भीआईपीको दशैं तस्वीरमा हेर्नुस् (फोटो फिचर)

२१ आश्विन २०७६, मंगलवार १३:२५ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारीले दशैंको टीका लगाइ दिएकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा हनुमान ढोका मूल पुजारी तथा आफन्तबाट राष्ट्रपति भण्डारीले टीका ग्रहण गरेकी थिइन् ।

मंगलबार अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन सितल निवास पुगेका भएका प्रधानमन्त्री ओलीलाई बडा दशैंको टीका, जमरा र जमराको माला लगाई दिएकी हुन्। त्यसैगरी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यलाई पनि टीका लगाई दिइन् ।

उनले प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरू, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई दशैंको टीका लगाई दिइन्।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो साढे २ बजे पिता मोहनप्रसाद ओलीको हातबाट टीका लगाएका छन् । बालुवाटारमा आफूले टीका लगाएपछि उनले पत्नी राधिकालाई टीका लगाइदिएका थिए । त्यसअघि अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन शितल निवास पुगेका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको टीका, जमरा र माला लगाइदिएका थिइन् ।

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवलीले ठूलीआमाको हातको टीका लगाएका छन् । मंगलबार दिउँसो मन्त्री निवास पुलचोकमा उनले दशैंको टीका लगाएका हुन् । उनले टीका लगाएको तस्वीर सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दाजु तथा भाउजुको हातबाट दशैंको टीका लगाएका छन् ।


सामाजिक संजालवाट साभार