प्रचण्ड के साँच्चै ‘ओरिजिनल माओवादी’ होइनन् ?

९ कार्तिक २०७६, शनिबार ०२:४७ मा प्रकाशित
बुद्ध लोप्चन

‘तपाईहरुलाई म ओरिजिनल माओवादी होला जस्तो लागेको होला, तर, म ओरिजिनल माओवादी होइन, म पनि चौथो महाधिवेशनको मदन भण्डारी नै हो ।’

मोरङमा नेकपाले आयोजना गरेको चियापन कार्यक्रमलाई सम्बोन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसो भन्दै गर्दा कार्यक्रमका सहभागीहरुमा हाँसो फैलियो । सहभागीहरुमा हाँसो फैलिरहँदा प्रचण्ड त्यसलाई थप प्रष्ट पार्न खोज्दै थिए ।

त्यसो भए, के प्रचण्ड साँच्चै ओरिजनल माओवादी होइनन् ? एकपटक प्रचण्डको राजनीतिक यात्राबारे चर्चा गरौँ ।
वि.सं. २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यता लिएर आफ्नो राजनैतिक जीवन प्रारम्भ गरेका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरेका थिए ।

उनी २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भए । उनी वि. सं. २०३८ मा क्षेत्रीय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महा–सचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित् भएका हुन् ।

वि.सं २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित् भएका प्रचण्ड २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री बन्न सफल भए ।

यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछिको बसेको तेस्रो विस्तारित बैठकले पार्टीको नाम फेरेर नेकपा (माओवादी) राख्यो । नेकपा माओवादीको महामन्त्री भएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष समेत बन्न सफल भए ।

वि.सं. २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहेका प्रचण्ड २०६३ साल असार २ गते प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौमा भूमिगत जीवनबाट सार्वजनिक भएका हुन् ।

प्रचण्ड २०६९ सालमा हेटौंडामा भएको राष्ट्रिय सम्मेलन, २०७० सालमा विराटनगरमा भएको एकताको महाधिवेशनबाट समेत एकीकृत नेकपा माओवादीको अध्यक्ष बने । यसबीचमा माओवदी विभिन्न दलको रुपमा विभाजित भयो । विभाजितपछि पनि २०७३ साल जेठमा फुटेका माओवादीबीच एकता भयो । त्यसपछि उनी माओवादी केन्द्रको समेत अध्यक्ष बने ।

२०७४ मा आएर नेकपा एमाले र माओवादी केन्द्रबीच पनि एकता भयो र नेकपा गठन भयो । त्यसपछि उनी नेकपाको अध्यक्ष छन् ।

त्यसो भए प्रचण्ड ओरिजिनल माओवादी होइनन् ?

यसरी हेर्दा प्रचण्ड ‘ओरिजिनल माओवादी’ नै हुन् । उनको राजनीतिक यात्रालाई पछ्याउँदा उनी माओवादी नै हुन् । उनको परिचय नै माओवादी आन्दोलनले बनाएको हो । उनले माओवादी पार्टीको अध्यक्षको रुपमा आफूलाई नेपाली राजनीतिमा यो उचाई दिलाउन सफल भएको हो । उनको राजनीतिक यात्राले भन्छ, प्रचण्ड ओरिजिनल माओवादी नै हुन् ।

त्यसो भए प्रचण्ड आफैँ किन म ‘म ओरिजिनल माओवादी’ होइन भन्दैछन् ?
प्रचण्डले मोरङमा बोलेको भिडिडयोलाई हेर्दा उनले आफूलाई ओरिजनल माओवादीको कित्ताबाट बाहिर राखेर पूर्व एमाले समुहको मन जित्न खोजेको आशय बुझ्न गाह्रो छैन । सारांशमा गएर हेर्दा प्रचण्ड आफूलाई ओरिजिनल माओवादी होइन भन्नुको तात्पर्य भनेको एमाले समुहको मन जित्न खोज्नु नै हो ।

त्यसैले त उनले आफूलाई मदन भण्डारीसँग समेत तुलना गरेका छन् । झापा विद्रोहबाट नआएको भए पनि तत्कालीन मालेले भण्डारीलाई सहज रुपमा महासचिव स्वीकार गरेको स्मरण गर्दै उनले नेकपाभित्र आफूलाई नेतृत्व स्वीकार गर्न नहिचकिचाउन सांकेतिक आग्रह गरेको बुझिन्छ । यही क्रममा उनले भनेका छन्, ‘मदन भण्डारी पनि ओरिजनल माले होइन, म पनि ओरिजनल माओवादी होइन, मदन भण्डारी ओरिजनल माले होइन, ओरिजनल कोके होइन । तर उहाँलाई आत्मसाथ गर्न मालेले किन्चित पनि संकीर्णता देखाएन ।’

यसको अर्थ उनले आफूलाई अब नेकपाको सर्वस्वीकार्य अध्यक्ष बनाउन खोजेको प्रष्ट हुन्छ । र, उनले यो वा त्यो नाममा आफूलाई अध्यक्ष मान्न कहिल्यै संकीर्णता देखाउन नहुने धारणा राखेका छन् ।

सर्वस्वीकार्य अध्यक्ष बन्न प्रचण्डलाई कति सहज ?
आफूलाई ओरिजिनल माओवादी होइन भनेर प्रचण्डले एमालेको मन जित्न खोजे पनि उनको यो बोलीले उनलाई फाइदा भने गर्दैन । किनकी उनको यो बोलीले अब उनी विस्तारै एमाले लाइनमा सरेको देखिन्छ जुन पूर्व माओवादी कित्ताका लागि स्वीकार्य छैन । कतिपयले उनको यो बोलीमाथि सार्वजनिक रुपमा आपत्ति समेत जनाइसकेको छ ।

एमालेले हत्तपत्त प्रचण्डलाई अध्यक्ष स्वीकार्ने अवस्था नै छैन । त्यस्तो अवस्था हुँदो हो त नेकपामा अहिले दुई अध्यक्ष हुने नै थिएन । प्रचण्डले एउटा कुरा के बिर्सिनु हुँदैन भने उनी अहिले माओवादी कित्ताबाट नेकपाको अध्यक्ष बनेका हुन् । उनले यही आफ्नो कित्ता बिर्सेर नेकपाको सर्वस्वीकार्य बन्न सजिलो छैन । बरु, उनको यो बोलीले उनकै कार्यकर्ता माओवादी कित्ताबाट बाहिर जान बेर छैन ।


सामाजिक संजालवाट साभार