माधव नेपाल भन्छन्, ‘हामीले जितेको ठाउँमा अब राम्रो काम गरेर देखाउन सक्नुपर्छ’

८ कार्तिक २०७६, शुक्रबार ११:५२ मा प्रकाशित
मोतीलाल मोक्तान

काभ्रे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का हाइकमाण्ड सदस्य माधवकुमार नेपालले अब जनताको अगाडि राम्रो काम गरेर देखाउनुको विकल्प नभएको बताएका छन् ।

नेकपा काभ्रे जिल्ला कमिटिले आज बनेपामा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले नेकपाले जितेको ठाउँमा राम्रो काम गरेर देखाउन सक्नुपर्ने बताएका हुन् । ‘अहिले हामीसँग दुईतिहाई बहुमत छ, बहुमत स्थानीय तह र ६ वटा प्रदेशमा हाम्रै सरकार छ, यो बेला हामीले काम गरेर देखाउनु सक्नुपर्छ’ उनले भने ।

नेता नेपालले जनताको कुरा सुन्नु र विकास निर्माणमा ध्यान दिनु नेकपा नेतृत्वको सरकारको दायित्व भएको समेत बताए । ‘विगतका कमीकमजोरीलाई सुधारेर जनताको कुरा र काममा ध्यान दिएर हामी अगाडि बढ्नुपर्छ’ उनले भने, ‘हामीले गरेर देखाउने बेला यही हो ।’

विकास निर्माणको काम गर्दा दीर्घकालीन योजना आवश्यक रहेको नेता नेपालको भनाई थियो । उनले चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमण सफल भएको दावी गरे । चिनियाँ राष्ट्रपति सि ले नेपालको विकासमा चीन सारथी भएको स्मरण गर्दै उनले नेपाललाई भुपरिवेष्ठित्बाट भुजडित् देश बनाउन सहयोग गर्ने वाचाले नेपालको विकासमा फड्को मार्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, नेकपा ३ नम्बर प्रदेश कमिटि अध्यक्ष नारायण दाहाल र नेकपा काभ्रेकी अध्यक्ष रुकु चौलागाईले मन्तव्य राखेका थिए ।


सामाजिक संजालवाट साभार