेर प्रशिक्षण, विचार विमर्शलाई व्यापक रुपले जनस्तरमा पुर्याउन सक्नु पर्ने थियो । अझ वर्तमान सूचना प्रविधिको उच्च विकासको समयमा यसलाई बढीभन्दा बढी उपयोग गरेर धेरै छिटो राम्रा, सकारात्मक कामलाई प्रचारप्रसार गर्दा जनतामा छुट्टै उत्साह आउने थियो । अत्यन्तै राम्रो मलिलो रसिलो खेतियोग्य जमिन समेत बाझो भइरहेको बेलामा राज्यले खाद्य संस्थानमार्फत् राष्ट्रिय स्रोतसाधनको परिचालन गरेर खाद्यान्नमा आत्मनिर्भरता हुन सक्ने काम गर्न सकिन्थ्यो ।

भृकुटी कागज कारखाना, हेटौडा सिमेन्ट कारखाना, कपडा, धागो उद्योग, बिराटनगर जुट मिल, कृषि औजार कारखानाजस्ता उद्योगलाई नयाँ जोश जागर उत्साहका साथ पुन राम्रोसँग संचालन गर्न सकिन्थ्यो । हिजोका अन्कुराउँदै गरेका जनकम्युनलाइ मोडलको रुपमा विकास गरेर सामूहिक भवनको नमूना दिन सकिन्थ्यो । राज्यलाई कुनै पनि बाह्य शक्तिको असर नपरोस्, भनेर सीमालाई अत्यन्तै राम्रोसँग नियमन गरेर कर उठाउने, आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउने काम गर्न सकिन्थ्यो ।

यी सबै कुरा अत्यन्तै सहज किसिमले गर्न सकिन्थ्यो । कम्युनिस्ट व्यवस्था नै जरुरी थिएन । चर्को मुल्य नियन्त्रण सजिलै नियन्त्रण गर्न सक्ने पर्ने थियो । वैदेशिक रोजगारमा गएका श्रमिक स्वदेशमा नै केहि गर्न खोज्थे । उनीहरुमा विदेशको सिप, कमाइलाई स्वदेशमा नै लगानी गर्ने उत्साह जागृत हुने थियो ।

देशमा उर्जाको राम्रो उत्पादन हुन लागेको बेलामा यसलाई सहि किसिमबाट व्यवस्थापन गरेर विश्वमा अत्यन्तै सस्तो उत्पादन वृद्धि गरेर बिश्व बजारमा नेपालि उत्पादनलाइ प्रतिस्पर्धामा सफल बनाउन सकिन्थ्यो ।

जब कुनै देशमा यातायात, उर्जाको विकास छ, सस्तो, दक्ष श्रमशक्ति हुन्छ भने त्यस्तो देशमा बहुराष्ट्रिय कम्पनीले लगानी नगर्ने कुरै हुन्थेन नि । तर भयो त्यसको ठिक उल्टो । प्रधानमन्त्री एक्लो व्यक्तिको सनकले गर्दा यी सबै मौका गर्ल्यामगुर्लुम ढले, केपी ओलीले जब भारतीय जासुसी संस्थाका प्रमुख सामन्त गोयललाई बालुवाटारमा आधारातमा आफ्नै परराष्ट्रमन्त्रीलाइ समेत छलेर गोप्य रुपमा भेटे र त्यो बाहिर आयो, त्यसपछि नेकपालाई हेर्ने ओली दृष्टिकोणमा आकाश पातालको फरक आयो । पार्टीका निर्णय, घोषणापत्र सबै बेकामे भए, आफ्ना समकक्षी नेतालाई झुट्टा राष्ट्रविरोधी आरोप लगाएर साना–साना असमझदारीका विषयलाई पनि तिललाई पहाड बनाएजसरी सार्वजनिक रुपमा वितण्डा मच्चाए ।

राष्ट्रपतिमा आफ्नो ब्यक्ति छ भन्दैमा जे पनि गर्न सक्छु भन्दै घुर्की, धम्कि र अहमताले दपक्कै ढाक्यो ओलीलाई । यस्ता गतिविधि कुनै भवितब्य थिएनन् । यी सबै ओलीको बानी, व्यवहार, आचरणमा निर्भर थिए, उनका समकालीन नेताहरु आर।के मैनाली, सी।पी मैनाली, मोहनचन्द्रहरुबाट पटकपटक भनिएका बिषय हुन् । जुन पुष्टि पनि भइरहेको छ ।

बाल्यकालदेखि नै आफु मात्र जान्ने सुन्ने, अरु बेकारका भन्ने स्वभाव ओलीमा थियो भन्ने कुरा यसअघि नै सार्वजनिक भइसकेको छ । त्यही स्वभावका कारण होला, ब्रह्माण्डको हरेक गतिविधिबारे ओलीको प्रवचन सुन्न पाइन्छ । अहिले बिकराल रुपमा फैलिएको कोरोनाको महामारी रोगको बारेमा पनि ओलीबाट देशबासीले धेरै पटक ठट्यौली पारामा दिइएका बेसारदेखि बेलौतीका पातसम्मका औषधी पाएकै थिए ।

कम्युनिष्टहरुले पुँजीवादी राज्यवस्थामा सत्तामा पुगेपछि यो व्यवस्थाभन्दा हामीले चाहेको व्यवस्था उत्तम छ भन्ने थुप्रै काम गर्नुपर्ने थियो तर ति कुनै पनि काम प्रसंशा गर्ने लायकका भएनन् । निर्वाचनको बेलामा चुनावी प्रतिष्पर्धाको दौरानमा चन्दा व्यापक उठाइएको थियो । जसले पैसा खर्च गर्न सक्छ, जित्न सक्छ त्यसलाई टिकट दिएर केवल सांसद संख्या बढाउने कामलाई प्राथमिकता दिइएको पाइन्छ । सर्वसाधारण जनतालाई नेकपा एक भयो, हामी कम्युनिस्टहरु एकजुट छौ भनेर जनताको आँखामा छारो हाल्ने काम भयो । टाठाबाठा भनाउँदालाई पार्टी, संगठन, विचार, समाजवादी नेपालको मार्गदर्शनभन्दा रक्सी, बियर, खसीको व्यवस्थाको बन्दाबस्त गरेर मुख थुन्ने काम गरे ।

यस्तो विकृतिलाइ सत्तामा पुगेपछि हटाउनुको सट्टा ओलीको नजिक बसेका व्यक्तिमार्फत् पैसा भएपछिी पार्टी, सत्ता, सबै एकलौटी कब्जा गर्ने र आफूलाई देश बिदेशका जति पनि लोकप्रिय ब्यक्ति छन् तिनीहरु सरह प्रचारप्रसार गर्ने, महत्वाकांक्षा प्रबल रुपले उनमा जागृत भएको देखिन्छ । पार्टीको बैठकमा राजार्षी आसन, बाल्लुवाटारमा बोलाएर शिर्ष नेतृत्वलाई नै मानमर्दन गर्ने, राष्ट्रपतिलाई हिजोका राजामहाराजाहरूको जस्तो व्यवहार, सुविधा परिपाटीलाइ निरन्तरता दिने काम लोकतान्त्रिक वामपन्थीको सरकारबाट हुनु अत्यन्तै अस्वाभाविक थियो । यस्ता विषयमा सचेत समाजवादी दर्शन, सिद्धान्त बुझेका जनताले बिभिन्न सामजिक संजालबाट आफ्ना अभिमत राख्नु , पत्रकारले सचेत गराउनु सकरात्मक पक्ष थिए । नेपालको नक्सा देशभित्र बाहिर, विश्वभरबाट राष्ट्रवादी नेपालीले दबाब सिर्जना गरेको महिनौ दिनपछि ओलीले लाचार भएर मलाई त लिपुलेक लिम्पियाधुरामा भारतले बाटो बनाउदैछ भन्ने पनि थाहा थिएन भन्ने अभिव्यक्ति दिंदा चर्को आलोचना खेप्नु परेको थियो । जब नेकपाको स्थायी कमिटिको बैठकले नक्सा छाप्ने कुरामा निर्णय गर्यो ।

तब सबै राजनीतिक पार्टीलाई राष्ट्रिय एकताको शुत्रमा लामबद्ध गराउन प्रचण्ड, माधव नेपाल, झलनाथ, लगायत सबै नेतृत्वले सहयोग गरे । जस्सको फलस्वरूप अभूतपूर्व रास्ट्रिय एकताका साथ नेपालको संबिधान नै परिवर्तन गर्ने काम भयो, त्यो भने प्रशंसनीय छ । तर, यो कुरालाई ओलीले भित्री मनदेखि स्वीकारिएको रहेनछ भन्ने कुरा हिजोआजका गतिविधिबाट पनि प्रस्ट भइरहेकै छ । ओलीमा अन्तर्निहित स्वभाव अनुसारका गतिविधिलाई उनले व्यक्तिगत कुण्ठामार्फत् व्यवहारमा जुन बेलादेखि तीव्र रुपले देखाउन थाले, जब उनले प्रचण्डसँग गरेका सहमति लत्याएपछी बाहिर आयो, उनी झुट, छलकपट, हल्लाखोरमा रुची र दख्खल राख्ने ब्यक्ति थिए । त्यसैलाई पछिल्लो समयमा पनि आफ्नी कुर्ची बचाउन प्रयोग गर्न थाले र आज प्रयान्त त्यही गर्दैछन् ।

‘वनको बाघले खाओस या नखाओस मनको बाघले खायो’ भन्ने उक्ति जस्तै ओलीले माधव नेपाल र प्रचण्डबीचको सामन्य भेटघाटलाई पनि हाउगुजी देख्न थाले । ओलीका सरकारले गरेका सामान्य गल्तीलाई सकरात्मक सुझाब दिँदा पनि त्यसलाई भयंकर क्षेप्यास्त्रको रुपमा बुझ्न थाले । वा उनका नजिकका भनिने सल्लाहकार, सहयोगीले त्यसलाई ओलीको साखुल्ले बन्ने औजारको रुपमा प्रयोग गरे । यस्ता गतिविधिमा टेकेर बाहिर बसेका यति ग्रुप, ओम्नी लगायतका समूहहरु मौका यही हो भनेर उनका साखुल्ले पल्टिए, पुर्व राजाबादी, भारतीय बर्तमान शासक वर्ग, अमेरिकी खुपिmया एजेन्सीहरु, सबै केपी ओलीको नजिक हुनेक्रम तीव्र भयो । यिनै शक्ति केन्द्रको आडमा उनले २र२ पटक संसद बिघटन गरिसके ।

बेलाबेलामा वर्तमान संघीय लोकतन्त्रलाइ समेत खतम पार्ने अभिव्यक्ति दिदैछन् । संविधान र कानुनलार्इ उपहास गर्ने भनार्इ र गराइका गतिविधि बढाएका छन् । यो कुनै एक व्यक्तिको सनकले मात्र काम गरेको छैन । सबै लोकतन्त्र, समाजवादउन्मूख नेपाल चाहनेले गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ । यसमा नेपाललाई अस्थिर राजनीतिमा धकेलेर नेपालको मिहिनेती, परिश्रमी, बहादुर, लडाकु, नुनको सोझो, इमान्दारिताका साथ गर्ने जातिलाई संसारभर सस्तो ज्यालामा काममा लगाउन पल्केका मुलुकदेखि चीनलाई घेरा हालेर कमजोर बनाउने, तिब्बत मुद्दा बल्झाउन चाहने पश्चिमा राष्ट्रहरु र नेपाललाई सके सिक्किम नसके फिजी, भुटान बनाउन चाहने र आफ्नो एकलौटी बजार मात्र बनाउन चाहने भारत जस्ता देशहरु नेपालमा एउटा शक्तिशाली देशभक्त सरकार नेपालमा होस् भन्ने चाहदैनन । उनीहरु कठपुतली सरकार बनाएर आफ्नो औलामा नचाउन चाहन्छन । यसको लागि भारतको अति दक्षिणपन्थी भारतीय सत्ताधारी पार्टीका हस्तिबाट आएको अभिव्यक्तिले पनि सो कुरा पुष्टि गरिरहेको छ ।

उनीहरु अहिलेका साना तिना सरकार, पत्रकार, खुला राजनीतिक व्यवस्था होइन, अति गोप्य तरिकाले सिधै दरबार छिर्ने र आफ्नो स्वार्थ पूर्ति गर्ने, उनका कठपुतलीविरुद्ध कसैले चुइक्क गर्न नसके प्रणाली, व्यवस्था नेपालमा स्थापन गर्न चाहन्छन्, जुन कुरा पञ्चायत व्यवस्थामा थियो । के अब सुधार होला त ? अवश्य हुन्छ । नेपालीहरु हिजोको वि।स। २०१७ सालको जस्तो चेतनास्तर भएका अवश्य छैनन्, हिजो २०४६, जनयुद्ध, ६२र६३ को जनान्दोलनमा सक्रिय सहभागी भएका नेपालीहरु आज विश्वभर छरिएका छन् । उनीहरु वर्तमानको सूचना प्रविधिको समयमा नेपालमा लोकतन्त्र गुमेको चुपचाप हेरेर बस्दैनन् ।

अर्को कुरा देशभित्र पनि अन्यायको विरुद्ध, तानाशाह, विदेशी कठपुतलीकोविरुद्ध लड्ने जनमत दरिलो छ । छिमेकी भारतमा पनि त्यहाँको शासकविरुद्ध जनमत बढ्दैछ, भारतका माओवादी कम्युनिस्टले पनि एकहदसम्म कथित शक्तिशाली सरकारको पनि टाउको दुखाई बनेको छ । नेपालमा अस्थिरता, आन्दोलन हुने बितिकै यसको असर प्रत्यक्ष रुपमा भारतीय अर्थतन्त्रदेखि राजनीतिमा पनि पर्छ नै, यसको पुष्टि नेपालका लागि भारतीय पूर्व राजदुत के।भी राजनले पटकपटक भन्दै आएका छन् ।

यस्ता समस्यालाई कसरी हटाउने त रु यसको लागि पहिलो कुरा नेपालको सयौँ बर्षदेखी जरो गाडेर बसेको सामन्ती व्यवस्थाका मतियारहरुलाई सहि रुपमा चिनेर यिनका असली रुप जनतासमक्ष उतारिदिनुपर्छ । नेपालको प्राकृतिक स्रोत र साधन दोहन गर्न पल्केका शक्तिलाई चिनेर त्यसलाई जसरि हुन्छ जनताको बलबाट रोक्नुपर्ने हुन्छ । यिनीहरुसँग विभिन्न वैध अबैध तरिकाले थुपारेको धनको आडमा सत्ता र शक्तिमा पुग्नेलाई साखुल्ले पल्टेर किन्ने र आफू अनुकूल उपयोग गरिरहेका छन् । यिनलाई निर्मुल पार्नु पर्यो ।

रास्ट्रिय स्रोत साधनमा यिनको हालिमुहालिला नियन्त्रण नगरी हुदैन, नेपालको कानुनलाई कमजोर बनाउने सबैखाले गतिविधिको डटेर मुकाबिला गर्नु जरुरी छ । नेपालको कर्मचारीतन्त्र, सुरक्षा निकायदेखि सबैलार्इ साथमा लिएर न्यायपूर्ण सासन प्रणालीको विकास गर्नुपर्ने हुन्छ । विगतमा गिरिजाप्रसाद कोइराला र प्रचण्ड, माधब नेपाल, बाबुराम भट्टराईहरुले शुरु गरेको राजनीतिक समझदारीलाई प्रचण्ड र शेरबहादुर देउवाले एक किसिमको राजनीतिक विश्वासनीयताको संस्कार विकास गरेका थिए । त्यसलाई यो शिशु गणतन्त्र नेपालको कानुन संविधानलाई कार्यन्वयन हुने अवस्थासम्म माधवकुमार नेपाल, झलनाथ लगायत, रास्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी (उपेन्द्र र बाबुराम)सँग दरिलो सम्झदारीका साथ विश्वासनीय वातावरण निर्माण गरेर राष्ट्र हितमा साझा संकल्प गरेर समाजवादी मुलुक बनाउने अभियान चाल्नुपर्ने देखिन्छ । यति कुरा ५ बर्ष मात्र गर्ने हो भने देश समृद्ध र विकासको गतिमा अवश्य लम्कन्छ ।

राजनीतिक नेतृत्वले वातावरण मात्र सफा र सुरक्षित बनाइ देउ न । देश विकास त विश्वभरका विकास देखेका नेपालीले गरिहाल्छन नि । झुट, छलकपट, अफबाह, एकलकाटे, आत्मरति, इगो, भ्रष्टचार, व्यभिचार, हैकमवादी , धम्कि , गुण्डागर्दी होइन सत्य र इमान्दारिता, यथार्थता र राष्ट्र निर्माणमा सामुहिक पहल जरुरी छ । गलत संस्कारले क्षणिक फाइदा होला तर अन्तत्वगत्व घरपरिवारदेखि समाज, राष्ट्रलाई यसले दिर्घकालिन रुपमा नोक्सान नै पुर्याउछ । गलत संस्कार, पद्दतिको सबै नेपाली एक जुट भएर प्रतिबाद गरौ । आफ्नो संस्कार आफै निर्माण गरौ । देश निर्माणमा अघि बढौ । नेपालको भविष्य सुन्दर छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *