सिरहामा सामाचकेवाको रौनक

२० कार्तिक २०७६, बुधबार ०९:३९ मा प्रकाशित
गणेश कुमार ठाकुर

सिरहा,कार्तिक २० गते । जिल्ला सिरहाको विभिन्न ठाउँमा भाइटीकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा रहेको सामाचकेवा पर्व विधिवत रुपमा सुरु भएको छन । सामाचकेवा दिदीबहिनीद्वारा दाजुभाइको दीर्घायुको सम्पन्नताका लागि कामना गरिने पर्व हो ।

कात्तिक शुक्ल द्वितीया तिथि अर्थात कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका लागि आजै कलात्मक मूर्ति बनाउनका लागि माटोको जोहो गर्नुपर्ने भएकाले पर्वको शुभारम्भका रुपमा लिने गरिएको हो ।
यो पर्वका लागि दिदीबहिनीले माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर कात्तिक पूर्णिमाको मध्यरात्रिमा विशेष पूजापाठ गरी पर्वको सम्पन्न गर्ने गर्छन् । काँचो माटोले बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र त्यही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेबा’ भनिन्छ ।

भगवान कृष्णकी छोरीको नाम सामा थियो । आफ्ना पिता कृष्णबाट श्रापित भएर ‘चरा’ बनेकी सामालाई भाइ साम्बले चराबाट मुक्त गराएकाले भाइ साम्बलाई ‘चकेवा’को नामाकरण गरिएको हो । तसर्थ, यो पर्व सामाचकेवा पर्वको रुपमा प्रसिद्ध भएको हो ।
यो पर्व मैथिलानी र थारु समुदायकी महिलाहरुले मनाउने गरिन्छ । ग्रामीण क्षेत्रमा अझै पनि यो पर्वको लोकप्रियता कायमै छ भने तराईका सहरी क्षेत्रमा क्रमिक रुपमा यो पर्वप्रतिको आकर्षणमा केही कमी आएको महशुस गर्न थालिएको छ ।
भविष्य पुराणमा उल्लेख गरिएअनुसार, सामाकी नोकरानी डिहुलीले सामा जतिखेर बृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरुसँग रमण गर्ने गरेको झुठो कुरा कृष्णसमक्ष लगाइन् । भगवान कृष्ण आवेसमा आएर सामा र बृन्दावनका समस्त ऋषिहरुलाई चरा बन्ने श्राप दिनुभयो ।
सामाको भाइ साम्बले जब यी विषयहरुमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामासहित सबै ऋषिहरुलाई श्रापबाट मुक्त गर्नुभयो ।
भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अबदेखि जसले माटोको सामा बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन्, उसको दाजुभाइ दीर्घायु हुने बरदान सामाले दिनुभएपछि यो पर्वको शुभारम्भ भएको धार्मिक मान्यता छ ।
यो पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउने कार्यको थालनी हुन्छ । सो दिन सिरी सामा, दोश्रो दिन चकेबाका साथै एक पातिमा बसेका सातवटा चरा जसलाई सतभैंया भनिन्छ । त्यसपछि क्रमिक रुपमा खररुची भैया, बाटो बहिनो, दुई मुखबाला चरा, भाग्य चक्र कारण विमुख भएका दाजुबहिनीको मूति बनाइन्छ । यसका साथै बृन्दावन जङ्गल, झुटो कुरा लगाउने चुगलखोरका साथै बनाइएका ती मूर्तिहरुलाई विभिन्न रङले रङग्याइन्छ ।
यस पर्वमा सबैभन्दा रोचक भनेको दिदीबहिनीले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशसाका साथै आशिष दिने खालका सामा गीत गाउने गरिन्छ । त्यसै क्रममा आफूलाई चाहिएका सरसमान पनि गीतको माध्यमबाट सुनाउने र विकासका लागि पनि आग्रह गर्छन् ।

के छ सामा चकेवामा
सामा स्त्री पात्र र चकेवा पुरूष पात्र हुन् । दुइटैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ । त्यस्तै अन्य पात्र पनि माटोकै बनाइन्छ । सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनीहरू मनोरञ्जन गर्दछन् ।
छठको खरना वा परनादेखि मैथिल ललनाहरू माटोको आकृतिहरू बनाई राति एउटा ढक्कीमा राखेर दीप बाली घरबाट बाहिर आएर अन्य साथीहरूसँग मिलेर गीत गाउँदै चौरमा गई यो पर्व मनाउने गरिन्छ ।
परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन पनि छ । चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी आफू चारैतिर वृत्ताकारमा बस्दछन् । यस पर्वमा पतिपत्नीका बारेमा चुक्ली लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने काम हुन्छ । यो क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ ।

यसमा सामा चेकवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावन लगायतका पात्र हुन्छन् ।
सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदीबहिनीले मनोवाञ्छित फल प्राप्तिका कामना गर्दछन् । मूर्तिहरूलाई चलायमान गरी संवादको आनन्द उठाउँछिन् । यसमा कुनै बेला वृन्दावनमा आगो लगाउँछिन कुनै बेला चुगलाको मुख आगोले पोल्छिन् । डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यत्ति बेला जीवन्त भएर आउँछन् जब महिलाहरू त्यसलाई पात्रका रूपमा उभ्याएर गीतिसंवाद बोल्छन् ।

कथा तत्व

मिथिलामा सामा चकेवाको प्रचलन प्राचीन कालदेखिनै रहेको पाइन्छ । यसको सर्वप्रथम चर्चा पद्रमपुराणमा पाइन्छ । यो पूर्णरूपमा भाइबहिनीको प्रेममा आधारित छ । भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसङ्गको मार्मिक क्षणजस्ता गीति संवाद र अभिव्यक्तिको छोटो कथातत्व बोकेको गीति संरचना रहेको छ ।

सामाचकेवाको गीत

यस पर्वमा मिथिलाञ्चलको पारिवारिक जीवन तथा लोक आस्थाको अट्ट सम्बन्ध देखिन्छ । मानव मात्र हैन, घर परिवारमा रहने चरा, झाँझी कुत्ता, वनतित्तर, जङ्गल – जीवनकै सिद्धान्तअनुरूप वृन्दावन जङ्गल सम्बन्धको अद्भूत समन्वय रूप हो ।

समाज र परिवार जहाँ हुन्छ, त्यहीँ चुक्ली गर्ने, षड्यन्त्र गर्ने चुगलाजस्ता पात्र हुन्छ । कठपुतली नृत्यको आभास दिने यो पर्वमा डोरीले हैन, हातले सञ्चालन हुन्छन् र महिलाहरू सूत्रधारका रूपमा जीवनका गाथाहरू लोक धुनको आधारमा गाउँछिन्, जसमा अपूर्व र विशिष्ट शैलीको जनजीवनकै उद्वेग प्रवाहित भइरहेको हुन्छ ।
महिलाहरू जब आ–आफ्नो घरबाट डालामा मूर्तिहरू राखी सामा खेल्न चौरतिर निस्किन्छन्, तब उनी गाउँछिन् –

डालाले बहार भेली, बहिनी से पलाँ बहिनो
फलाँ भइया लेल डाला छीन,
सुनु गे राम सजनी…………..!

भाइ र उनका परिवारजनको मङगल कामना गर्दै गाइने गीतमा जनकपुरधामको चर्चा आउनु महत्वपूर्ण सङ्केत गर्दछ । यसले जनकपुरको प्राचीनता र समृद्धितिर पनि इङ्गित गरेको प्रस्ट छ–
सिरी रे जनकपुरसँ आबि गेल भ्रमरा
लागि गेल पनमा दुकान ।
जब चुगला बारी आउँछ, त्यसलाई बायाँ हातमा समाति त्यसको जुँगा भनी राखिएको सनपाट (जुट) मा दाहिने आगो लगाउँदै निभाउँदै महिलाहरू गाउँछिन् –
धान –धान–धान, भइया कोठी धान
चुगला कोठी भुस्सा ।
प्रतीकात्मक रूपमा भैयाकोठी धान र चामल भनी भाइको समृद्धिको कामना गरिन्छ भने चुक्ली लगाउने दुष्ट प्रवृत्तिको कोठीमा भुसा र खरानी भएको देखाएर तिरस्कृत र लाञ्छित गर्ने काम गरिएको छ ।

सम्पन्नतासँगै भाइ वीर पनि छन्, योद्धा पनि छन् । वृन्दावनमा आगो लाग्यो, निभाउने कोही छैन । बहिनीलाई भाइमाथि विश्वास छ, उनी मात्र निभाउन सक्तछ भनेर –

वृन्दावनमे आगि लागै
कोइ ने मिझावे हे
हमर भैया फलना भैया
दौडि –दौडि मिझाबे हे… ..!
विसर्जनको बेलाको यो आमन्त्रण गीत–
सामचको , सामचको अइह हे, अइह हे
जोतल खेतमे बइसिह हे, बइसिह हे… …!
सामा चकेवालाई अर्को वर्ष फेरि कूड खेतमा आइ बस्नु हे भन्दै सबै माटोका पात्रहरूको विसर्जन गरिने चलन रहेको छ । त्यसै गरि सिरहा लगाइत तराई को विभिन्न नगरपालिका ÷ गाउँपालिकाहरु मा सामा चकेवा खेलि रहेको छ ।


सामाजिक संजालवाट साभार