कसरी फसे महरा ?

१६ आश्विन २०७६, बिहीबार १४:५४ मा प्रकाशित
मदनकुमार अधिकारी

परस्त्री गमन हाम्रो सामाजिक सँस्कार अनुसार अमर्यादित् तथा नेपालको प्रचलित कानून अनुसार दण्डनीय अपराध भए पनि परस्त्री गमनका घटना र प्रवृत्ति हेर्दा यो असाध्यै ठूलो आयामका साथ समाजमा विद्यमान रहेको सहजै बुझ्न सकिन्छ । समाजका तल्लो तहमा रहेका नर–नारीहरूबीच हुर्कने यस्ता सम्बन्धहरूका कथा ब्यथा त छँदैछन् ,राष्ट्रको महत्वपूर्ण जिम्मेवारीमा रहेका ब्यक्ति–ब्यक्तित्वहरूसँग सम्बन्धित परस्त्री गमनका घटनाले राष्ट्रिय अन्तर्रा्ष्ट्रिय रूपमै निरन्तर बहस, बिवाद र बदनामी बढाईरहेको बुझ्न गाह्रो छैन ।

गएको आइतबार बेलुकी संघीय संसदका सभामुख कृष्णबहादुर महरा आफ्नै संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीको निवास तिनकुने पुगे । नीजी सुरक्षाकर्मी लिएर त्यहाँ पुगेका महराले करिब सवा घण्टा बिताएर फर्केको बिषयले जुन रूप र स्वरूप ग्रहण गर्यो, त्यो सबैले बुझेकै बिषय हो । प्रहरीको अनुसन्धान र सीसीटिभी फुटेजले समेत महरा त्यहाँ गएको कुरा प्रष्ट भै सकेको छ । संसद सचिवालयमा कार्यरत ती महिला रोशनी शाही स्वयंले नै प्रहरीमा फोन गरेर आफू सभामुख महराद्वारा बलात्कृत भएको बताएकोमा रहस्यमय ढंगले ती महिला यतिबेला आफ्नै बयान बिरूद्ध उभिएकी छिन् । उनले आफूमाथी कुनै पनि दुव्र्यवहार नभएको बरू आफू डिप्रेसनको रोगी भएकोले जालझेल गरि आफूलाई फसाएको बताउँदै बलात्कारको घटनामा गरिने यौनाङ्ग तथा शारीरिक–मानसिक जाँच गर्न समेत अस्विकार गरिदिएबाट बहसको नयाँ अध्याय शुरू भएको छ । यसबीच महराले नेकपा उच्च नेतृत्वको निर्देशन मुताविक आफ्नो सभामुख पदबाट राजिनामा समेत दिईसकेको अवस्था छ ।

घटित् घटना र त्यसका बिविध पक्षलाई केलाउँदा पूर्व सभामुख महरा कुनै कुनाबाट पनि दुधले नुहाएका जस्ता देखिंदैनन् । रोशनी शाहीसँग उनको बिशेष सम्पर्क र सम्बन्ध रहेको कुरा बुझ्न धेरै माथापिच्ची समेत गरिरहनु पर्दैन तर महराको यो प्रकरण जुन समयमा र जुन तरिकाले जसरी सतहमा आएको छ त्यो बिषय चाहिँ निकै गम्भीर रहेको कुरा सबै नेपालीले बुझ्नु जरूरी छ । यो पंतिकारले गत असोज ३ गतेको आफ्नो एक लेख मार्फत नेकपाका अध्यक्ष प्रचण्ड वा सभामुख महरालाई कुनै ठूलै षडयन्त्रको सिकार बनाईने प्रबल सम्भावना रहेको तथ्य औंल्याएको थियो जुन उज्यालो नेटवर्कबाट प्रकाशित भइसकेको छ । अमेरिकी प्रशासनलाई ओसामा बिन लादेनले आफ्नो स्वार्थमा घात गर्छ भन्ने कुरा त मज्जाले थाहा थियो तर कसैले सोच्नसम्म नभ्याएको तरिका अपनाउँदै बोईङ्ग बिमानलाई नै हतियार बनाएर ट्विन टावर र पेन्टागन हान्छ भन्ने पटक्कै थाहा थिएन । सभामुख महराको केसमा पनि यहि भएको हो । नेकपा नेतृत्व र स्वयं महरालाई समेत सभामुख महराको भुमिकाबाट अमेरिका र भारत आक्रोशित छन् भन्ने त थाहा थियो तर आफ्नो बैयक्तिक कमजोरीमा खेलेर आफ्नो पद र सार्वजनिक छवि नै स्वाहा गरिदिन सक्छन् भन्ने उनले अनुमान नि गर्न सकेन् । पारिवारिक झैं सम्बन्ध रहेको रोशनी शाहीबाट बलात्कारको आरोप आईलाग्न सक्छ भन्ने थोरै पनि आशंका उनलाई थिएन । अनि त्यही ‘अवैध सम्बन्ध’ प्रति रहेको महराको आत्मबिश्वासमा टेकेर बलात्कारको बोईङ्ग विमान ठोक्काएर “महरा सर“ रूपी एक अग्लो टावर ध्वस्त पार्ने कार्य सम्पन्न गरिएको छ । हामी नेपालीहरू राष्ट्रिय–अन्तर्राष्ट्रिय स्वार्थको जालोमा जेलिएको तत्व वा अन्तरबस्तु बुझ्न छोडेर घटित घटनामा मात्र केन्द्रित भई प्रतिक्रियामा उत्रन्छौ, जुन कुरा सभामुख प्रकरणमा समेत देखिएको छ ।

कथा यत्तिमै सकिन्न, अविवाहित र अझ ब्रह्मचारी भनिने पूर्व भारतिय प्रधानमन्त्री स्व.अटलबिहारी बाजपेयी राजकुमारी कौल नामक एक बिछट्टकी सुन्दर काश्मीरी कन्याको मोहजालमा रहेको बताईन्छ ।

नेपालको सन्दर्भमा चर्चा गर्दा राणा प्रधानमन्त्रीहरू तथा शाह बंशीय राजाहरूको गनेर गन्न नभ्याईने ‘रखौटी’ र ‘भित्रिया’हरू रहेको तथ्य ईतिहासमा बर्णीत छ । यसबारे धेरै चर्चा गर्नु जरूरी छैन । २००७ सालपछिको राजनैतिक नेतृत्व समेत यौन अपचलनबाट अछुतो रहेको देखिन्न । मुख्यतः यौन मनोविज्ञानमा आधारित साहित्य सृजना गर्ने राजनेता बी.पी.कोईरालाको परस्त्रीगमनका अनगिन्ती कथाहरू पाईन्छन् । बीपीको यस्तो चालामालाबाट आजित भएकी धर्मपत्नी शुशिलाले ‘हजुरले चुरोट र महिलाहरूसँगको संगत छोड्नुस्’ भनेर दवाब दिँदा ‘यो चुरोट त बरू अहिल्यै छोडिदिन्छु तर महिलाहरूसँगको संगत त म मरेपछि मात्र छुट्छ’ भन्ने जवाफ दिएको कुरा प्रकाशमा आईसकेकै बिषय हो । यतिमै कुरो सकिन्न । २०१७ को शाही कू अघिसम्म असाध्यै राम्रो सम्बन्ध रहेको स्व.राजा महेन्द्र र बीपी कोईरालाले कुनै उच्च घरानियाँकी सुन्दर महिलासँग पालै–पालो सहवास गर्ने गरेको प्रसंग समेत प्रकाशित भैसकेकै बिषय हो ।

स्व. गिरीजाप्रसाद कोईरालाका यौनिक बिषयमा धेरैले आशंका गरेको नपाइए पनि भीमनीधी तिवारीकी सुपुत्री तथा काँग्रेस नेता नरहरी आचार्यकी साहित्यकार समेत रहेकी पत्नी शारदा शर्मासँग अत्यन्तै निकट सम्बन्ध रहेको बताइन्छ । यहाँसम्म कि शारदा शर्माको स्व.कृष्णप्रसाद भट्टराईसँग समेत अत्यन्तै निकटतम सम्बन्ध रहेको बताउनेको कमी छैन । स्वयं शारदाले समेत गिरिजाबाबुले आफू एक्लै भएको बेला ‘कति राम्री’ भन्दै सुम्सुम्याउने गरेको कुरा स्विकार गरेको अन्तरवार्ता यो पंतिकार स्वयंले पढेको छु ।

यसका अतिरिक्त शेरबहादुरको बिवाहित महिलालाई लभलेटर प्रकरण अनि काँग्रेस नेता मिनेन्द्र रिजालद्वारा नम्रता श्रेष्ठ समक्ष राखिएको यौन प्रस्ताव समेत उल्लेखनीय छ । काठमाण्डौंमा पर्खाल नाघेर प्रेमीका भेट्न जाने क्रममा पक्राउ परेर पत्र–पत्रिकाको हेडलाईन बनेका सोलुखुम्बु कांग्रेसका नेता बलबहादुर केसीको चर्चा नगर्नु पक्कै पनि उचित हुँदैन । यस्तै काठमाडौ महानगरपालिकाको मेयर रहँदा केशव स्थापितले त्यहिं कार्यरत एक महिला अधिकृतसँग ठाडै यौन प्रस्ताव राखेको बिषय नेवार थरकी ती महिलाले केही महिना अघि चलेको ३मीटु अभियानको क्रममा सामाजिक सञ्जाल फेसबुक मार्फत आफैंले यो कुरा खुलाएकी थिईन् । तर, यस्ता प्रसंगहरू पुष्टि गर्ने प्रमाण नहुने हुँदा ‘हावा नचली पात हल्लिन्न’ भन्ने नेपाली उखान त्यत्तिकै नबनेको कुरा स्मरण गर्नु उपयुक्त हुन्छ ।

महरा प्रकरण चाहिँ परस्त्री गमनको बिषय मात्र रहेन । रोशनी शाही स्वयंले प्रहरीलाई फोन गरेर आफू संघिय संसदका सभामुख कृष्णबहादुर महराबाट बलात्कृत भएको भनिसकेपश्चात् त्यो जवरजस्ती करणीको बिषय बन्न पुग्यो । अनि स्वाभाविक रूपमा त्यो सार्वजनिक चासो र सरोकारको बिषय बन्न पुग्यो । तर माथि उल्लेख गरिएझैं जुन समयमा जुन प्रकार र जुन शैलीले यो काण्ड बाहिरियो त्यसका अनेक तानावानाहरू रहेका छन् । यो आलेखमा माथी विभिन्न उच्चपदस्थ राजनतिक नेतृत्वसँग जोडिएका बिवाहेत्तर सम्बन्धका बारेमा चर्चा गर्नुको मुख्य उद्देश्य प्रसंगवश यस्तो–यस्तो अवस्था छ है भन्नको लागि मात्रै । हो, सबैले यस्तो काम गरेकै छन् महराले गरेर के बिगारे भन्ने उद्देश्यले चाहिँ किमार्थ राखिएको होईन । मूलत : बुझ्नुपर्ने कुरा के छ भने महरा प्रकरणमा महरा निर्दोष हुँदाहुँदै फसाईएको पनि होईन बरू महराको यहि कमजोरीमा टेकेर देश–बिदेशी स्वार्थ समूहले योजनाबद्ध खेल खेलिदिएको हो, र त्यसको अन्तरबस्तु सबैले बुझ्नुपर्दछ भन्ने यो पंतिकारको आशय हो । यहि पवित्र उद्देश्यका साथ यो आलेख लेखिएको हो ।

पछिल्लो लामो कालखण्ड देखि महरा परिवारसँग पारिवारिक झैं सम्बन्ध रहेको चित्रजंग शाही र रोशनी शाही कुनै खास डिजाइनका गोटी बनेको बुझ्न गाह्रो छैन । कम्युनिष्ट बर्चस्व दबाउन अमेरिकी एजेन्सीहरूले क्युवाका तात्कालिन राष्ट्रपति फिडेल क्यास्ट्रोलाई सिध्याउन उनकी आफ्नै बहिनीलाई एजेन्ट बनाएर प्रयोग गरेपनि क्युवाली जासूसहरूले बेलैमा त्यो थाहा पाएपछि क्यास्ट्रो जोगिएको घटनाको ईतिहास साक्षी छ । खासगरी चीन समर्थक नेताका रूपमा चिनिने तथा भारतीय संस्थापन पक्षले चिन समर्थक नेपाली एजेण्टको रूपमा लिने गरेको कृष्णबहादुर महरा, नेकपा अध्यक्ष प्रचण्डका अति विश्वासपात्र नेताहरू मध्येका एक हुन् । यहाँ महरा उपरको थ्रेट सिधै प्रचण्डलाई गलाउने उद्देश्यबाट प्रेरित छ । किनकी चिनियाँ मेगा प्रोजेक्ट हाल बीआरआई (BRI) नामले चिनिने ‘वन बेल्ट वन रोड इनिसिएटिभ’(OBOR)मा अरू कसैले नभई प्रचण्ड प्रधानमन्त्री भएकोबेला सम्झौता सम्पन्न गरेका थिए । चिनको मेगाप्रोजेक्ट बीआरआई लाई निस्तेज गर्ने एकल उद्देश्यले प्रेरित भै अमेरिकाले ‘ईन्डो–प्यासिफिक रणनीती’ सार्वजनिक गरेको र नेपाललाई त्यो रणनीतिको एउटा हिस्सा बनाई नेपाल प्रवेश गर्ने अनि निरन्तर फैलँदो चिनियाँ प्रभाव रोक्न नेपाली भुमिबाट योजना बनाउने अमेरिकी र भारतिय समूहको रणनीतिक डिजइनलाई प्रचण्ड र कृष्णबहादुर महराले सबैभन्दा बढी असहयोग गरेपछि त्यसको बदलामा जे भएको छ त्यो सबैको सामुन्ने छ ।

बिगत लामो समयदेखी चिनियाँ राष्ट्रपति सी जिनपिङ्गको नेपाल भ्रमणबारे चर्चा चल्दै आएपनि त्यो सम्भव भएको थिएन तर यसपटक चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सुनिश्चित हुनुको साथै पहिलोपटक चिन बाहिर बिदेशी भूमीमा ‘सी चीन फिङ्ग बिचारधारा’बारे नेपालमा बहस चलाईनु तथा नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच औपचारिक भाईचारा सम्बन्ध स्थापित भएपछि कतै नेपालमा पनि चिनियाँ मोडेलको राजनैतिक प्रणाली स्थापित हुने त होईन अनि त्यसो भैहालेमा आफू सदाको लागि प्रतिपक्षी बनेर खुम्चिनुपर्ने त हैन भनेर त्रसित बनेको बिपक्षी काँग्रेसको समेत सद्भाव लिएर यो सारा प्रकृया भाँड्ने गुरूयोजना सहित यो घटना घटित भएको छ । पुलिसभन्दा पहिले नेपाली काँग्रेस निकट पत्रकार घटनास्थल पुगेर अन्तरवार्ता गरिसक्नु आफैंमा माथी उल्लेखित शंका पुष्टि गर्ने गहकिलो आधार हो ।

यदि साँच्चै महरालाई कानूनी कारवाही गर्ने र जेल पठाउने नै उद्देश्य भए त पीडितले प्रहरीमा उजुरी दिनुपर्दथ्यो तर उनले त्यसो गर्नुको साटो आफ्नो बयान नै पुरै १८० डिग्रीमा उल्ट्याउँदै बलात्कार नै नभएको बताउनुको मूल उद्देश्य भनेकै अमेरिकी एजेन्डामा साथ नदिने महरालाई सभामुख पदबाट बिस्थापित गर्नुका साथै बदनामीको टीका लगाईदिएर चीनको बिश्वासपात्रलाई चिनियाँ राष्ट्रपति नेपाल आउने पूर्वसन्ध्यामै उसको राजनैतिक भविष्य समाप्त पारिदिनु हो । अनि अमेरिकी एजेन्डामा साथ नदिने जो कोहिलाई पनि छोडिने छैन भन्ने सन्देश प्रवाह गर्नु पनि हो । गत चुनावमा आगामी प्रधानमन्त्री बनाईदिन्छौं तर बाम एकता नगर भन्ने भारतीय तथा पस्चिमी दवाबको बिरूद्ध उभिने साहस गर्दा प्रचण्डले एक्लो पुत्र गुमाउनु परेको घटना ताजै छ । नेपाली राष्ट्रियताको पक्षमा दर्विलो अडान राख्ने मदनकुमार भण्डारीलाई त्रिशुलीमा झारिएको घटना समेत उल्लेखनीय छ भने भारतले हुन्न भन्दा–भन्दै संविधान जारी गर्ने कार्यको नेतृत्वकर्ता तात्कालिन प्रधानमन्त्री सुशील कोईरालाको अचम्मको मरण पनि हामीले बिर्सनु हुन्न ।

सिजिनपिङ्गको नेपाल भ्रमणको स्पष्ट तस्विर अगाडि आउनासाथ त्यसलाई जसरी पनि भाँड्नका लागि शक्ति राष्ट्रहरू खासगरी अमेरिका र भारत जुटेको पाईन्छ । उच्च राजनीतिक तहबाटै भ्रमणमा भाँजो हाल्ने प्रयास भैरहेको बुझिएकै हो । अमेरिकाको इण्डो प्यासिफिक रणनीतिसँग प्रत्यक्ष गाँसिएको ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’लाई संसद्बाट पारित गर्ने र चीनलाई बिच्काउने प्रयास उच्च तहबाट भैरहेकोमा महरा सबैभन्दा ठूलो बाधकको रूपमा देखिएका थिए । सभामुख रहेका कृष्णबहादुर महरालाई अमेरिकीहरु र देशभित्रैका विभिन्न शक्तिहरुले मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदबाट पारित गराउन तिब्र दवाब दिन थालेको समाचारहरू त यस अघि नै सार्वजनिक भएकै हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको खास विश्वासपात्र मानिने अर्थमन्त्री डा. युवराज खतिवडाले सभामुख महरा तथा संसद् सचिवालयका अधिकारीहरुलाई यो कम्प्याक्ट जसरी पनि पारित गर्न दवाब दिएको भन्ने समाचार समेत नेपाली छापाहरूमा बग्रेल्ती आएकै हो । अर्थमन्त्रालयका अधिकारीहरुलाई मन्त्री खतिवडाले अमेरिकासँगको यो सम्झौता तत्कालै प्रतिनिधिसभाबाट पारित गराउने गरी लविङ गर्न निर्देशन दिएको कुरा स्वयं अर्थमन्त्रालयका कर्मचारीहरूले नै बताउँदै आएका हुन् ।

विश्वमा चिनको बढ्दो प्रभाव र खासगरी चिनियाँ मेगाप्रोजेक्ट बी.आर.आई.को ब्यापकताबाट अमेरिका नराम्रोसँग अताल्लिएको बुझ्न गाह्रो छैन । चीनले आफ्नो यो मेगा प्रोजेक्ट मार्फत् १५२ देश अर्थात विश्वका ६४% मुलुकहरूसँग कनेक्टिभिटी विस्तार गर्ने विस्तृत र विहंगम परियोजनालाई उच्च प्राथमिकता दिएर युद्ध स्तरमा कार्यान्वयनमा जुटेकोले अमेरिकाले यसलाई जसरिपनी चेक गर्ने उद्देश्यले ईन्डो–प्यासिफिक रणनिती सार्वजनिक गरेको हो । अमेरिका नेपाललाई यो रणनीतीको हिस्सा बनाएर नेपालीभूमी मार्फत रणनीतिक महत्वको खेल खेल्न सकिने आँकलनका साथ लागि परेकोमा नेकपाका अध्यक्ष प्रचण्डले चिनियाँ बिदेशमन्त्रीसँगको भेटमा शीतयुद्धकालीन नाटोको झल्कोदिने तथाकथित् इन्डो–प्यासिफिक रणनीतिमा नेपाल हिस्सेदार हुन नसक्ने भन्दै बी.आर.आई.को पक्षपोषण गरेको खवर बेईजिङ्गबाट सार्वजनिक भएसँगै झस्किएको अमेरिकाले नेपाल सरकारसँग धारणा माग गरेको थियो । इन्डो–प्यासिफिक रणनीतिको हिस्सा मानिने मिलेनियम च्यालेन्ज कम्प्याक्टमा सन् २०१७ मै नेपालको तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको भएपनी त्यसलाई सदनबाट अनुमोदन नमिलेको अवस्था विद्यमान छ। गत बर्ष माघ २५ गतेको मन्त्रीपरिषदको बैठकले नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन बीच सम्पन्न भएको ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ अनुमोदन गर्ने निर्णय गरेको भएपनी संसदबाट पारित भएको छैन । यतिबेला चिनियाँ राष्ट्रपती नेपाल भ्रमणमा आउनु पूर्व नै जसरि पनि यसलाई सदनबाट अनुमोदन गराउने अठोटका साथ लागेका अमेरिकी तथा भारतिय एजेन्सीहरूको सबैखाले प्रयाश र प्रयत्नहरू खेर गएपछी मुख्य अवरोधक महरालाई केही न केही गर्नैपर्ने अवस्थामा शक्तिराष्ट्रका एजेन्सीहरू पुगिसकेका थिए । त्यसैको प्रकट रूपमा महरा प्रकरण बुझ्यौं र बुझ्न प्रयत्न गर्यौं भने नेपालको आन्तरिक राजनीती अस्थीर बनाएर निरन्तर यहाँ खेलिरहन चाहने तत्वबाट हामी जोगिन सकौंला अन्यथा दलगत आग्रहले एक अर्कोमा हिलो छ्यापा–छ्याप गरेर हामी आफैं फोहरी अनि दीनहीन र कमजोर बन्ने हो यो भन्दा बढी अरू केही हुनेवाला छैन ।

यो प्रकरणका मुख्य दोषी स्वयं कृष्णबहादुर महरा नै हुन् । उनको आफ्नै कमजोरीले उनलाई यो स्थितीमा पुर्याएको हो भन्दा पटक्कै फरक पर्दैन तर यो बुझ्दै गर्दा महराले सभामुखको रूपमा खेलेको महत्वपूर्ण भुमिका र अमेरिकी र भारतिय अनपेक्षित दवाब र प्रभावबाट रोक्दै उत्तरी छिमेकीसँग सौहार्द सम्बन्ध बनाउन योगदान गरे वापत् महरा परिबन्दमा पारिएको तितो यथार्थलाई नेपाली समाजले आत्मसात गर्दै सोही अनुसार बुझाई बिकास नगरे दक्षिणी भारत तथा पस्चिमी शक्तिराष्ट्र खासगरी अमेरिकाको निरन्तरको हस्तक्षेप, दलन र दोहनको सिकार बनिरहन हामी नेपाली तम्तयार भए हुन्छ ।


सामाजिक संजालवाट साभार