ओली र सीबीच भेटको क्रममा सीले किन हड्डी धुलो बनाउने चेतावानी दिएका हुन् ?

२७ आश्विन २०७६, सोमबार ०९:४९ मा प्रकाशित
उज्यालो संवाददाता

बीबीसी । नेपालका प्रधानमन्त्री केपि शर्मा ओली र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार भेटघाट गरेका थिए । सोही भेटघाटको क्रममा सीले कठोर चेतावनी दिँदै ‘चीनलाई टुक्र्याउने प्रयास गर्नेको हड्डी धुलो बनाउने’ बताएका हुन् ।

नेपालका प्रधानमन्त्रीसँगको भेटघाटमा सीले भने, ‘यदी चीनको कुनै पनि हिस्सालाई टुक्राउने कोसिस गरियो भने तिनको हड्डी धुलो बनाइनेछ । यस्तो प्रयास सफल होला भन्ने सोचेर समर्थन गर्ने बाह्य शक्तिको दिवा सपनामात्र हुनेछ ।’

सिन्ह्वाका अनुसार सी जिनपिङले अत्यन्त कठोर भाषामा चीनलाई टुक्राउने प्रयास गर्नेहरुको हड्डी धुलो बनाइदिने धम्की दिएका थिए । चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले त्यो खबर सोही दिन प्रकाशित गरेको भए पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सोमबार यसको चर्चा चलिहरेको छ ।

सीको चेतावनीबारे सी यिहोङ नामका एक प्राज्ञले साउथ चाइना मर्निङ पोस्टसँग बोल्दै भने, ‘हङकङको अवस्था निक्कै गम्भीर छ । सीको चेतावनी अमेरिका र ति सबैको लागि हो जो प्रत्यक्ष र अप्रत्यक्ष रुपमा त्यहाँ जारी अतिवादीको हिंसाको पक्षमा उभिएका छन् ।’

राष्ट्रपति जिनपिङले धम्कीमार्फत चीनको दृष्टिकोण मात्र स्पष्ट गरिदिएका छैनन्, चीनको आन्तरिक मामिलाबाट टाढा रहन अमेरिकालाई पनि चेतावनी दिएका छन् ।


सामाजिक संजालवाट साभार