कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको कहर बढ्दै गएसँगै कोभिड अस्पतालका बेड तथा आइसियु कक्ष भरिएका छन्। कोरोनाको यो दोश्रो लहर पहिलो लहरको कोरोनाभन्दा केही खतरनाक देखिएको छ ।
यस हिसाबले यो संख्या आगामी दिनमा अझै बढ्ने देखिन्छ। अहिले नै संक्रमितले अस्पतालमा शैया नपाउने समस्या देखिएको छ भने आगामी दिनमा संक्रमण यही हिसाबले बढ्दै गयो भने त्यतिखेर अवस्था भयाबह हुन सक्छ। छिमेकी मुलुक भारतमा कोरोना संक्रमितहरूले अस्पतालको शैया नपाएपछि गम्भीर बिरामीहरू पनि त्यत्तिकै अलपत्र परेको, कतिपय अस्पतालले अक्सिजन समाप्त भएको सूचना टाँसेको दृश्य देखिएका छन् भने अक्सिजनको अभावमा मृत्यु भएको खबर पनि आइरहेका छन्। बिरामीका नातेदार अक्सिजन रिफिल गर्ने केन्द्रमा लामबद्ध भएका दृश्य आफैँमा कारुणिक छन्। अक्सिजन मात्र होइन, अत्यावश्यक औषधिको अभाव पनि उत्तिकै खट्किएको छ। नेपालमा पनि विस्तारै त्यही अवस्था देखिने खतरा बढेको छ। संक्रमण बढ्दै जाँदा अस्पतालमा हाइडिपेन्डेन्सी बेड, अक्सिजन अभावदेखि जनशक्ति अपुग हुने संभावना छ जसको सम्बोधनका लागि तत्कालै तयारी अघि बढाउन आवश्यक छ।
त्यसो त सरकारले पर्याप्त अक्सिजनका लागि थप २ हजार सिलिन्डर किन्नेदेखि २ सय चिकित्सक, ३ सय नर्स र ५ सय स्वास्थ्यकर्मीलाई कोभिड उपचारका लागि तालिम दिनुका साथै गत वर्ष घोषणा भएका आइसोलेसन सेन्टरहरू आयुर्वेद अनुसन्धान केन्द्र कीर्तिपुर, मनमोहन अस्पताल, दुवाकोट आइसोलेसन सेन्टर र खरिपाटी केन्द्रलाई पुनः तयारी गरिरहेको जनाएको छ। तर मुलुकमा कोरोना संक्रमणको जुन भयाबह अवस्था देखिँदैछ, त्यसलाई हेर्ने हो भने सरकारले गरेको अहिलेको तयारी पर्याप्त छैन। अस्पतालहरूमा पर्याप्त मात्रामा हाइडिपेन्डेन्सी बेड, आइसियु बेडदेखि भेन्टिलेटरको व्यवस्था, रेमडेसिभिरलगायतका अत्यावश्यक औषधिहरूको जोहो गर्न पनि उत्तिकै आवश्यक छ। मुलुकका जनघनत्व बढी भएका लगभग सबै सहर कोरोनाको उच्च जोखिममा छन्। तर, स्वास्थ्य पूर्वाधारको अवस्था भने सबैतिर नाजुक छ। त्यसले गर्दा पनि सरकारले कुनै स्थानविशेष मात्र नभएर मुलुकभर नै पर्याप्त मात्रामा तत्काल स्वास्थ्य पूर्वाधार विकास गर्नुपर्ने अवस्था छ।
प्रदेश २ मा पाँच दिनको अन्तरालमा नै संक्रमितहरूको संख्या तेब्बरले वृद्धि भएको तथ्यले पनि संक्रमणको डरलाग्दो अवस्था चित्रित गरेको छ। अझ यसरी संक्रमित भएकामध्ये अधिकांश आइसोलेसन सेन्टर अभावका कारण घरमा नै बस्नुपर्ने बाध्यताले संक्रमण समुदाय तहमा भयाबह हिसाबले फैलने खतरा देखिएको छ। सक्रिय संक्रमितमध्ये ५ प्रतिशत मात्र सरकारको निगरानीमा छन्। अझ वीरगन्जमा परीक्षण गरिएकामध्ये ५४।७९ प्रतिशतमा संक्रमण देखिएको छ। विगतमा संक्रमितलाई आइसोलेसन र शंकास्पद संक्रमितलाई क्वारेन्टिनमा राखेकै कारण संक्रमण भयाबह हिसाबले फैलिएको थिएन। तर अहिले छिमेकी मुलुक भारतबाट आएकाहरू सिधै घर गइरहेका छन् जसले गर्दा संक्रमण समुदायस्तरमा फैलिने जोखिम बढेको हो। अहिले संक्रमितको न कन्ट्याक्ट ट्रेसिङ गरिएको छ न त उनीहरूको अवस्थाकै चासो लिएर निगरानी गरिएको छ । त्यसो त अहिले परीक्षणको दायरा बढाउन पनि खासै ध्यान दिइएको छैन। परीक्षणको दायरा बढाउनेदेखि संक्रमितको व्यवस्थापन र निगरानी नबढाएसम्म संक्रमण घट्दैन। त्यसैले पनि सरकारले यो पाटोमा पनि उत्तिकै ध्यान दिन आवश्यक छ।
तसर्थ, हरेक नागरिकले पनि अब कोरोनालाई ख्यालख्याल नठानौँ, किनकी कोरोना ख्यालख्याल होइन । कोरोनाबाट आफू पनि बचौँ, अरुलाई पनि बचाऔँ ।