माओवादी हुँदा हामीले जितलाई पचाउन सकेनौँ : प्रचण्ड

२२ कार्तिक २०७६, शुक्रबार १३:४६ मा प्रकाशित
उज्यालो संवाददाता

पोखरा । नेकपाका अध्यक्ष प्रचण्डले ०६४ सालमा भूमिगत जीवनपछि पहिलोपटक बहुमतले जिते पनि विजयलाई ‘पचाउन’ नसकेको बताएका छन् । ‘तत्कालीन एमाले जितमा ढुक्क थियो । तर, हामीले बहुमतले जितेपछि एमालेले हार के हो भन्ने राम्रोसँग बुझ्यो,’ उनले भने, ‘तर, त्यो जीतलाई पचाउन सकेनौं । पछि हामीमा अहंकार आयो र विभाजनतर्फ गयौं ।’

०६४ सालमा पार्टीले बहुमत ल्याए पनि पचाउन नसक्दा पछि दोस्रो चुनावमा हार व्यहोर्नु परेको अध्यक्ष प्रचण्डले समीक्षा गरे । प्रचण्डले ०७० सालसम्म आइपुग्दा तत्कालीन माओवादी पार्टीले चुनाव हारेपछि भने बुद्धि फिरेको बताए । उनले भने, ‘दोस्रो चुनावमा हाम्रा दाह्रा भाँच्चिए, सिङ भाँच्चिए ।’

कास्की २ मा हुन लागेको प्रतिनिधिसभाको उपचुनाव रहर या ईच्छाले नभई बाध्यताले भएको प्रचण्डको भनाइ थियो । शोकलाई शक्तिमा बदल्न उपचुनावमा होमिएको र हेलचक्रयाइँ नगर्न प्रचण्डले सुझाए । ‘उपचुनावमा हामीले हेलचेक्र्याईं गर्‍यौं भने जनता र राष्ट्रप्रति गैरजिम्मेवारी ठहर्छ,’ उनले भने ।


सामाजिक संजालवाट साभार