काठमाडौं । काठमाडौँको किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा मलेसियाविरुद्ध नेपाल ९ विकेटले विजयी भएको छ ।
मलेसियाले दिएको १ सय १० रनको सामान्य लक्ष्य नेपालले १२ ओभर १ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितका नायक बनेका युवा खेलाडी ओपनर कुशल भुर्तेल नायक बने ।उनले अविजित रहदै ६१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ४१ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६१ रनको योगदान दिए ।
नेदरल्यान्ड्सविरुद्धको खेलमा टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका उनको यो लगातार दोस्रो अर्धशतक हो । शनिबार नेदरल्यान्ड्सविरुद्धको खेलमा कुशलले ६२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।
त्यस्तै नेपालको सहज जितका लागि अर्का ओपनर आसिफ शेखले ४२ रन जोडे । उनले २९ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ४२ रन जोडे ।
उनले कुशलसँग १ सय २ रनको साझेदारी गरे । उपकप्तान दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहे । मलेसियाका लागि विरन्दीप सिंहले १ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनाएको थियो ।
मलेसियाका लागी अनवर अरुदिन ८ रनमा पेभिलियन फर्किए । त्यसपछि मैदान प्रवेश गरेका कप्तान अहमद फाइज धेरै बेर क्रिजमा टिक्न सकेनन् । उनी चौथो ओभरको दोस्रो बलमा टोलीको ३४ रन हुँदा ३ रनमा मैदानबाट बाहिरिए । उनले आफै गल्तिका कारण रन आउट हुन पुगे ।
तेस्रो विकेटको रुपमा मलेसियाले विरन्दीप सिंहलाई गुमायो । ११ बलमा १ चौका प्रहार गरेर ६ रनमा खेलिरहेका उनी सोमपालको बलमा बोल्ड हुन पुगे । सातौ ओभरको अन्तिम बलमा विरन्दीपले स्लीप खेल्ने क्रममा बल सोझै विकेटमा लागेको थियो । चौथो विकेटको रुपमा मलेसियाले ओपनर ब्याट्सम्यान साद अजिजलाई गुमायो ।
अजिजले मलेसियाका लागि २७ रनको योगदान दिए । उनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए ।
पाँचौ विकेटको रुपमा विकेटकिपर ब्याट्सम्यान शाफिक शारिफ पेभिलियन फर्किए ।उनले १३ बलमा एक चौका र छक्का प्रहार गर्दै १५ रन जोडे । त्यसपछि अमिनुद्दीन रामलीले १५ रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । उनले १५ बलमा एक छक्कासहित २० रन जोडेका थिए ।
नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्ले १/१ विकेट लिए ।
नेपालको यो लगातार दोस्रो जित हो । २ खेलमा ४ अंक जोड्दै नेपाल सिरिजको शीर्ष स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो ।
मलेसियाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा मलेसिया नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।