लिली थापा : एक सच्चा नेपाली आमा

उज्यालो प्रतिनिधि २९ बैशाख २०७८, बुधबार
युवा समाजसेवी अनिल थापा लेख्नु हुन्छ ……..

नेपोलियन बोनापार्ट”ले त्यसै भनेका होइनन्, “मलाई एउटा असल आमा देऊ र म तिमीलाई एउटा राष्ट्र दिनेछु” ।

नेपोलियनले असल पिता किन मागेनन् होला ? किन कि, संसारमा त्यस्तो कुनै वेद, विज्ञान र व्यक्ति छैन, जो आमाभन्दा असल होस । आमालाई सम्बोधन गर्दै भारतका पूर्वराष्ट्रपति एवं वैज्ञानिक अब्दुल कलामले भनेका छन्, जीवनमा एक दिन मात्र त्यस्तो दिन छ, जुन दिन सन्तान रुँदा आमा मुस्कुराउँछिन्, त्यसपछि त्यो दिन जीवनमा कहिल्यै पनि आउँदैन कि एक सन्तान रुँदा आमा मुस्कुराउन् ।

बास्तबमै नेपोलियन बोनापार्टले भन्नु भए जस्तै आज म पनि भन्छु “मलाई एउटा असल आमा देऊ र म तिमीलाई एउटा सुन्दर समाज दिने प्रयत्न गर्छु” हो यस्तै एउटा असल उदाहरण आमा पात्र हुनु हुन्छ अति आदरणिय आमा लिलि थापा ।

एकल आमा दिदिबहिनीहरूका पक्षमा समाजमा भएक महिला हिंसा र कुरितिहरु परिवर्तन गर्नु पर्छ भनेर लामो समयदेखि नै अन्यायको बिरूद्धमा आवाज उठाउनु भयो । आफु २८ वर्षकै उमेरमा श्रीमान गुमाउनु पर्दाको पिडा संगै साना छोरा, बिरामी आमा र दु:ख बिसाउन ठाउॅं नपाउदा, यो समाजको अगाडि रुने ठाउँ पनि नहुदा, उहाँले आत्मवल बढाएर सिङउगो मुलुकमै महिलाहरूका लागी दु:ख बिसाउने र आश्रय दिन एकल महिलाहरूको निम्ती “मानव अधिकारका लागी एकल महिला समुह” , छहारी स्थापना गर्नु भयो । साच्चै महिलाहरू लाई दुःख पर्‍यो भने माइत जान्छन । आफ्नाहरू सँग दुःख बाँड्न चाहन्छन । एकल महिला दिदि बहिनीहरूका आ-आफ्ना पिडा र दुःखहरू सहनै नसक्दा भने दु:ख बिसाउने पवित्र स्थल छाहारी बनेकोमा एकल महिलाहरू गर्व गर्नु हुन्छ । “छाहारी भवन” क्षमताको बिकास केन्द्र पनि हो । जहा हजारौ एकल महिलाहरू आश्रय लिन आउनु हुन्छ र उर्जा लिएर जानुहुन्छ । देशैभरिका अधिकांश एकल महिलाहरू संस्थाको छाहरी भवनमा सीप सिक्ने,तालिम लिने मानसिक रूपमा बलियो बन्ने र उच्च आत्ममनोवल तयार गर्दै समाजमा भएका महिला हिंसा ,बिकृतिहरू लाई पनि निर्मुल पार्न मदत गर्ने केन्द्र स्थापना गर्नु भएको हो । हाल लाखौको संख्या भएका “एकल महिला समुह” को संस्थापक सर्वगुणी व्यक्ति आदरणिय आमा लिलि थापा हुनु हुन्छ ।

सबैका मनकारी आमा लिलि थापाले दस वर्षसम्म गाउँ–गाउँमा एकल महिला समूह बनाउँदै हिँड्नु भयो त्यसपछि सासूबुहारी छलफल कार्यक्रम, एकल महिलाको समूह विस्तार र क्षमता विकास, रातो रङ अभियान, एकल महिला उद्यमी समूहको स्थापनालगायत संवैधानिक रूपमा विभेदकारी नीति परिवर्तनको चरणसम्म पुग्न सफल हुनु भएको छ । उहाँ जस्तो आमा आज मुलुकले पाउदा हामी पनि गर्व गर्दछौ ।

सन्तान जीवनमा असफल हुँदा होस्, वा सन्तानले सय मुरी दुःख पाउँदा होस्, चाहे सन्तान कुलतमा लाग्दा होस्। सन्तानका हरेक गलत कदममा पहिलो पीडा आमालाई हुन्छ ।

कसैको सफलतामा कोही एकदमै खुसी हुन्छ भने त्यो सिर्फ उसको आमा हुन्छिन । आमा नै पहिलो गुरु हुन्, लिलि आमा नै एकल महिलाहरूका पहिलो साथी हुन्, पहिलो सल्लाहकार हुन्, हरेक पीडाको सारथी हुन् ।उहा सिर्फ आमा मात्र हुँदिनन्, एकल सन्तानहरूका लागि पहिलो पुस्तक पनि हुन् ,अनि नम्र स्वभावका ममतामय लिलि हरेक नेपाली चेलिहरूका पिडा आत्मसाथ गर्नु हुन्छ यो नै महानताको पात्र पनि हो ।

एकल हुनु रहर नभई परिस्थितिले उभ्याएको एउटा दोबाटो हो। उनीहरूलाई विभेद होइन माया, स्नेह दिन जरुरी छ। समाज रूपान्तरणका लागि एकल महिलाको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने राज्य र समाजले मनन् गरेमा मात्र धेरै मात्रामा एकल महिलामाथि हुने विभेद न्यूनीकरण हुनेछ। समाजमा पति मृत्युपछि अर्को विवाह नगरी बस्ने महिलाहरूलाई समाजमा विधवा भन्ने चलन थियो । यो परिभाषालाई बदलेर हिजोआज “एकल” भन्ने गरिएको छ, कानुनका पानाहरूमा एकल महिलाका धेरै अधिकारहरू संसोधनका भै सकेका छन । जसका निम्ती “मानव अधिकारका लागी एकल महिला” समुहको महत्वपुर्ण योगदान लाई हामी सबैले कदर गर्नु पर्छ ।

हुनत शब्द र परिभाषा बदलिँदैमा पात्र र प्रवृत्ति बदलिने त होईन । विधवा शब्दको सट्टा एकल महिला भनिए पनि समाजले हेर्ने दृष्टिकोणमा खासै परिवर्तन आएको छैन । समाजको चेतनाको स्तर वृद्धिसँगै भएका सकारात्मक परिवर्तनलाई तुलना गर्ने हो भने एकल महिलाको सामाजिक हैसियत हिजोको तुलना भन्दा बर्तमान अबस्थामा उल्लेखिनिय परिवर्तन भने आएको पाईन्छ । उक्त सफलताका परिणामहरूका निर्माता महिला अधिकारकर्मी लिलि थापाका योगदान अतुलनिय नै छ ।

एउटा अर्को घटना पस्किन चाहे, विवाह पञ्चमीका दिन राष्ट्रप्रमुख रामजानकी मन्दिरको दर्शन गर्न जाने परम्परा नै छ तर राष्ट्रपति भण्डारी फर्किएपछि रामजानकी मन्दिरमा २१ औं शताब्दीको मानव सभ्यतालाई गिज्याउने खालको अत्यन्त अशोभनीय कार्य भयो । मन्दिरमा विधवा प्रवेश गरेको भन्दै चोख्याउने काम गरियो । विधवा महिला प्रवेश गर्दा मन्दिर अपवित्र हुन्छ भन्दै राजनीतिक दलको ब्यानरमा मन्दिर चोख्याउने कार्य भएको उक्त समाचार संसारभर भाइरल भयो । एकल महिला राष्ट्रपतिको पदसम्म पुगेकोमा हामी जति गौरव गर्छौं, एकल महिलाप्रति समाजको दृष्टिकोण अझै बदलिन सकेको छैन ।

मुलुकको उच्च पदमा आसीन महिलाले त यसरी अपमानित हुनुपरेको छ भने नेपालका ग्रामीण बस्तीका महिला, एकल महिलाहरूप्रति गरिने व्यवहार कस्तो होला ? २१ औं शताब्दीको संघारमा आइपुग्दा पनि हाम्रो पितृसत्तात्मक संस्कार एवं पुरुषवादी सोच जस्ताको तस्तै छ । यही सोचका कारण नेपाली समाजमा समग्र महिलाहरूको अवस्था दयनीय देखिन्छ । त्यसमा पनि एकल महिलाको अवस्था त थप नाजुक नै छ । के शिक्षित, के अशिक्षित, के गरिब, के धनी, सबै परिवार तथा समाजमा रुढिवाद तथा अन्धविश्वास कायमै छ जसलाई निर्मुल पार्न पनि आमा लिलिथापा निरन्तर अभियानमै हुनु हुन्छ जसका लागी सादर नमन गर्दछु ।

अहिले पनि एकल महिलाको हकमा त उनीहरू घरपरिवार, समाजका लागि कलंक नै हुन् । एकल हुनु आफैंमा अभिशाप हो भन्ने दृष्टिकोण कतिपयमा छ । एकल हुँदा धनी होस् वा गरिब, गाउँ होस् वा सहर उनीहरूप्रति सामाजिक, धार्मिक, सांस्कृतिकका नाममा दिइने यातना, तनाब कति हुन्छ अन्दाज गर्न पनि असम्भव छ । धर्म र सामाजिक परम्पराका नाममा एकल महिलाप्रति गरिने व्यवहार कहालीलाग्दो छ । मृत्यु एउटा सामान्य प्रक्रिया हो, कालगतिले मृत्यु हुन पुगेका श्रीमानको दोष श्रीमतीमाथि थोपर्दै लोग्ने टोकुइसम्मको आरोप खेप्न बाध्य बनाउँछ समाजले । कतिपय घरपरिवारले एकल बुहारीलाई घरबाट निकालेका उदाहरण पनि प्रशस्तै छन् । अझ भनौ : जनयुद्धपछि हजारौं महिला एकल बाँचिरहेका छन् । शताब्दीयौंदेखि यसरी एकल महिलाहरू रुढिवादी परम्पराका नाममा प्रताडित र शोषणको सिकार बन्दै आएका छन् ।एकल महिलाहरू प्रति गरिएको अमानविय व्यवहार बिरूद्ध आमा लिलि थापाले न्यायिक कार्य गर्नु हुन्छ भन्ने बिश्वास एकल महिला मात्र नभई हामी सिंगो मानव समाजले पनि महसुश गरि सकेका छन ।पिडितका हक अधिकारका पक्षमा विभिन्न आवाज उठाउँदै समुदायमा एकल नारी प्रति लगाएका गलत ब्यबस्थाहरूमा आमुल परिवर्तण गर्नु भएको छ । मानविय सेवा कार्यमा मुलुकलाई ठुलो योगदान दिनु भएका हसिली तेजस्पि स्नेहि आमा लिलिबाट समाजसेवा गर्दाका जटिल समस्याहरू माथी सफल हुने एउटा अथक उत्प्रेरणा मिलेको आभास मलाई पनि भएको छ जसका लागी उहालाई हृदयको अन्तरस्करण बाट सादर नमन तथा धन्यबाद व्यक्त गर्न चाहन्छु ।

अन्तमा : हामी अहिलेको यस बिज्ञानको युगमा छौ तर पनि हाम्रो मुलुकमा एकल महिलाहरूले यति सम्मको अमानविय व्यवहार झेल्नु पर्दा हामी युवाबर्ग तथा नागरिक समाजले पनि यस बिषयमा गम्भिर रूपले सोच्नु जरूरी छ । हक-अधिकारबाट बन्चित नगराउन, समाजमा भएक कुरितीका ब्यवस्थालाई परिवर्तन गर्नु हाम्रो दायित्व हो । हाम्रा एकल महिला आमा दिदि बहिनीहरू माथि हुने अन्यायको बिरूद्ध चुप बस्नु अपराध हो ! पवित्र सोचका साथ समुदायमा एकल महिला आमा दिदि बहिनीहरू लाई सम्मान गरौ । राष्ट्रियताको सवालमा समान अधिकार प्राप्त गर्न सहयोग गरियोस । राष्ट्र निर्मानमा एकल महिलाहरू लाई सहभागी गराऔ । माया,सदभाव साथ समर्थन गरौ ।

समाजसेवी तथा युवा विश्लेस

अनिल थापा 

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *