नेपाल आदिवासी जनजाती महासंघ द्वारा Learning & People Development तालिमको आयोजना

२ मंसिर २०७६, सोमबार ०३:५५ मा प्रकाशित
उज्यालो संवाददाता

नेपाल आदिवासी जनजाती महासंघले तय गरेको आफ्नो वार्षिक कार्यक्रमको आधारमा Learning & People Development तालिमको आयोजना गरेको छ।

नेफिन युएई अन्तर्गत रहेका संस्थाहरुका सदस्यहरुलाई नेफिन युएईको पहिलो बैठकमा अध्यक्षज्युले संस्थाको बार्षिक कार्ययोजना भित्र पार्नु भएको यस L&PD ट्रेनिङ मार्फत व्यक्तित्व सबलीकरण र वृत्ती विकासको उद्देश्य लिई संचालन गरिएको यस तालिम कार्यक्रममा बिभिन्न जातीय समुदायबाट जम्मा ३७ जना व्यक्तिहरुको सहभागीता रहेको थियो ।

नेफिन युएईको आयोजनामा युएईको बर दुबई स्थित सिल्वर स्पुन रेष्टुरेण्ट को हलमा १५ नोभेम्बर २०१९ शुक्रबार संचालन गरिएको यस तालीम कार्यक्रम नेफिन युएईको ईतिहासमा नै पहिलो पटक गरिएको हो । यस तालीमको मुख्य उद्देश्य आगामी दिनहरुमा संस्थामा आउने नेतृत्वकर्ताहरुलाई संस्था संचालनको लागि आवश्यक पर्ने कार्य, पद्दती, योजनाको तर्जुमा का साथसाथै नेतृत्व विकास र वक्तृत्व कलाको विकास अनी कार्य संचालनको लागि आवश्यक पर्ने अफिस सफ्टवेयर संचालनमा सहजताको ज्ञान प्रदान गर्नु रहेको थियो ।

तालिम मा कार्यक्रमको सभापतित्व ग्रहण गर्नुहुँदै नेफिन युएई का अध्यक्ष श्री महेश मोक्तानज्युले स्वागत मन्तव्य दिनु भएको थियो । स्वागत मन्तव्यको क्रममा वहाँले यस तालिम मार्फत संस्थासँग आवद्ध साथीहरूलाई कसरी प्रशिक्षित गराउने, कसरी नेतृत्वको लागि योग्य बनाउने भन्ने कुरामा जोड दिने बताउनु भएको थियो । सहि ढंगबाट संस्था संचालन गर्दा उद्देश्य प्राप्ति गर्न कति सहजता हुन्छ भन्ने कुरा बुझ्न पनि यो तालिमले उद्देश्य लिएको जानकारी स्वागत मन्तव्यको बिचमा मोक्तानज्युले बताउनु भयो ।

यस कार्यक्रमको सञ्चालन नेफिन युएई का महासचिब श्री कुमार बलामीज्युले गर्नु भएको थियो । करिब ८ घण्टा लामो उक्त कार्यक्रम लाई बिभिन्न फरक बिषयमा गरी जम्मा ४ चरणमा बिभाजन गरिएको थियो।साथै कार्यक्रममा सहभागी हुनुभएका सम्पुर्ण महानुभावहरुलाई चियापान को साथै खाना को पनि व्यवस्था गरिएको थियो ।

पहिलो चरणको तालिम अन्तर्गत सहभागीहरुलाई आदिवासी जनजातीको सम्बन्धमा बताइएको थियो । तालिममा नेफिन युएई प्रशिक्षण विभाग प्रमुख संयोजक श्री डेर राज गुरुङ्ज्युले आदिवासी जनजातीको व्याख्या, नेपालमा सुचीकृत जनजातीहरु, सुचीकृत हुने प्रक्रिया, नेपालको संविधानमा आदिवासी जनजातीको हक र मर्मको संरक्षण, ILO को आदिवासी जनजातीको परिभाषा तथा अन्तराष्ट्रीय आदिवासी दिवस, नेपालको संविधानमा नेफिनको विमति र तत्काल कार्यान्वयन गर्नुपर्ने कार्यहरु तथा आदिवासी अभियन्ताहरुको बारेमा जानकारी दिनुभएको थियो ।

दोस्रो चरणको तालिममा Learning & Development विषय समेटिएको थियो । यो तालिममा प्रशिक्षण विभाग का उपसंयोजक श्री सनिल घिसिङ्गज्युले प्रशिक्षण दिनु भएको थियो । यस तालिममा वृत्ती तथा नेतृत्व विकाश, यसको आवश्यकता तथा प्रकारहरु, संस्था संचालनमा यसको प्रभाव र आवश्यकताको बारेमा विस्तृत रुपमा जानकारी दिइएको थियो।

तेस्रो चरणको तालिम मा Microsoft Office अन्तर्गत Microsoft Excel को बारेमा ज्ञान दिइएको थियो। यो तालिमको प्रशिक्षण नेपाली समाजका पार्षद अध्यक्ष श्री राम मोक्तानज्युले गर्नुभएको थियो । आफ्नो कार्यक्षेत्र र संस्था संचालनमा आउने वित्तीय तथा मानव संसाधन अन्तर्गतका हिसाब किताब बारेमा सहज व्यवस्थापनमा सहयोग पुग्ने यस सफ्टवेयरको विस्तारित तालिमको लागि सहभागी सदस्यहरुलाई नेफिन युएईले व्यवस्था गर्न मोक्तानज्युले आग्रह गर्नुभएको थियो।

चौथो तथा अन्तिम चरणको तालिम मा प्रशिक्षण गर्नुहुँदै प्रशिक्षण विभाग प्रमुख संयोजक तथा प्रशिक्षक श्री डेर राज गुरुङ्गज्युले वक्तृत्वकला तथा उदघोषण विषयमा विस्तृत रूपमा जानकारी दिनुभएको थियो। यसै चरणमा वहाँले बैठक र त्यसको संचालन विधिको बारेमा पनि तालिम दिनुभएको थियो।

कार्यक्रम को अन्तमा सहभागीहरु लाई प्रश्नोतर र प्रतिक्रिया को लागी समय दिईएको थियो। यसक्रममा नेपाल मगर संघ युएईका अध्यक्ष, श्री शिला रानामगरज्यु, तामाङ समाज युएईका कार्यवाहक अध्यक्ष श्री जितेन्द्र तामाङज्यु, प्रवासी भुजेल समाज सेवा समिती युएईका अध्यक्ष श्री सुर्य बहादुर भुजेल ज्यु, नेफिन युएई का उपाध्यक्ष श्री डि बि समर्पन मगर ज्यु , नेवा: पुच: युएई दुबई क्षेत्रीय अध्यक्ष श्री दिपेश श्रेष्ठज्यु, नेवा: पुच: युएई दुबई क्षेत्रिय मिसा पुच का अध्यक्ष श्री पवन मैया नकर्मी ज्यु लगायत फोनिज युएई का कार्यवाहक अध्यक्ष श्री राजेश प्रधानज्युहरुले प्रतिक्रिया दिने क्रममा उक्त तालिम ज्ञानमुलक भएको र आफुहरुले यस कार्यक्रम मार्फत धेरै लाभ हासिल गर्न पाएकोमा खुशी ब्यक्त गर्दै नेफिन युएई प्रति आभार प्रकट गर्नु भएको थियो।

आफ्नो कार्य ब्यस्तता बावजुद पनि पुरा दिनभर समय दिई कार्यक्रम सफल बनाउन सहयोग गर्नु भएका सम्पुर्ण प्रशिक्षक तथा सहभागी महानुभावज्युहरुलाई नेफिन युएई को तर्फबाट हार्दिक धन्यबाद प्रकट गर्दै नेफिन युएई को अहिलेको टिमले आगामी दिनहरुमा पनि यस्तै बिभिन्न नौलो खालको कार्यक्रम हरु गर्ने लक्ष लिएको र यसको लागी सबैको साथ र सहयोग प्राप्त भै रहने अपेक्षा गरेको कुरा नेफिन युएई र नेवा: पुच: युएईका महासचिब श्री कुमार बलामी ज्यु ले जानकारी गराउनु भएको छ।


सामाजिक संजालवाट साभार