निष्क्रिय रहेका अकाउण्ट बन्द गर्दै ट्विटर

११ मंसिर २०७६, बुधबार १२:३० मा प्रकाशित
उज्यालो संवाददाता

एजेन्सी । माइक्रो ब्लगिङ साइट ट्विटरले निष्क्रिय रहेका अकाउण्ट बन्द गर्ने तयारी गरेको छ ।

ट्विटरले डिसेम्बर ११ देखि ६ महिनाभन्दा बढी निष्क्रिय रहेका अकाउन्टहरू बन्द गर्ने भएको हो । बन्द गर्न लागिएका अकाउन्टहरूमा प्रयोगकर्ताको मृत्युका कारण निष्क्रिय रहेका अकाउन्टहरू समेत पर्नेछ।

पहिलो पटक ट्विटरले ठूलो सङ्ख्यामा अकाउन्टहरू बन्द गर्न थालेको हो । नयाँ नीति अनुसार ट्विटरले लाखौं अकाउण्ट बन्द गर्ने अनुमान गरिएको छ ।

ट्विटरले ६ महिनादेखि निष्क्रिय प्रयोगकर्ताले नयाँ परिवर्तित गोपनियता नीतिमा सहमति जनाउन नसक्ने भएकाले यसो गर्न लागिएको बताएको छ

पहिलो चरणमा अमेरिका बाहिर रहेका ट्विटर अकाउण्ट बन्द गरिने छ । हालका लागि लग-इन गरेको आधारमा सक्रियता मानिने भएपनि भविष्यमा ट्विटरमा गरिने गतिविधिका आधारमा सक्रियता निर्धारण गरिने बताइएको छ।

ट्विटरले असर पर्ने अकाउन्टका प्रयोगकर्ताहरूलाई इमेलमार्फत सूचना दिएको छ। उसले कति सङ्ख्यामा अकाउन्टहरू बन्द गरिने भन्ने बारे बताएको छैन।

हाल विश्वभर झण्डै १४ करोड ५० लाख मानिसले ट्विटर प्रयोग गर्छन् ।


सामाजिक संजालवाट साभार