खोपासी–ताल्ढुंगा सडकमा बस सरर, अब ४ घण्टामै पुगिन्छ ताल्ढुंगा

१४ कार्तिक २०७६, बिहीबार १३:०४ मा प्रकाशित
उज्यालो संवाददाता

बनेपा । बहुप्रतिक्षित् सडकखण्ड खोपासी–ताल्ढुंगामा बस सञ्चालनमा आएको छ । लामो समयसम्मको प्रयासपछि बुधबारबाट खोपासी–ताल्ढुंगा सडकमा बस सञ्चालनमा आएको हो ।

यो सडकखण्डमा बस सञ्चालनमा आएसँग डाँडापारिबासी हर्षित् बनेका छन् । अब डाँडापारि क्षेत्रका झण्डै १० हजारभन्दा बढी बासिन्दाले प्रत्यक्ष लाभ लिनेछन् ।

एसियाली विकास बैंकको ऋण सहयोगमा २०५४ सालबाट सञ्चालित ग्रामीण पूर्वाधार विकास कार्यक्रमले २०६४ सालसम्ममा २२ किलोमिटर सडक बनाएपछि उक्त आयोजना नै समाप्त भएको थियो । पटक–पटक बजेट विनियोजन भए पनि ठेकेदारको लापार्वाहीका कारण यो सडकको काम सम्पन्न हुन सकेको थिएन ।

यस सडकखण्डमा बस सञ्चालन भएसँगै अब यहाँका बासिन्दाको आर्थिकोपार्जनमा समेत वृद्धि हुने विश्वास गरिएको छ । खोसापीदेखि ताल्ढुंगा ६५ कि.मि. को दूरीमा पर्दछ । यससँगै अब पनौतीबाट ताल्ढुंगामा ४ घण्टामा पुग्न सकिनेछ । 

प्रतिबद्धता पूरा गरेसँगै सांसद् चन्द्र लामाको वाहीवाही
यसैबीच चुनावमा जनतासँग गरिएको प्रतिबद्धता पूरा गरेको भन्दै सांसद् चन्द्र लामाको वाहीवाही भएको छ । खानीखोला गाउँपालिकाको केन्द्र ताल्ढुंगामा आयोजित् चुनावी सभामा बोल्दै उनले खोपासी–ताल्ढुंगा सडकमा कुनै पनि हालत्मा बस सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । ‘खोपासी–ताल्ढुंगा सडकमा कुनै पनि हालत्मा बस सञ्चालन गर्छौ, यदि बस सञ्चालन भएन भने अर्कोपटक म भोट माग्नै आउँदिन’ डाँडापारिबासीसामु सांसद् लामाले भनेका थिए ।

उनले काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा ख बाट निर्वाचित् सांसद् हुन् । उनले निर्वाचित भएदेखि खोपासी ताल्ढुंगा सडकमा नियमित रुपमा बजेट विनियोजन गर्दै आएका छन् । प्रदेशमार्फत् यसअघि उनले ३ करोड रुपियाँ बजेट विनियोजन गरेका थिए भने चालु आर्थिक वर्षका लागि ४ करोड विनियोजन गरेका छन् । वर्षात्का कारण सडक अवरुद्ध हुँदा खुलाउनका लागि उनले जिल्ला समन्वय समिति काभ्रेमार्फत् २७ लाख बजेट विनियोजन गर्न भूमिका निर्वाह गरेका थिए ।

हामी व्यवस्था बनाउँछौँ : अध्यक्ष खुलाल
खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्ण खुलालले सडकलाई व्यवस्थित् बनाउने जिम्मा अब गाउँपालिकाको काँधमा आएको बताए । ‘हामी सबैको सपना पूरा भयो, अब सडकलाई व्यवस्थित् बनाएर वर्षैभरी बस चलाउन सक्नेगरी हामी व्यवस्थित् बनाउँछौँ’ उनले भने ।


सामाजिक संजालवाट साभार