लमजुङ समाचार, अधिकांश सिसिटिभी बिग्रिए,अपराध नियन्त्रणमा समस्या

उज्यालो प्रतिनिधि १२ चैत्र २०७७, बिहीबार फोटो समाचार

लमजुङका सार्वजनिक क्षेत्रमा जडान गरिएका अधिकांश सिसिटिभी क्यामरा बिग्रिएका छन् ।

सरकारी निकायको आवश्यक समन्वय र चासो नहुँदा सिसिटिभी मर्मत हुन नसकेका हुन् । त्यसले गर्दा आपराधिक घटना भइहाले पनि अपराधीलाई चाँडो पक्राउ गर्न र जनतालाई शान्तिसुरक्षाको अनुभूति दिलाउनमा प्रहरीलाई समस्या हुने गरेको छ । प्रहरीले सिसिटिभीको अभावले काममा कठिनाइ भएको बताउँदै आएको छ ।

जिल्लामा हालसम्म ४४ वटा सिसिटिभी सडकमा जडान भएका छन् । तीमध्ये आठ वटामात्र सञ्चालनमा छन् । त्यही पनि सामान्य खालका मात्र रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ओमप्रकाश पुनले बताउनुभयो । बेँसीशहर नगरपालिकामा जडान गरिएका ३२ वटा सिसिटिभीमध्ये हाल चार र मध्यनेपाल नगरपालिकामा जडान गरिएका १२ वटा सिसिटिभीमध्ये चार गरी आठ बटा मात्र सञ्चालनमा रहेको र अरु सबै बिग्रिएका छन् । बेँसीशहरमा जडान गरिएका सिसिटिभी गत वर्षको पुससम्म १२ वटा सञ्चालनमा आए पनि सोहीमध्ये पनि बिग्रिएर तीन महिनादेखि चार वटा मात्रै सिसिटिभीले काम गरिरहेको प्रहरी निरीक्षक पुनको भनाइ छ ।

बेँसीशहर बजारका फुलबारी, नारायणस्थान, भीमसेनस्थान, मनाङेचौतारा, शेराबजार, मजुवाखोला, ठाडोलाइन लगायतका स्थानमा सिसिटिभी जडान गरिएको छ । तर बिग्रए पश्चात् लामो समयसम्म पनि मर्मत नभएकाले अधिकांश सिसिटिभीले काम नगरेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक पुनले भन्नुभयो, “हामीलाई अपराध नियन्त्रण तथा विभिन्न घटना सहज रुपमा पत्ता लगाउनलाई सिसिटिभीले मद्दत गर्ने गर्दछ, तर यहाँ जडान गरिएका अधिकांश सिसिटिभी नै बिग्रिएको समस्या भइरहेको छ ।”

उहाँले सिसिटिभी जडान भएका क्षेत्रमा विभिन्न पसलमा मोबाइल चोरी गरेका तीन÷चार जना र विभिन्न घटना घटाउँदै गएका केही व्यक्तिलाई समातेका थियौँ भन्दै सिसिटिभी बिग्रिँदा प्रहरीलाई पनि अपराध नियन्त्रणमा कठिनाइ भइरहेको बताउनुभयो । प्रहरी निरीक्षक पुनले भन्नुभयो, “विषेशगरी पसल चोरी, विभिन्न दुर्घटनादेखि रातिको समयमा आएका सवारी साधन, रातिको समयमा हिँडेका व्यक्तिले गरेका सबै क्रियाकलाप प्रहरी कार्यालयमा रहेको सिसिटिभीको कन्ट्रोल कक्षबाटै देख्न सकिन्थ्यो, सिसिटिभी बिग्रिएकाले प्रहरी नै विभिन्न स्थानमा खटिनु परिरहेको छ ।”

उहाँका अनुसार सिसिटिभीको अभाव हुँदा शान्तिसुरक्षा कायम गर्न, अपराध अनुसन्धान गर्न जटिल हुने गरेको छ । यस्तै, ट्राफिक व्यवस्थापन तथा दुर्घटना हुँदाको अवस्था बुझ्न पनि ट्राफिक प्रहरीलाई अप्ठ्यारो भएको छ । विभिन्न अनुसन्धान गर्नका लागि कुनै पसलले वा अफिसले राखेका सिसिटिभीमा गएर प्रहरीले हेर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । रु २० लाख बराबरको २४ वटा सिसिटिभी विसं २०७४ जेठ १८ गते जडान गरिएको थियो । बेँसीशहर नगरपालकाभित्रका सिसिटिभीको मर्मतसम्भारको जिम्मा दुई वर्षदेखि नगरपालिकाले लिँदै आएको छ । तर समयमै मर्मतसम्भार हुन नसक्दा अधिकांश क्यामराले काम गरेका छैनन् । बेँसीशहर नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेलका अनुसार केही समयअघि बसेको कार्यपालिका बैठकले मर्मतसम्भारका लागि रु साढे चार लाख बजेट छुट्याएको हुँदा चाँडै मर्मतको काम शुरु हुने बताए ।

झोला निर्माण तालीम
उद्यमी जन्माउने लक्ष्यसहित यहाँ सञ्चालित एक महिने झोला बनाउने तालीम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास कार्यालय लमजुङद्वारा राइनास नगरपालिमा यहाँका ११ जना महिलालाई प्रदान गरिएको एक महिने सिलाइकटाइ तालीम मङ्गलबार साँझ सम्पन्न भएको छ ।

“सीप सिकौँ स्वरोजगार बनौँ समृद्ध नेपालको निर्माण गरौँ” भन्ने नाराका साथ फागुन ९ गतेबाट शुरु गरिएको तालीमको समापन अवसरमा घरेलु तथा साना उद्योग विकास समितिका सूचना अधिकारी तथा प्रमुख प्रशिक्षक बन्दना आर्चायले पर्यटन लक्षित झोला बुनाइ तालीमले आर्थिक उपार्जनमासमेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

चालू वर्षमा सीप विकास कार्यक्रमअन्तर्गत दोर्दी गाउँपालिकामा नेपाली हस्तनिर्मित कागज बनाउने तालीम, १० दिने उद्यमशीलता विकास तालीम, जिल्ला कारागारमा कैदीबन्दीका लागि ४५ दिने प्लम्बिङ तालीम, सिलाइकटाइलगायतका कार्यक्रम सम्पन्न गरेको घरेलु तथा साना उद्योग विकास कार्यालय लमजुङले जनाएको छ ।

अनुदानमा हाते ट्र्याक्टर वितरण

दूधपोखरी गाउँपालिकाले ५६ जना किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । कृषिमा आधुनिकिकरण गरी उत्पादन वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा ५६ जना किसानलाई खेतबारी जोत्ने ट्र्याक्टर वितरण गरेको जनाएको छ ।

गाउँपालिकाले किसानको माग अनुसार ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको दूधपोखरी गाउँपालिका कृषि शाखाका प्रमुख गोविन्द घिमिरेले बताउनुभयो । उहाँले यसका लागि चालू आर्थिक वर्षमा रु १९ लाख बजेट विनियोजन गरेको जानकारी दिए। गाउँपालिकाले प्रतिकिसान रु ३८ हजार आठ सय मूल्य बराबरको हाते ट्रयाक्टर ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो ।

गाउँपालिकाका अध्यक्ष छुपीमाया गुरुङले ट्रयाक्टरको प्रयोगबाट किसानलाई सहज हुने बताउँदै कृषिमा आधुनिकीरण र व्यवसायीकरण गरी उत्पादन वृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरे। पछिल्लो समय युवा पुस्ता कामको सिलसिलामा बाहिरिएको र गोरुसमेत पाउन गाह्रो भएको अवस्थामा आधुनिक हाते ट्र्याक्टर पाएसँगै किसानले समयको समेत सदुपयोग हुने भन्दै खुशी व्यक्त गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार