मुलुक लोडसेडिङमुक्त भएको ३ वर्ष पूरा, कुलमानको कारण विद्युत प्राधिकरण ७ अर्ब नाफामा

११ कार्तिक २०७६, सोमबार ०२:३८ मा प्रकाशित
विवेक लोप्चन

काठमाडौं । २०७३ साल कार्तिक महिनादेखि मुलुकमा लोडसेडिङ भएको छैन । ०७३ सालकै लक्ष्मीपूजाका दिन काठमाडौं सहर झिलिमिली देखियो ।

यसअघि लक्ष्मीपूजाकै दिन पनि लोडसेडिङ हुँदै आएको थियो । धेरैलाई त्यस वर्षमा पनि लोडसेडिङ हुन्छ भन्ने लागेको थियो । तर, त्यस दिन मात्रै होइन त्यसपछि पनि कहिल्यै लोडसेडिङ भएन काठमाडौं लगायतका सहरमा ।

लोडसेडिङका कारण अक्रान्त बनेको मुलुकलाई लोडसेडिङमुक्त नै बनाइदिएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको व्यापक चर्चा भयो । उनको कामको प्रशंसा भयो ।

विद्युत प्राधिकरण ७ अर्ब नाफामा
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले वार्षिक रुपमा नौ अर्ब घाटामा रहेको प्राधिकरणले अहिले सात अर्ब रुपैयाँ नाफा कमाएको दावी गरेका छन् ।

धुलिखेल उद्योग वाणिज्य सङ्घ धुलिखेलले शुभदिपावली, नेपाल संवत ११४० र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमा उनले प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दा विद्युत्भार कटौती अन्त्य गर्न सफल भएको दावी गरेका हुन् । आगामी वर्ष दश अर्ब नाफामा पु¥याउने र यस वर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युत् सेवा पुगेको जिल्ला घोषणा गर्ने तयारीमा रहेको उनको भनाइ छ ।


सामाजिक संजालवाट साभार