नेकपाले जनताको मतको दुरुपयोग गर्दैन : पूर्वमन्त्री नायक

८ मंसिर २०७६, आईतवार १४:१४ मा प्रकाशित
उज्यालो संवाददाता

सिराहा । पूर्वमन्त्री अजय शंकर नायकले नेकपाले जनताले दिएको मतको दुरुपयोग नगर्ने बताएका छन् ।

यहाँस्थित् कल्याणपुर नगरपालिका वडा नं. १२ का विभिन्न स्थानमा आयोजित् उपचुनावी सभालाई सम्बोधन गर्दै नायकले जनताको मतको सदुपयोग नेकपाले मात्रै गर्न सक्ने बताएका हुन् । ‘नेकपा जनताको पार्टी हो, नेकपाले जनताले दिएको अमूल्य मतको दुरुपयोग गर्दैन’ उनले भने, ‘तपाईहरुले दिएको मतको हामी सदुपयोग गर्छौ ।’

नेकपाका लोकप्रिय नेता समेत रहेका उनले नेकपाका उम्मेदवारलाई मत दिएर जिताउन समेत अपिल गरे । नायकले देशको विकासका कामहरु नेकपाले अगाडि बढाएको बताउँदै मधेसको विकासका लागि नेकपाले कदम चालेको समेत बताए ।

‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ, हुलाकी राजमार्ग बन्दैछ, ठूलाठूला आयोजना तथा विकास निर्माणको काम दू्रत गतिमा अगाडि बढ्दैछ’ उनले भने, ‘यही सरकार भएको बेला हामी जनताको निम्ति काम गरेर देखाउँछौँ, तपाईहरुले हाम्रा पार्टीका उम्मेदवारलाई मत दिएर विजयी गराउनुस् ।’

उनले नेकपाले भाषण मात्रै नभएर काम समेत गरेर देखाउने बताए । जनताको आधारभूत समस्या समाधान गर्नका निम्ति नेकपा नेतृत्वको सरकारले कार्यक्रमहरु ल्याउने समेत उनले बताए ।

कल्याणपुर वडा नं. १२ मा वडाध्यक्षको लागि उपनिर्वाचन हुँदैछ । पूर्वमन्त्री यादव चुनावी सभाहरुमा व्यस्त छन् ।


सामाजिक संजालवाट साभार